अब उत्कृष्ट किसानलाई एक लाख नगद पुरस्कार

Read Time = 7 mins

ललितपुर । सरकारले किसानलाई प्रोत्साहित गर्न पुरस्कार राशि बढाएर एक लाख रुपैयाँ पुर्‍याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले अर्को वर्षदेखि उत्कृष्ट किसानलाई एक लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिने बताउनुभएको हो । यसअघि आफ्नै पहलमा मधेश प्रदेश र कर्णाली प्रदेशमा पनि नगद पुरस्कार राशि बढाएर एक लाख पुर्‍याएको दाबी गर्दै उहाँले अर्को वर्षदेखि केन्द्रमा पनि एक लाख रुपैयाँ कायम गरिने ललितपुरमा आयोजित ४२ औं विश्व खाद्य दिवस कार्यक्रममा बताउनुभयो । देशको प्रमुख आधारस्तम्भ नै किसान र कृषि क्षेत्र भएकाले किसानलाई प्रोत्साहित नगरी खाद्य सम्प्रभुत्ता र खाद्य सुरक्षा कायम हुन नसक्ने उहाँको भनाइ थियो ।

सचिव शर्माले कार्यक्रम आयोजक कृषि विभागका अधिकारीलाई भन्नुभयो, ‘हामीले किसानलाई अनुदान दिइरहेकै छौं भने नगद पुरस्कारमा पनि कन्जुस्याइँ गर्नुहुँदैन, मधेश प्रदेश र कर्णाली प्रदेशमा निर्णय भइसकेको छ, केन्द्रमा पनि एक लाख रुपैयाँ कायम गर्नुपर्छ, त्यसैले मन्त्रालयमा प्रस्ताव लिएर आउनुुस्, म स्वीकृत गराउनेछु ।’

विश्व खाद्य दिवसका अवसरमा २९ विधामा उत्कृष्ट ३३ किसान, सहकारी संस्था, कृषि बजारलगायतलाई जनही १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो । तथापि पुरस्कृत किसानलाई पुरस्कारका लागि काठमाडौंसम्म आउने, जाने ट्रान्सपोर्टेसन र होटल बसाइलगायतको थप खर्च पनि उपलब्ध गराइएको थियो । त्यसो त कतिपय किसानले पुरस्कार छनोट विधि र प्रक्रियाप्रति असन्तुष्टि पनि प्रकट गरेका छन् ।

आफ्नै पहलमा मधेश प्रदेश र कर्णाली प्रदेशमा पुरस्कार राशि बढाएर एक लाख पुर्‍याएको दाबी गर्दै कृषि सचिव शर्माले अब केन्द्र सरकारले पनि नगद पुरस्कार राशि बढाएर एक लाख रुपैयाँ पुर्‍याउने बताउनुभएको छ ।

१० हजार नगद र प्रशंसापत्र प्राप्त गर्नेमा मौरीपालन व्यवसायतर्फ चितवनस्थित राती नगरपालिका-११ का किसान बुद्धिबहादुर तामाङ र बागलुङस्थित जैमिनी नगरपालिका-४ की राधादेवी ढकाल पौडेल रहनुभएको छ । त्यस्तै, च्याउखेतीतर्फ काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ का कृष्णबहादुर बोगटी, आलुखेतीतर्फ रामेछापको गोकुलगंगा गाउँपालिका-३ का लक्ष्मण केसी खत्री, अलैंचीखेतीतर्फ ताप्लेजुङको फक्तालुङ गाउँपालिका-२ का पदमध्वज लिम्बू, तरकारीखेतीतर्फ सर्लाहीको लालबन्दी नगरपालिका-२ का अरुणकुमार महतो, प्रांगारिक कृषि उपज उत्पादनतर्फ चितवनको कालिका नगरपालिका-५ का महेन्द्रप्रसाद पौडेल, फलफूल बगैंचा (सुन्तला) तर्फ तनहुँको म्याग्दे गाउँपालिका-२ का विश्वबहादुर अधिकारी, स्याउखेतीतर्फ बाजुराको बुढीनन्दा नगरपालिका-९ का शेरबहादुर रावल, आँपखेतीतर्फ सर्लाहीको लालबन्दी नगरपालिका-२ का आदित्यकुमार पासवान, केराखेतीतर्फ कञ्चनपुरको बेलौरी नगरपालिका-७ का प्रताप सिंह राना रहनुभएको छ ।

त्यस्तै, पुष्पखेतीतर्फ काठमाडौंको कीर्तिपुर नगरपालिका–६ का चन्द्रमान श्रेष्ठ, फलफूल नर्सरीतर्फ सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ का दीपक थापा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित कृषि उपज थोकबजार व्यवस्थापन समिति, बजार व्यवस्थापकतर्फ कास्कीको पोखरा महानगरपालिकास्थित कृषि उपज थोकबजार व्यवस्था समितिका महेन्द्र सिंह थापा, निजीस्तरबाट सञ्चालित बजारतर्फ चितवनको भरतपुर नगरपालिका-२ को महानगर फलफूल तथा तरकारी बजार, कस्टम हायरिङ सेन्टरतर्फ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आरसिटी एग्रो मेसिनरी तथा कस्टम हायरिङ सेन्टरका चुडामणि जोशी, रैथाने बालीतर्फ बाजुराको श्रीगौमुल गाउँपालिका, जैविक विविधता संरक्षणतर्फ झापाको शिवसताक्षी नगरपालिका–७ को कञ्चन जैविक विविधता संरक्षण तथा विकास समिति, गाईपालनतर्फ धनकुटाको महालक्ष्मी नगरपालिका-१ का कमल अधिकारी, भैंसीपालनतर्फ सिरहाको धनगढीमाई नगरपालिका-४ की बबिता कुमारी साह रहनुभएको छ ।

त्यसैगरी बाख्रापालनतर्फ दाङको लमही नगरपालिका-५ की सीता डिसी, बंगुुरपालनतर्फ कास्कीको पोखरा महानगरपालिका-१९ की सरस्वती बस्ताकोटी, माछापालनतर्फ कैलालीको धनगढी उपमहानगरपालिका-५ का रविनकान्त पन्त, भेडाच्यांग्रापालनतर्फ जुम्लाको चन्दननाथ नगरपालिकाका जंगबहादुर खत्री, कृषि बीमातर्फ शिखर इन्स्योरेन्स कम्पनी, बिउ उत्पादन तथा वितरणतर्फ सर्लाहीको बरथवा नगरपालिका-७ को साना किसान कृषि सहकारी र बिउ उत्पादन तथा वितरण (निजी) कम्पनीतर्फ कैलालीको धनगढी उपमहानगरपालिका-६ को पञ्चशक्ति सिड कम्पनी प्रालि रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?