-रमेश विश्वकर्मा
गुल्मी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले म्यादी प्रहरी छनौट गरेको छ । म्यादी प्रहरीका लागि आवेदन दिएका १८ सय २३ जनाको प्रतिस्पर्धीबाट यस जिल्लाका लागि १४ सय ६० जना छनौट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
१८ सय २३ जनाको आवेदन परेपछि प्रहरी जवानमा पार गर्नुपर्ने प्रारम्भिक प्रक्रिया सबै पुरा गरि म्यादी प्रहरी छनौट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती, लिखित परिक्षा र अन्तरवार्तामा प्राप्त अंकको आधारमा म्यादी प्रहरी छनौट गरिएको छ ।
म्यादी प्रहरी छनौट गरिएका मध्ये केहि पूर्व नेपाल प्रहरी, पूर्व नेपाली सेना, स्थानीयतहको निर्वाचनमा म्यादी प्रहरी भई सकेका र केही नयाँ म्यादी प्रहरी छन् । उनीहरुलाई आइतबार (आजै) नियुक्ति दिने र सोहि दिन देखि नै प्रशिक्षण (तालिम) मा खटाइने भएको छ । म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालयहरुमा खटाई तालिम गराईने छ । छनौट भएका मूख्य उम्मेदवार नआएमा क्रमश वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिईने डिएसपी खरेलले बताउनुभयो ।
छनौट भएका म्यादी प्रहरीलाई सम्झौता अनुसारको सबै प्रकारको पारिश्रमिक उपलब्ध गराउन बैंक खाता नम्बर र स्थायी लेखा नम्बर अनिवार्य भएको हुँदा तम्घासस्थित राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खाता नम्बर र स्थायी लेखा नम्बर लिएर आउनुपर्ने उहाँले बताउनुभयो ।
उनीहरूलाई जिल्लाका १२ स्थानीय तहका १४२ मतदानस्थल र २७८ मतदान केन्द्रमा खटाइने छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल दुई लाख २३ हजार ६१५ मतदाता संख्या कायम गरिएको छ । जसमा पुरुष एक लाख १० हजार ३१५, महिला एक लाख १३ हजार २९८ र अन्य २ जना रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका