‘पाँच रत्न एघार फूल’को सौन्दर्य र सुरभि

हिमालय टाइम्स
Read Time = 12 mins

✍️ केशवराज आमोदी

१.आमुख
हाइकुकार, कवि, समालोचक र अनुसन्धाताका रूपमा नयाँ पुस्ताबीच सुपरिचित विष्णुप्रसाद पौडेल अपरिचितको जन्म विसं २०३३ पुस २९ गते माता शारदादेवी र पिता दीर्घनारायण पौडेलका ज्येष्ठ पुत्ररत्नका रूपमा पदमपुर चितवनमा भएको हो । हाल उनी कालिका नगरपालिका-३, नवकिरण टोलमा बसेर शैक्षणिक कार्य अँगाल्दै गर्दा सर्वोत्तम शिक्षक सम्मान (२०७१) प्राप्त भयो । नेपाली साहित्यको गहन अध्ययनमा लत बसालेका तथा अधिकतर समय नेपाली साहित्यकै साधना र अर्चनामा खर्चिँदै आइरहेका छन् । देश-विदेशस्थित विभिन्न शैक्षिक संस्थाहरूबाट एम ए, बी एड (नेपाली), शास्त्री (साहित्य) सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

दर्जनौं संघसंस्थामा संलग्न रही आजीवन सदस्यसमेत बनेर सक्रिय भूमिका निभाउँदै आएका अपरिचतले आफ्नै देशभित्रका हिमाल, पहाड र तराईका मनोरम फाँटहरूका साथै भारत, बंगलादेश, मलेसिया र सिङ्गापुरको भ्रमण गरेका छन् । विदेश भ्रमणको उद्देश्य त्यहाँको शैक्षिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक अवस्थाको अवलोकन गरी चाहिँदो ज्ञान तथा अनुभव बटुलेका छन् । पेशाप्रति अत्यन्त निष्ठावान विष्णुप्रसाद पौडेल अपरिचित स्वभावतः शिष्ट, शालीन, भद्र, व्यवहार कुशल, नम्र, उदारहृदयले भरिएका आचरणनिष्ठ सत्पात्र व्यक्ति हुन् । स्रष्टाको पङ्क्तिमा पहिलो कृतिको रूपमा हाइकुसङ्ग्रह ‘तरङ्ग जिन्दगीका’ (२०७६) लिएर उपस्थित भएका अपरिचितले खोजमूलक समालोचनात्मक कृति ‘पाँच रत्न एघार फूल’ (२०७८) प्रकाशनमा ल्याएका छन् । यहाँ त्यही कृतिको समीक्षात्मक उत्खनन्को उपक्रम गरिनेछ ।

२. सन्दर्भको उठान
वस्तुतः यो चितवनका नारी उपन्यास केन्द्रित समालोचनात्मक कृति हो तापनि यसले चितवनको समग्र वाङ्मयिक इतिहास बोलेको छ । साथै विभिन्न विधासहित ११७ थान ग्रन्थहरू प्रकाशन गर्न सफल रहेको त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासी (बसुपू.) बाट प्रकाशित हुनु । यसको प्रकाशकीय भूमिकामा वरिष्ठ कविवर गोविन्दराज विनोदीको सूत्र समीक्षासहितको शुभकामना मन्तव्य रहनु कृतिको सुन्दर पक्ष रहेको छ । सुप्रसिद्ध समालोचक प्रा.डा.नारायणप्रसाद खनालको चितवनको समग्र साहित्यिक नालीबेलीसहितको शुभकामना मन्तव्य, समीक्षक केशवराज आमोदी र समालोचक गायत्री श्रेष्ठको शुभकामना मन्तव्य छ । साथै पश्चावरणमा प्रा.डा.होमनाथ सापकोटा, डा.कृष्णप्रसाद सापकोटा, डा.धनेश्वर भट्टराई र डा.एकनारायण पौडेलका शुभेच्छाहरूलाई स्थान दिइनु अर्को अविस्मरणीय विशेषता हो ।

३. संरचना
यस कृतिमा अपरिचितले बडो परिश्रमपूर्वक चितवनका पाँचजना नारी स्रष्टाका एघारवटा औपन्यासिक कृतिहरूलाई केन्द्रमा राखेर अनुसन्धान, अन्वेषण, गहिरो खोजपूर्ण, गहन विश्लेषणसहित उपन्यास लेखनका निम्ति वाञ्छित सिद्धान्त, स्वरूप र विकासको राम्रो परिचय दिएका छन् । साथै चितवनको साहित्यिक पृष्ठभूमिमा सिर्जनारत नारी उपन्यासकारिकाहरूको प्रवृत्ति, योगदान र मूल्याङ्कनन गरी जनसमक्ष ल्याएका छन् ।

पाँचजना नारीहरूका कृतिका अतिरिक्त चितवनको समग्र साहित्यिक गतिविधि, काव्यिक गतिविधि, गीत/गजल/मुक्तक/हाइकु संग्रहजन्य गतिविधि, कथानकीय गतिविधि, नैबन्धिक गतिविधि, नाटक/एकाङ्की गतिविधि, समालोचनात्मक गतिविधि, औपन्यासिक गतिविधि रहेका छन् । चितवनको साहित्य र केन्द्रीय साहित्यबिचको अन्तरसम्बन्धात्मक गतिविधि, चितवनको साहित्यमा नारी हस्ताक्षर तथा चितवनको उपन्यास साहित्यमा नारी हस्ताक्षरजस्ता विषयवस्तुमा छिरोलिँदै छन् ।

आकाश जत्तिकै फराकिलो र सनासोले झैँ समात्ने पाठकहरूको व्यापकताले उपन्यासको सतह फैलिँदै गएको हो । जीवन र जगत्लाई केलाउँदै जाँदा समाजभित्र वा बाहिरका अनेकानेक प्रेम-प्रणय, प्राप्ति-अप्राप्ति, वियोग-संयोग, हाँसो-रोदन, सफलता-असफलताका साथै सामाजिक अन्तरविरोध, राजनीतिक स्खलन, आवेगजन्य मुमूर्षा र संवेगजन्य जिजीविषाबाट उत्पन्न मनोभावना नै उपन्यास-रचनाको प्रयोजनीय स्रोत हो ।

चितवनका पाँचजना नारी स्रष्टा र तिनका एघारवटा उपन्यासहरूको विस्तारपूर्वक खोजमूलक समालोचकीय विश्लेषण गरिएकाले कविता, नाटक, निबन्ध र आख्यानमा हात चलाउने सबै साहित्यकारका लागि पठनीय तथा संग्र्रहणीय बन्न पुगेको छ । एक प्रकारले यो कृति विसं २०१४ सालदेखि विसं २०७८ सम्म लेखिएका ’पुस्तकहरूको सूची’ वा ‘साहित्यिक विवरणिका’का रूपमा ग्रहण गर्न सकिने भएको छ ।

४. चितवनका पाँच नारी उपन्यासकार र तिनको उपस्थिति :
चितवनको भूमिबाट उपन्यास लेख्ने नारी स्रष्टाहरूमा शोभा राना (२०३२) को नाम पहिलो पङ्त्तिमा आउँछ । उनको पहिलो उपन्यास ‘बेबारिसे’ (२०५२) र दोस्रो उपन्यास ‘सिकार’ (२०५६) रहेको छ । प्रणय चेतनालाई केन्द्रमा राखेर लेख्ने सरला जोशी (२०२२) को ‘अन्तिम स्वीकार’ (२०५८), नारीवादी चेतनालाई मुखरित गरी लेख्ने जलेश्वरी श्रेष्ठ (२००३) का ‘मिहिनेती गौरी’ (बाल-उपन्यास, २०६१), ‘सुनपरी’ (बाल-उपन्यास, २०६३) र ‘नियति चक्र’ (२०६९) तीनवटा रहेका छन् । नारी उत्पीडनका समस्या केलाई लेख्ने शारदा ढुङ्गाना (२०२२) ले ‘अन्तिम द्वन्द्व’ (२०६२) अचानो परेको जीवन’ (२०६३), प्रश्न चिहृन (२०६५) र दुखेका दिन (२०६८) गरी चारवटा उपन्यास छन् ।
हिंसा-प्रतिहिंसाका अरुचिकर भयजन्य घटनालाई उतारी कलम घोट्ने निरूपा प्रसून (२०४१) को औपन्यासिक कृति अभिषेक (२०६३) देखिन्छ । यिनै पाँच आख्यानकारिकाका एघार कृतिहरूको विश्लेषण अपरिचतले गरेका छन् ।

५. कृति विश्लेषणको मुख्य आधार :
नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय बन्दै अग्रगामी विधामा उपन्यास रहन सफल भएको छ । आकाश जत्तिकै फराकिलो र सनासोले झैँ समात्ने पाठकहरूको व्यापकताले उपन्यासको सतह फैलिँदै गएको हो । जीवन र जगत्लाई केलाउँदै जाँदा समाजभित्र वा बाहिरका अनेकानेक प्रेम-प्रणय, प्राप्ति-अप्राप्ति, वियोग-संयोग, हाँसो-रोदन, सफलता-असफलताका साथै सामाजिक अन्तरविरोध, राजनीतिक स्खलन, आवेगजन्य मुमूर्षा र संवेगजन्य जिजीविषाबाट उत्पन्न मनोभावना नै उपन्यास-रचनाको प्रयोजनीय स्रोत हो ।

यसका सिद्धान्त र स्वरूपहरू छन् । सामान्यतः एघारवटा कृतिहरूको समीक्षा वा विश्लेषण गर्नु त्यति सहज छैन लिस्नोबिना घरका तलामा आउजाउ गर्न सकिन्न । त्यसरी नै एघारवटा कृतिको बिनाआधार साङ्गोपाङ्ग विश्लेषण गर्न पनि सकिँदैन । त्यसैले निम्न बुँदाहरूमार्फत एघारै कृतिहरूको गहिरो विश्लेषण गरेका छन् ।

१, जीवनी, व्यक्तित्व र उपन्यासको अध्ययन २, साहित्य लेखनको प्रेरणा र दृष्टिकोण ३, तŒवगत अध्ययन ४, कथानकता ५, पात्र विधान ६.पात्रको शैलीवैज्ञानिक वर्गीकरण ७, परिवेश ८, उद्देश्य ९, भाषाशैली १०, दृष्टिविन्दु र ११, निष्कर्ष साथै नारी स्रष्टाका औपन्यासिक प्रवृत्ति, योगदान र मूल्याङ्कनजस्ता आधारद्वारा समीक्षा गरिएको छ । पाँचैजना उपन्यासकारिकाहरूको मिहिन ढङ्गले औपन्यासिक प्रवृत्ति, साहित्यिक योगदान, विधागत योगदान, कलात्मक योगदान, निष्कर्ष र उपसंहारद्वारा कुशल समीक्षक विष्णुप्रसाद पौडेल अपरिचितले समीक्षाको बिट मारेका छन् ।

६. उपसंहार
लक्षणा पूर्ण सरलभाषा, हृदयस्पर्शी जीवन सापेक्ष समुचित उखान टुक्का वा वाग्धाराहरूको प्रयोग, कौतुहलतामय घटना, सङ्घटना र परिघटनामय सरस शैलीको समुपयोग, पात्र र प्रवृत्तिको यथोचित समाकलनको अपरिहार्यता उपन्यासका मौलिक गुण हुन् । समीक्षकबाट उपन्यासका अङ्ग-अङ्ग छामछुम गरी दृष्टिकोण पेस गरेकाले यो कृति सुन्दरमात्र बनेको छैन अपितु साहित्यसाधक, विद्यार्थी, शिक्षक र अभिसन्धित्सु सबैका लागि सङ्ग्र्रहणीय बनेको छ ।

विष्णुप्रसाद पौडेल अपरिचितको पहिलो समालोचनात्मक कृति भए पनि सानातिना प्राविधिक त्रुटि र शैलीगत कमजोरीलाई छाडेर समालोचनाको फाँटमा प्रशंसनीय कार्यमात्र गरेका छैनन् अपितु साहित्य-साधक, अनुसन्धाता एवम् नवसर्जकहरूका लागि दिशानिर्देशको कार्यसमेत गरेका छन् । सारांशमा उनको प्रयास प्रशंसनीय रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?