नवौँ राष्ट्रिय खेलकुद : करातेमा विभागीय टोलीकै दबदबा

Read Time = 5 mins

कुश्मा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोलीकै दबदबा रहेको छ । अहिले दिउँसोसम्म छिनोफानो भएका सबै ११ स्वर्ण पदक तीनवटै विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले आफ्नो पोल्टामा पारेका छन् ।

एपिएफ र आर्मीभन्दा पनि पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो भएका ११ मध्ये साात स्वर्ण जित्न सफल भएको छ । पुलिस क्लब शीर्ष स्थानमा छ । पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ ।

अन्य दुई विभागीय क्लब एपिएफ र आर्मी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आर्मी क्लबले दुई स्वर्ण र तीन रजत प्राप्त गरेको छ । एफिएफ क्लबले दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक प्राप्त गरेको छ । विभागीय बाहेक सात प्रदेशको प्रदर्शन निकै कमजोर रहेको पाइएको छ ।
प्रदेश नं १, गण्डकी, बागमती, लुम्बिनी र मधेश प्रदेश क्रमशः चौथो, पाचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् । कर्णाली र सुदूरपश्चिम पदक तालिकाको पुछारमा छन् ।

प्रदेश १ ले दुई रजत र चार कास्य, गण्डकीले एक रजत र तीन कास्य, बागमतीले एक रजत र दुई कास्य, लुम्बिनीले चार कास्य तथा मधेश प्रदेशले दुई कास्य प्राप्त गरेको छ । कर्णाली र सुदूरपश्चिमले एक एक कास्य मात्र हात पारेका छन् ।

कुश्मास्थित मिनी कभर्डहलमा केहीबेर अघि सम्पन्न महिला ६८ किलो माथिको तौल समुहमा पुलिस क्लबकी इरिका गुरुङले स्वर्ण, आर्मीकी विभूषा थापाले रजत तथा प्रदेश १ की मिस्डोना राई र लुम्बिनीकी दिया थापाले कास्य पदक प्राप्त गरिन् ।

यस्तै पुरुष ६७ किलो तौल समुहमा पुलिस क्लबकै नविन रसाइलीले स्वर्ण, एपिएफका मिनबहादुर तामाङले रजत तथा मधेशका कृष्ण महतो र गण्डकीका मनोज श्रेष्ठले कास्य पदक प्राप्त गरे ।

यसैगरी पुरुष ६० किलो तौल समुहमा पुलिस क्लबका सन्तोष श्रेष्ठले स्वर्ण पदक जित्दा गण्डकीका सक्षम लामाले रजतमै चित्त बुझाए । सो स्पर्धामा लुम्बिनीका खड्ग थामी मगर र एपिएफका सुविन खत्रीले कास्य पदक प्राप्त गरे । करातेका मुख्य प्रशिक्षक तुलसी महर्जन अनुसार आजै थप दुई स्वर्ण पदकको छिनोफानो हुनेछ । महिला ६८ किलो मुनि र पुरुष ८४ किलो मुनि तौल समुहको फाइनल खेल हुँदैछ ।

यसअघि सम्पन्न महिला ५५ किलो तौल समुहमा नेपाल पुलिस क्लबकी सोनी राईले स्वर्ण, प्रदेश नं १ की विद्याकला राईले रजत तथा गण्डकीकी अनु गुरुङ र एपिएफकी मनिषा चौधरीले कास्य प्राप्त गरेका थिए । यस्तै पुरुष ७५ किलो कुमुतेतर्फ पुलिसकै गङ्गाराम कुशवारले स्वर्ण, गण्डकीका प्रतिक घर्तिमगरले रजत तथा बागमतीका रोशन बलामी र प्रदेश १ का रुरिहाङ राईले कास्य प्राप्त गरे ।

यसैगरी महिला ६१ किलो तौल समुहमा पुलिसकी अनु अधिकारीले स्वर्ण, पुलिसकै अर्मिला डिसीले रजत तथा एपिएफकी अस्तर राई र लुम्बिनीकी रविना घर्तिमगरले कास्य प्राप्त गरे । यस्तै पुरुष ८४ किलो माथिको तौल समुहमा पुलिसकै विप्लव श्रेष्ठले स्वर्ण जित्दा आर्मी क्लबका विपिनराजसिंह धामीले रजत तथा एपिएफका दिगम्बरप्रसाद पन्त र नारायणबहादुर गुरुङले कास्य प्राप्त गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?