वाणिज्य बैंकद्वारा सामूहिक जमानीमा कर्जा

Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सामूहिक जमानीमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने भएको छ । बैंकले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गर्दै विभिन्न शीर्षकमा सहुलियतपूर्ण लघु वित्त तथा विपन्न वर्ग कर्जा प्रदान गर्ने सम्झौता गरेको हो ।

सम्झौताअनुसार वाणिज्य बैंकले शैक्षिक प्रमाणपत्र धितो जमानीमा प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म, धितो जमानीमा प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्किएका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा १५ लाखसम्मको कर्जा लगानी गर्नेछ भने लगानीको सुरक्षण कोषले गर्नेछ ।

सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत सरकारले अनुदानबापत बेहोर्ने र बाँकी ५० प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले बुझाउनेछ । कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?