लगातारको वर्षाले पाक्न लागेको बालीमा क्षति, कृषक चिन्तित

Read Time = 4 mins

गुल्मी । अविरल वर्षाका कारण गुल्मीको पश्चिमी ग्रामीण भेगका कृषकहरु निकै चिन्तित हुनुभएको छ । जिल्लाको मदाने गाउँपालिका–१, अग्लुङ्गका कृषकहरु असोज १८ गते रातिदेखि लगातार आएको वर्षा कारणले खाने अन्न तथा तरकारीमा क्षति पुगेको हुँदा निकै चिन्तित हुनुभएको हो ।

वर्षभरि खाने अन्न अविरल वर्षाका कारण विग्रिने हुँदा कृषकहरु धेरै चिन्तित हुनुभएको छ । पानीले खानेकुरा नै बिगारे पश्चात् हामी मध्यम वर्गीय कृषकहरुले कसरी गुजारा गर्ने भनेर उहाँहरुले चिन्ता गर्नुभएको हो । बालीको उत्पादन लिने समयमा आएको वर्षाले फल लाग्ने बेला अत्याधिक नोक्सान गरेको कृषकहरुले बताउनुभयो ।

“बारी सानो छ । बारीमा भर्खर कोदो फल्न लागेको छ । त्यही पनि लगातारको पानी र हावाले भुइँमा ढलेको छ ।” सोही स्थानका कृषक जुठे बोहोराले भन्नुभयो, “यहाँ उत्पादन भएको खाद्यन्नले मेरो सानो तीन जनाको परिवारलाई बल्ल–बल्ल पुग्छ । त्यही पनि अहिलेको लगातारको वर्षाले भुइँमा सुताई दियो ।” मेरो सानो बारीमा फलेको कोदो, मकैले नपुगेर पहिले पनि अरुको बारीमा काम गरेर खानु पथ्र्यो । अहिले झनै वर्षाले बर्वाद पारेको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

बीउ राप्ने समय असार, साउनमा त्यति पर्याप्त पानी परेन । अहिले वर्षभरि खानको लागि अन्न बाली भित्र्याउने बेला लगातार झरि पर्दा निकै समस्या भएको सोही स्थानका अर्का कृषक धनबहादुर विकले चिन्ता व्यक्त गर्नुभयो । “भर्खर पाटामा कोदो फल्न लागेको छ । त्यस्तै, विस्तारै धान भित्र्याउने समय पनि भएको छ । त्यै पनि लगातारको पानी र हावाका कारण भुइँमा ढलेको छ ।” उहाँले भन्नुभयो, “लगातारको यो झरिले हामी कृषकहरुलाई निकै मर्कामा पारेको छ ।” त्यसैमा बस्तुभाउको लागि घाँस ल्याउन जान पनि लगातारको झरीको कारण निकै समस्या भएको उहाँले बताउनुभयो ।

वर्षाका कारण उपभोग गर्ने खाद्यान्न उत्पादनमा कमी हुनसक्ने भन्दै कृषक विष्णु चन्दले चिन्ता व्यक्त गर्नुभयो । “बारीमा लगाएका बालीलाई निरन्तरको वर्षाले नोक्सान पारेको हुँदा उत्पादनमा कमी भई वर्षभरि कसरी गुजारा चलाउने हामी निकै चिन्तामा छौं ।” उहाँले भन्नुभयो, “लगातार परेको अबिरल वर्षाको कारण बाला पसाउन लागेको कोदो, धान र सिमी, काउली, लगायतका विभिन्न तरकारीमा पनि नोक्सान पुर्याएको छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?