आयोगद्वारा चुनाव चिन्ह हेरफेर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न तीनवटा चुनाव चिन्हमा हेरफेर गरेको छ । हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो र स्वतन्त्र उम्मेदवारलाई दिइएका दुई चुनाव चिन्हमा आयोगले हेरफेर गरेको हो । आयोगले लौरोको क्रम संख्या परिवर्तन गर्नुका साथै स्वतन्त्र उम्मेदवारलाई दिएको डोजर र क्रस खुकुरी चुनाव चिन्हमा पनि हेरफेर गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

आयोगको २७ असोजको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको हो । निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको बताइएको छ ।

उक्त निर्णयबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को अनुसूची २९ को क्रम संख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिन्ह लौरो र अनुसूची-३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिन्हअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिन्हमा हेरफेर गरिएको छ ।

हेरफेर गरिएका निर्वाचन चिन्हसहितको विवरण आयोगको वेबसाइटमा राखिएको आयोगका प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न गराउन निर्देशन
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिनुभएको छ । प्रमुख आयुक्त थपलियाले पोखरामा शनिबार आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लंघन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गर्नुभएको हो ।

उहाँले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न निर्देशन दिनुभयो । उम्मेदवारबाट चित्तबुझ्दो जवाफ पेस नभएमा उम्मेदवार रद्द गर्नेसमेतको अधिकार निर्वाचन आयोगलाई भएकाले त्यससम्बन्धी विवरण स्पष्ट खुलाइ आयोगमा लेखी पठाउन उहाँले निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?