चिलिमेले थप दुई आयोजना बनाउने

Read Time = 4 mins

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले थप दुई जलविद्युत् आयोजनामा लगानी गर्न लगानी बोर्डमा प्रस्ताव पेश गरेको छ । चिलिमेले सेती नदी-३ (एसआर-३) र बुढीगण्डकी प्रोक जलविद्युत् परियोजनामा लगानी गर्न प्रस्ताव पेश गरेको हो । चिलिमेका प्रमुख कार्यकारी अधिकृत सुवासकुमार मिश्रले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई सेती नदी-३ (एसआर-३) र बुढीगण्डकी प्रोक जलविद्युत्मा लगानी गर्न प्रस्ताव पेश गर्नुभएको हो । एसआर-३ सेमी स्टोरेज अर्थात् अर्ध-जलाशययुक्त आयोजना हो । बझाङमा अवस्थित आयोजनाको कुल अनुमानित लागत १९ अर्ब ६६ करोड रहेको छ भने ८७ मेगावाटको आयोजना हो ।

त्यसैगरी बुढीगण्डकी प्रोक जलविद्युत् रन अफ द रिभरमा आधारित हो । गोरखास्थित आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ४५ करोड रहेको छ भने आयोजना क्षमता ८१ मेगावाट रहेको छ ।

२२.१ मेगावाटको चिलिमे जलविद्युत् परियोजना सञ्चालनमा रहेको छ र सो कम्पनीको अगुवाइमा विभिन्न कम्पनीमार्फत् अतिरिक्त एक सय दुई मेगावाटको मध्य भोटेकोसी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको (माथिल्लो) साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् निर्माणाधीन रहेका छन् ।

सेती करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न भारत सरकारको लाइन अफ क्रेडिट सुविधामा चैनपुर-वनलेक-न्युअत्तरिया चार सय केभीको एक सय ५० किलोमिटर प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमार्फत् कार्यान्वयन हुँदैछ । आयोजनाको विद्युत्गृहदेखि चैनपुरसम्म जोड्ने १६ किलोमिटर प्रसारण लाइन आयोजनाले आफैं निर्माण गर्नेछ । बुढीगण्डकी प्रोक विद्युत्गृहदेखि नजिकको सबस्टेसनसम्म प्रसारण लाइन पनि निर्माण गर्नेछ । चिलिमेले सहायक कम्पनीमार्फत् निर्माण गरिरहेको एक सय ११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको माथिल्लो तथा तल्लो साञ्जेन र एक सय दुई मेगावाटको मध्य भोटेकोसीको काम अन्तिम चरणमा पुगेको छ ।

एक सय ६८ मेगावाट तीन आयोजनाबाट चालु आर्थिक वर्षभित्र बिजुली उत्पादन हुने बताइएको छ । त्यस्तै, एक सय दुई मेगावाटको मध्य भोटेकोसी आयोजना पनि आगामी आर्थिक वर्षबाट बिजुली उत्पादन सुरु हुने बताइएको छ । चार आयोजना सम्पन्नपछि चिलिमेको जडित क्षमता बढेर तीन सय ९२ मेगावाट पुग्नेछ । चिलिमेले २२ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?