शीर्ष नेतालाई चुनौती दिने चुनावका चर्चित अनुहार

रविदेखि रवीन्द्र र सागरदेखि सायमीसम्मको चर्चा

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । गत स्थानीय तह निर्वाचनमा केही पालिकामा अनपेक्षित नजिता आयो । स्थापित प्रमुख दलका बलिया भनिएका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारी दिएकाहरू विजयी बने । काठमाडौं महानगर, धनगढी र धरान उपमहानगरलगायत पालिकामा प्रमुख दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्रहरूले बाजी मारे । जुन चुनावताका कमैले आँकलन गरेका थिए । प्रमुख भनिएका दलहरूबाट ‘वाक्कदिक्क’ मतदाताले स्थानीय चुनावमा विकल्प खोजे । पटक-पटक सत्ता र शक्तिमा पुगेर पनि जनअपेक्षित काम गर्न नसकेका प्रमुख दलका प्रमुख नेताहरू अहिले पनि चुनावी मैदानमै छन् । जुन पछिल्ला दुई दशकदेखि संसदीय राजनीतिमा सक्रिय छन् । अब भने उनीहरूको विकल्प खोज्नुपर्ने एकथरीको मत छ । यस्तो आवाज दलहरूभित्रै पनि उठेको छ । यद्यपि, युवा आवाज दलभित्रै दबाइएको छ । उम्मेदवार छनोटमा पनि दलहरूले युवा आवाज सम्बोधन गर्न सकेनन् ।

यसको फाइदा उठाउँदै केही युवाहरू स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय तह चुनावमा मतदाताले खोजेको विकल्पबाट हौसिएका उनीहरू संगठित/असंगठित रूपमा देशका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका छन् । कतिपय लहडमै उम्मेदवार बने पनि कतिपयले भने प्रमुख दलका उम्मेदवारलाई टाउको दुःखाइको विषय बनेका छन् ।

सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार काठमाडौंमा
सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार काठमाडौंमा देखिएका छन् । स्वतन्त्रसँगै केही दलका उम्मेदवारका कारण पनि काठमाडौंका केही निर्वाचन क्षेत्र चर्चामा छन् । प्रतिनिधिसभामा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंका सबै क्षेत्रमा स्वतन्त्रहरू चुनावी मैदानमा छन् । जुन प्रमुख दलका ‘हेभिवेट’ उम्मेदवारलाई पनि भारी पर्ने देखिएको छ । उसो त स्वतन्त्र मात्रै होइन प्रमुख दलबाहेकका केही उम्मेदवार पनि यसपटक चर्चामा छन् । चुनावकै पूर्व–सन्ध्यामा दल खोलेर मैदानमा उत्रिएका रवि लामिछानेदेखि संगठित रूपमा चुनावमा होकिएको लौरो अभियानका उम्मेदवारहरू यसपालि चर्चामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा उम्मेदवारी दिएका सागर ढकालदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका युग पठकसम्म चुनावी चर्चाका विषय बनेका छन् ।

स्थानीय चुनावमा महानगरको मेयरसमेत स्वतन्त्रबाट निर्वाचित भएपछि धेरैजसो युवा उम्मेदवार काठमाडौं केन्द्रित भएका छन् । काठमाडौंमा रञ्जु दर्शनादेखि राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्व-पत्रकार रवीन्द्र मिश्र, पूर्व डिआइजी रमेश खरेल, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल, विवेकशील साझाका मिलन पाण्डे, नेकपा माओवादी केन्द्रबाट मानुषी यमी लगायतको उम्मेदवारीले चर्चा बटुलेको छ ।
खरेल काठमाडौं-१ बाट चुनाव लड्दै हुनुहुन्छ । क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहसहित एमालेका युवा नेता किरण पौडेल र राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र चुनावी मैदानमा छन् । यिनीहरूसँगै काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम पनि चुनावी मैदानमा हुनुहुन्छ । मिश्र गत निर्वाचनमा दोस्रो हुनुभएको थियो । यसपालि पनि मिश्र कांग्रेस नेता सिंहमाथि भारी पर्ने देखिएको छ ।
विद्यार्थी राजनीतिबाट उदाएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं-५ बाट चुनावी मैदानमा हुनुहुन्छ । क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग भिड्दै हुनुहुन्छ । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार बनेर सम्मानजनक मत ल्याउनुभएको थियो । काठमाडौं-५ मा कांग्रेसका युवा नेता पौडेल र दर्शना एमाले नेता पोखरेलमाथि भारी पर्ने देखिएको छ ।

युवा नेतृ मानुषी यमी काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्दै हुनुहुन्छ । गठबन्धनको समर्थनमा मानुषीले माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेदवारी दिनुभएको छ । सोही क्षेत्रबाट एमालेले टिकट नदिएपछि रामवीर मानन्धर पनि चुनावी मैदानमा हुनुहुन्छ ।
सुमन सायमी काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनावी मैदानमा होमिनुभएको छ । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का संयोजक सायमी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुभएको छ ।

काठमाडौंबाहिर पनि केही ठाउँ चर्चामा छन् । रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा हुनुहुन्छ । चितवनमा चुनावी घरदैलो गरिरहनु भएका लामिछानेले उम्मेदवारी दिएपछि चितवन २ पनि चर्चामा छ । चितवनबाट गोरखा सर्नुभएका माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी दिनुभएको गोरखा-२ पनि चुनावी चर्चामा छ । गोरखा २ बाट प्रचण्डलाई चुनौती दिँदै एमालेले अब्दुस मियाँलाई उम्मेदवार बनाएको छ ।

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका सागर ढकाल पनि यसपालिको चुनावका चर्चित अनुहार हुनुहुन्छ । पूर्वमा एमाले अध्यक्ष ओलीविरुद्ध उम्मेदवारी दिनुभएका लेखक तथा पत्रकार युग पाठकले उम्मेदवारी दिनुभएको छ । ओलीको गृहजिल्लामा झापा–५ मा पनि यसपालिको चुनावमा चर्चामै छ । स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका प्रभु साह पनि यसपालिका चर्चित अनुहार हुनुहुन्छ । एमालेले दिएको टिकट अस्वीकार गर्दै रौतहट-३ बाट उम्मेदवारी दिनुभएका साहलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि उहाँलाई एमालेले भने साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । घनश्याम भुसाल पनि यसपालिका चर्चित अनुहारमध्येकै एक हुनुहुन्छ । एमालेले टिकट नदिएपछि उहाँले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समेत समर्थन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?