म्याग्दीमा विरासत जोगाउने र नयाँ रेकर्ड बनाउने प्रतिस्पर्धा

दुवै पक्षको ‘विकास र पूर्वाधार’ मुख्य चुनावी एजेण्डा

हिमालय टाइम्स
Read Time = 6 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन म्याग्दीमा निकै पेचिलो हुने भएको छ । करिब दुई दशकसम्म जिल्लाका अधिकांश स्थानीय तहदेखि केन्द्रसम्म राजनीतिक वर्चस्व कायम गरेको नेकपा एमाले यसपटकको निर्वाचनमा पनि आफ्नो विरासत जोगाउन दिलोज्यान दिएर चुनावी अभियानमा खटिएको छ भने वाम लोकतान्त्रिक गठबन्धनको तर्फका उम्मेदवारहरू पनि यसपटक नेकपा एमालेको विरासत भत्काउन कम्मर कसेर चुनावी अभियानमा लागिपरेका छन् ।

उम्मेदवार बनेका नेताहरूले म्याग्दीलाई विकास र समृद्धि दिलाउने एजेण्डा अघि सारेका छन् । हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ । जिल्लाबाट अहिलेसम्म निर्वाचित सांसदले नियमित बजेटबाहेक पहुँच बढाएर विकास योजना र बजेट भित्र्याउन नसकेको आम गुनासो भइरहँदा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले विकास र समृद्धिलाई ने प्रमुख एजेण्डा बनाएका छन् ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खमबहादुर गर्वुजाले नेकपा एमालेले पटक–पटक म्याग्दीको नेतृत्व गर्दासमेत जिल्लाको विकासमा कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यसपटक गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउभयो । ‘म्याग्दीमा दिगो विकास चाहिएको छ, त्यसको खाका हामीले कोरेका छौँ, जनताको विकासप्रतिको चाहनालाई पूरा गर्ने एजेण्डा लिएर आएका छौँ’-उहाँले भन्नुभयो ।

जिल्लाभरका सडकको अवस्था जीर्ण रहेको, शिक्षा र स्वास्थ्यको अवस्थासमेत सुधार गर्नुपर्ने भएकाले आफूले भौतिक पूर्वाधार र शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको सुधारको लागि आवश्यक पहल गर्ने उहाँको भनाइ छ ।

सत्ता गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेबाट उम्मेदवार बनेका हरिकृष्ण श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण र कृषिलाई आत्मनिर्भर र व्यवसायीकरण गर्ने एजेण्डाहरू लिएर उम्मेदवार बनेको बताउनुभयो ।

सदरमुकामदेखि पालिका जोड्ने सडक कालोपत्रे गर्ने, जिल्लामा सुस्त गतिमा रहेका गौरवका योजनाहरूलाई पूर्णता दिने र जिल्लाभित्र रहेको पर्यटन सम्भावनालाई उजागर गर्नतर्फ आफूले प्राथमिकता दिने श्रेष्ठले बताउनुभयो ।

प्रदेशसभा सदस्यका मुख्य प्रतिस्पर्धीहरूले समेत नीति निर्माणदेखि विकास निर्माणलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् । प्रदेशसभा (क)मा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका हरि भण्डारी र (ख) का रेशम जुग्जाली (सुविन)ले समेत विकास निर्माण योजना भिœयाउन गण्डकी प्रदेश सरकारसंग बलियो पुलको भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उम्मेदवारद्वय भण्डारी र जुग्जालीले जिल्लाका आम नागरिकले विकास र समृद्धिको क्षेत्रमा जिल्लाको पहुँच नपुगेको अनुभूति गर्ने गरेको भन्दै त्यसलाई क्षतिपूर्ति हुनेगरी नागरिकका आधारभूत विकासका चाहना पूरा गर्नेतर्फ आफूहरूको प्राथमिकता रहने बताउनुभयो । यता, नेकपा एमालेबाट प्रदेशसभा (क) का उम्मेदवार देवेन्द्रबहादुर केसी र (ख) का उम्मेदवार यामबहादुर गर्वुजाले नीति निर्माण तहमा सशक्त र प्रभावकारी भूमिकासँगै जिल्लाको विकासका एजेण्डाहरूलाई अघि सार्नुभएको छ ।

सडक, भवन लगायतका पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार र खानेपानीको पहुँच विस्तार योजनालाई आफूले प्राथमिकता दिने प्रदेशसभा सदस्यका उम्मेदवार केसीको भनाइ छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका हरिबहादुर खत्रीले अहिलेसम्म चुनाव जितेका नेताहरूले सडक, बाटो, विद्यालय बनाउँछौँ भनेर जनतालाई धोका दिएको बताउँदै युवा पुस्ताको आवश्यकता अनुसारको विकासलाई अघि बढाउने योजनासहित आफू चुनावमा होमिएको बताउनुभयो ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई गरी प्रत्यक्ष तर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) मा पाँच र (ख) मा ६ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?