‘होटल व्यवसायीले बैंकको भुक्तानी गर्न नसक्ने’

Read Time = 7 mins

काठमाडौं । होटल संघ नेपाल (हान) ले होटलको सञ्चालन खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ । कोरोनाले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग हाल केही सहज देखिए तापनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको हानको भनाइ छ । चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र व्यवसायमैत्री बनाउन लागिपरेको भए पनि सरकारबाट कुनै सुनुवाइ नभएकाले समस्या आएको हानले गुनासो गरेको छ । तथापि व्यवसायीहरू स्वयं सरोकारवाला मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक तथा अन्य निकायमा दिनहुँ पहल गरी विभिन्न सुझाव प्रस्तुत गरी निरन्तर पुनरुत्थानका लागि प्रयासरत रहेको पनि हानले जनाएको छ । हानले आइतबार एक विज्ञप्ति जारी गर्दै पर्यटकको आवागमन तथा गतिविधिको कमीले सञ्चालन खर्च धान्न मुस्किल परेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा जटिल समस्या भनेकै अहिले बैंकको बढ्दो ब्याजदर र समयसीमाभित्र साँवा ब्याज बुझाउने तीव्र ताकेता नै हो । अहिलेको परिस्थितिमा व्यवसायीले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको भए पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा ब्याज बुझाउन सक्षम नरहेकाले साँवा ब्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि दुई वर्षका लागि पुनः तालिकीकरण र पुनर्कर्जाको सुविधासमेत उपलब्ध गरिनुपर्ने हाम्रो जोडदार माग रहेको छ ।’,

हानका अनुसार सन् २०१९ मा झण्डै १२ लाखको संख्यामा आएका पर्यटक यस वर्ष पाँच लाख पुर्‍याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन सकेको छैन । कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया-युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्ररूपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटनमा नकारात्मक असर पुर्‍याएको छ । यसमाथि पर्यटक बढी आउने यस समयमा आसन्न निर्वाचनले समेत परोक्षरूपमा पर्यटन आगमन र गतिविधि घटाउने निश्चित छ ।

‘जटिल समस्या भनेकै अहिले बैंकको बढ्दो ब्याजदर र समयसीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता नै हो । साँवाको किस्ता र ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहे पनि कुुनै पनि हालतमा बुझाउन सक्ने अवस्था छैन ।’

कोरोनाको समयमा मौद्रिक नीतिमार्फत् अवलम्बन गरिएका केही सेवासुविधा कोरोनालगायतका प्रकोप जारी रहेकाले हालको समयमा पनि निरन्तरता दिइनुपर्ने होटल व्यवसायीको माग छ । साथै बैंकबाट लागू गरिएको हालको बढ्दो ब्याजदर होटलजस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकाले भन्दै एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनुपर्ने हानले जनाएको छ ।

हानले भनेको छ, ‘पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीले सार्वजनिकरूपमै असोजसम्ममा बैंकको साँवा ब्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेका छन् । यसै किसिमको अवस्था देशका अन्य भागमा रहेको होटल व्यवसायीले पनि भोग्नुपरेको हुँदा माथिका विषय राज्यबाट अबिलम्ब सम्बोधन नहुने हो भने होटल उद्योग बैंकको साँवा र ब्याज बुझाउन नसकेर क्रमिकरूपमा बन्द गरिनुपर्ने बाध्यता आएको हुँदा बैंकको साँवा ब्याज भुक्तानीको समयसीमा बढाउन माग गर्दर्छौं ।’

नेपाल चेम्बर अफ कमर्सले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको जनाएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बैंक वित्तीय संस्थाले लिने स्प्रेडदर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम छ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको बताउनुभएको हो । उद्योग व्यापार संगठन रूपन्देहीको १५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पूर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महँगीले जनतामा समेत असर गरेको बताउनुभयो । कोरोनाका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया-युक्रेन युद्धले थप प्रभावित बनाएको उहाँको भनाइ छ । हाल विद्यमान स्प्रेडदरलाई ४.४ प्रतिशतबाट एक प्रतिशत घटाउने बैंकहरूको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरी कर्जाको आधार दरको अधिकतम दुई प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा ब्याजदर घट्ने अध्यक्ष मल्लले दाबी गर्नुभएको छ । स्थानीय, प्रदेश तथा संघीय सरकारअन्तर्गतका निकायको खातामा रहेको पुँजीगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य बैंकमार्फत् कर्जा प्रवाह गर्ने व्यवस्था भए तरलता वृद्धि हुने पनि उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?