राष्ट्रिय खेल क्षेत्रको कुम्भ मेला गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले चलिरहेको छ । यस मेलामा करिब सात हजार खेलाडीहरूको सहभागिता रहेको छ । प्रत्येक दुई वर्षमा आयोजना गर्ने नीति रहे पनि विविध कारणले समय सीमा अनुसार राष्ट्रिय प्रतियोगिता हुन सकेका छैन । आर्थिक र अनेक विविध प्राकृतिक कारणले संभवतः प्रभाव पारिरहेको हुनुपर्छ । तर खेल क्षेत्रका फरक तर्कहरू छन् । सरकारले आवस्यक ध्यान नदिएको गुनासो यस क्षेत्रमा सम्बद्धहरूको सुनिन्छ । केही हदसम्म यो गुनासो उचित छ । यो भन्दा पनि खेल क्षेत्रमा हुने गरेको राजनीतिक हस्तक्षेप दुर्भाग्यपूर्ण लाग्छ । निर्दलीय पञ्चायतकालमा राजामहाराजहरूको, निर्दलीय पञ्चहरूको हस्तक्षेपले यो क्षेत्र उठ्न सकेको थिएन । यद्यपि खेल विकासका लागि अनेक संस्थागत प्रयत्नहरू भएका थिए । खेल क्षेत्रमा त्यस समय उन्नत प्रविधि पनि थिएन । अहिले सबै क्षेत्रमा प्रविधिको पर्याप्त पहुँच छ । खेल जगतमा समेत प्रविधिको उपयोग भइरहेको छ । सुविधाहरू थपिँदै गएका छन् । पहिले खेलकुदमा लाग्नेहरूको पीडा जीवीकासँग जोडिएको हुन्थ्यो । खेलकुदमा संलग्न हुनेहरूका लागि राज्यले खास कुनै जिम्मेदारी लिएको हुँदैनथ्यो ।
निजी क्षेत्रले पनि लगानी गर्ने अवस्था थिएन । अहिले यो अवस्थाबाट निकै पर पुगेको छ खेल क्षेत्र । अरू क्षेत्रमा जसरी विकास भएको छ खेल क्षेत्रले पनि सहुलियत र सुविधाका सन्दर्भमा केही हदसम्म फड्को मरेको छ । तर उपलब्धि अत्यन्त कम छ । उपलब्धिको दृष्टिकोणले निरन्तर अभ्यास र अनुभवमा सीमित देखिन्छ यो क्षेत्र । हुन त साधन, स्रोत, प्राविधक वातावरण, खेलभावको अभाव आदि अनेक समस्याको चाँङ लाग्ने गरेको छ । समस्याहरूलाई देखाएरमात्रै खेल क्षेत्रको प्रगति हुन सक्दैन भन्ने तथ्यलाई बिर्सनु हुँदैन । नेपाली खेलकुद क्षेत्रको इतिहास नयाँ होइन । तर करिब सात दशकको संस्थागत अभ्यास भइसकेको अवस्थामा नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय सामथ्र्य प्रमाणित हुन नसक्नु आफंैमा सुखद् होइन । नेपालले समय-समयमा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजन गरिरहेको हुन्छ । खेलकुदलाई शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । तर राष्ट्रको सीमाभन्दा टाढा परिचय दिने गरी नेपाली खेल क्षेत्रको पहुँच विस्तार भएको छैन । अहिले केही वर्षयता क्रिकेटमा भने नेपालको अन्तर्राष्ट्रिय परिचय स्थापित भएको छ ।
पहिले कराते, जुडो, उसु आदिमा केही सफलता मिलेका हुन् । नेपालको सफलताको सीमा घरभित्र, अलि परतिर पुग्दा साफ र केही नगण्यमात्रै एसियाडसम्म देखिन्छ । तर वाञ्छित सफलता नआउँदा यस क्षेत्रका प्रयासहरू सार्थक भएका छैनन् । अन्तर्राष्ट्रिय छवि विकास गर्न राष्ट्रको लगानी अनिवार्य हुन्छ । राष्ट्रले लगानी नगरेसम्म खेल क्षेत्रको विकास हुन सक्दैन । नेपालमा निजी क्षेत्र कमजोर छ । निजी क्षेत्रबाट ठूलो सहयोगको अपेक्षा निरर्थक हुनेछ । आफंै धरमराएर बाँच्न विवश निजी क्षेत्रबाट खेलकुदमा, साहित्य कलामा विशेष योगदान हुनसक्दैन । सरकार नै अघि सर्नुपर्ने हुन्छ । आन्तरिक खेलकुदमा संस्थागत खेलाडीहरू अब्बल देखिएका छन् । जुन स्थानमा सरकारको लगानी छ त्यहाँका खेलाडीहरूको वर्चस्व प्रत्येक प्रतियोगितामा हुने गरेको छ । उनीहरू आन्तरिक प्रतियोगितामा जसरी सफल भएका छन् त्यसरी नै अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल हुने वातावरण कसरी विकास हुनसक्छ ? खेल क्षेत्रको विकासका लागि पहिलो प्रशिक्षण हो, दोस्रो प्रोत्साहन हो, तेस्रो प्रविधि हो, चौथो नीति र व्यवस्थापन हो । नेपालमा फरक विधाका प्रशिक्षण प्रतिष्ठान छैनन् । प्रशिक्षणको मूल आधार राष्ट्रिय खेलकुद परिषद् मात्रै देखिन्छ । परिषद्लाई पनि आवस्यक सहयोग छैन ।
सरकारले खेलाडीबाट सफलताको अपेक्षा राखे पनि आवस्यक भौतिक, आर्थिक र प्राविधिक सामथ्र्य विकास गर्ने वातावरण नहुँदा प्रतिफल अपेक्षा अनुरूपको आउन सक्दैन । अहिले संघीय प्रणाली अनुसारका संरचना बनाइएको छ । तर, पूर्ण भएको छैन । विद्यमान कर्मचारीका लागि खास सुविधाहरू छैनन् । आन्तरिक व्यवस्थापनका लागि प्रशासनिक र प्राविधिक कर्मचारी कति चाहिने हुन् त्यसको निक्र्यौल भएको पाइँदैन । सरकार परिवर्तनसँगै खेलकुद नेतृत्वलाई समेत फेरवदल गर्ने प्रक्रियाले यो क्षेत्र कहिल्यै स्थायी हुन सकेन । ढुक्कसँग काम गर्ने वातावरण संस्थामा नभएपछि अन्योल, आशंकायुक्त कर्मचारी, प्रशिक्षक र खेलाडी सबैमा एकप्रकारको निराशा व्याप्त हुन्छ । अहिलेसम्मको अभ्यास हेर्दा निराशाले खेल क्षेत्रमा घर जमाएको अवस्था छ ।
यस्तो कठिन अवस्थामा पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुनु सुखद् पक्ष हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासँगै विगतका अन्योल र आशंकाहरूमा कमी आओस्, नेपालको खेल क्षेत्रले अन्तर्राष्ट्रिय परिचय स्थापित गर्ने वातावरण विकास होस् हामी सबैको कामना यही नै हो । यसका लागि सरकार र खेल क्षेत्रमा सक्रियहरूको समेत सोचमा परिवर्तन हुनु आवस्यक छ । खेलमैत्री वातावरणका लागि राज्यको योगदान बढाउँदै लैजानसके निश्चय पनि प्रतिफल अपेक्षा अनुरूप हुनेछ । नवौं राष्ट्रिय खेलकुद आयोजन पूर्णरूपमा सफल होस् शुभकामना ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका