नवौं राष्ट्रिय खेलकुद : एथलेटिक्समा आर्मीको बर्चस्व कायमै

हिमालय टाइम्स
Read Time = 26 mins

यज्ञराज जोशी/हिटा
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार एथलेटिक्सको पाँच स्वर्ण पदक निर्णय भएको छ । जसमा नेपाली सेनाले तीन तथा लुम्बिनी र कर्णाली प्रदेशले एक-एक स्वर्ण पदक हात पारेका छन् । पोखरा रंगशालामा सोमबार भएको महिला १०० मिटर हर्डल्समा नेपाली सेनाकी जयरानी थारुले स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।

हिट चरण १५.१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसक्नुभएकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय लिनुभयो । उहाँले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान उछिन्नुभयो ।

यस विधामा नेपाली सेनाकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी भागिरथीकुमारी थारुले १९.१३ सेकेन्डको समयमा पूरा गरेर कास्य पदक जित्नुभयो । यसैगरी ११० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल हुनुभयो । चौधरीले निर्धारित दूरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जित्नुभयो । सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा सेनाका रामप्रसाद थारुले १६.०० सेकेन्डको समयमा पूरा गरी कास्य पदक जित्नुभयो ।

महिला बास्केटबल
तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार हुने भएको छ । लिग चरणमा खेलाइएको प्रतियोगितामा फुल कोर्ट र थ्री बाइ थ्रीबाट चार–चार समूह छनोट भएको छ । फुल कोर्टतर्फ महिला बास्केटबलको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । यसैगरी थ्री बाइ थ्रीको पहिलो सेमिफाइनल खेल भोलि बिहान ८ः३० बजे त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल एपिएफ र बागमती प्रदेशबीच हुनेछ ।

डिस्कस थ्रो
एथलेटिक्सको डिस्कस थ्रोमा नेपाली सेनाका चित्रबहादुर ओलीले ३८.४८ मिटरको दूरी फ्याल्दै स्वर्ण पदक हात पार्नुभयो । नेपाल पुलिस क्लबका पुस्कल खड्काले ३२.७५ मिटरसहित रजत पदक जित्नुभयो भने सुदूरपश्चिमका हेमन्त पालले ३१.१० मिटर फालेर कास्य पदक जित्नुभयो ।

महिलातर्फ लुम्बिनी प्रदेशकी संगीता अधिकारीले ३५.१० मिटरको दूरीसहित स्वर्ण पदक प्राप्त गर्नुभयो । सो विधामा एपिएफकी जितकुमारी महतोले ३३.६० मिटरसहित रजत पदक जित्नुभयो भने नेपाली सेनाकी मिलन बुढामगरले ३२.३५ मिटर फालेर कास्य पदक प्राप्त गर्नुभयो ।

दुर्गालाई कीर्तिमानसहित स्वर्ण
कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले पुरुष तीन हजार मिटर स्टिपल चेजमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जित्नुभएको छ । उहाँले निर्धारित दूरी आठ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्नुभएको हो । यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भण्डारीले आठ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाउनुभएको थियो । सो स्पर्धामा एपिएफका अजितकुमार यादवले नौ मिनेट २१ः१० सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा नेपाली सेनाका सुवास कार्कीले नौ मिनेट २१ः१० सेकेन्डमा पार गर्दै कास्य जित्नुभयो ।

कराँतेमा विभागीय टोलीकै दबदबा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कराँतेमा विभागीय टोलीकै दबदबा रहेको छ । सबै ११ स्वर्ण पदक तीनवटै विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले आफ्नो पोल्टामा पारेका छन् ।

एपिएफ र आर्मीभन्दा पनि पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो भएका ११ मध्ये सात स्वर्ण जित्न सफल भएको छ । पुलिस क्लब शीर्षस्थानमा छ । पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ ।

अन्य दुई विभागीय क्लब एपिएफ र आर्मी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आर्मी क्लबले दुई स्वर्ण र तीन रजत प्राप्त गरेको छ । एफिएफ क्लबले दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक प्राप्त गरेको छ । विभागीयबाहेक सात प्रदेशको प्रदर्शन निकै कमजोर रहेको पाइएको छ । प्रदेश नं १, गण्डकी, बागमती, लुम्बिनी र मधेश प्रदेश क्रमशः चौथो, पाचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् । कर्णाली र सुदूरपश्चिम पदक तालिकाको पुछारमा छन् ।

प्रदेश १ ले दुई रजत र चार कास्य, गण्डकीले एक रजत र तीन कास्य, बागमतीले एक रजत र दुई कास्य, लुम्बिनीले चार कास्य तथा मधेश प्रदेशले दुई कास्य प्राप्त गरेका छन् । कर्णाली र सुदूरपश्चिमले एक-एक कास्यमात्र हात पारेका छन् ।

कुश्मास्थित मिनी कभर्डहलमा सम्पन्न महिला ६८ किलोमाथिको तौल समूहमा पुलिस क्लबकी इरिका गुरुङले स्वर्ण, आर्मीकी विभूषा थापाले रजत तथा प्रदेश १ की मिस्डोना राई र लुम्बिनीकी दिया थापाले कास्य पदक प्राप्त गर्नुभयो ।

यस्तै, पुरुष ६७ किलो तौल समूहमा पुलिस क्लबकै नवीन रसाइलीले स्वर्ण, एपिएफका मिनबहादुर तामाङले रजत तथा मधेशका कृष्ण महतो र गण्डकीका मनोज श्रेष्ठले कास्य पदक प्राप्त गर्नुभयो ।

यसैगरी पुरुष ६० किलो तौल समूहमा पुलिस क्लबका सन्तोष श्रेष्ठले स्वर्ण पदक जित्दा गण्डकीका सक्षम लामाले रजतमै चित्त बुझाउनुभयो । सो स्पर्धामा लुम्बिनीका खड्ग थामी मगर र एपिएफका सुविन खत्रीले कास्य पदक प्राप्त गर्नुभयो ।

यसअघि सम्पन्न महिला ५५ किलो तौल समूहमा नेपाल पुलिस क्लबकी सोनी राईले स्वर्ण, प्रदेश नं. १ की विद्याकला राईले रजत तथा गण्डकीकी अनु गुरुङ र एपिएफकी मनिषा चौधरीले कास्य प्राप्त गर्नुभएको थियो । यस्तै, पुरुष ७५ किलो कुमुतेतर्फ पुलिसकै गंगाराम कुशवारले स्वर्ण, गण्डकीका प्रतीक घर्तीमगरले रजत तथा बागमतीका रोशन बलामी र प्रदेश १ का रुरिहाङ राईले कास्य प्राप्त गर्नुभयो ।

यसैगरी महिला ६१ किलो तौल समूहमा पुलिसकी अनु अधिकारीले स्वर्ण, पुलिसकै अर्मिला डिसीले रजत तथा एपिएफकी अस्तर राई र लुम्बिनीकी रविना घर्तीमगरले कास्य प्राप्त गर्नुभयो । यस्तै, पुरुष ८४ किलोमाथिको तौल समूहमा पुलिसकै विप्लव श्रेष्ठले स्वर्ण जित्दा आर्मी क्लबका विपिनराज सिंह धामीले रजत तथा एपिएफका दिगम्बरप्रसाद पन्त र नारायणबहादुर गुरुङले कास्य प्राप्त गर्नुभयो ।

शारीरिक सुगठनमा गण्डकीलाई दुई स्वर्ण
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेशले दुई स्वर्ण जितेको छ । पोखरा सभागृहमा भएको खेलमा आर्मीले पनि दुई स्वर्ण जित्न सफल भएको छ भने नेपाल पुलिस क्लबले एक स्वर्ण जितेको हो ।

गण्डकीले ५५ र ६५ किलो समूहमा स्वर्ण जित्दा आर्मीले ७० र ७५ किलो समूहमा स्वर्ण हात पारेको हो भने पुलिसले ६० किलो तौल समूहमा स्वर्ण जितेको हो । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलो तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जित्नुभएको छ । यस्तै, बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बोले कास्य पदक जित्नुभयो । स्वर्णका लागि प्रि–जर्ज राउण्डबाट छनोट भएका पाँचजनाबाट हमाल विजेता बन्नुभएको हो ।

यस्तै, ६० किलो तौल समूहमा नेपाल पुलिसका डेबिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जित्नुभयो । उहाँहरूसँगै यो विधामा प्रदेश १ का सन्देश राई र नेपाल आर्मीका जलबहादुर चौधरी उत्कृष्ट पाँचमा पर्नुभएको थियो ।

६५ किलो तौल समूहमा गण्डकी प्रदेशका अशिम गुरुङले स्वर्ण जित्दा लुम्बिनी प्रदेशका नवराज डुम्रेले रजत र सुदूरपश्चिम प्रदेशका सुनिल चन्दले कास्य पदक ल्याउनुभयो । सो विधामा एपिएफका सेमान्त कडारा र आर्मीका निशान शाही उत्कृष्ट पाँचमा हुनुहुन्थ्यो । ७० किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जितेको छ । सो तौल समूहमा आर्मीका प्रज्वलमान शाक्य, मधेश प्रदेशका किरण यादव, लुम्बिनी प्रदेशका वृजेन्द्रमान श्रेष्ठ र गण्डकी प्रदेशका निश्चल केसी उत्कृष्ट पाँचमा हुनुहुन्थ्यो । सो तौल समूहमा आर्मीका शाक्यले स्वर्ण जित्दा मधेश प्रदेशले रजत र लुम्बिनी प्रदेशले कास्य पदक जितेको हो ।

प्रतियोगितामा प्रदेश एक, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबका ९४ खेलाडीले सहभागिता जनाएका छन् । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

स्टान्डर्ड एकल फाइनल समीकरण पूरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समीकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्तीमगरले फाइनलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७-३ सेटमा हराउनुभयो । यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकीका दुर्गा घर्तीमगरले बागमतीका फारमसेन शेरचनलाई ६-४ को सेटमा पराजित गर्नुभएको हो ।

महिला एकलतर्फ प्रदेश १ की योगिता कामवाङले नेपाल आर्मीकी खड्गकुमारी थापामगरविरुद्ध ७-३ को सेटमा जित दर्ता गर्नुभएको हो । यस्तै, अर्को सेमिफाइनलमा एपिएफकी सोनुजया राईले नेपाल आर्मीकी शारदा विकलाई ६-४ सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्नुभयो ।
वरीयता निर्धारणका क्रममा पुरुषतर्फ पहिलो स्थानका दुर्गा घर्तीमगर र दोस्रो स्थानका नगेन्द्र आचार्य दुवै फाइनल पुग्नुभयो । महिलातर्फ सोनु जया र योगिता कामवाङ फाइनल पुग्नुभएको हो ।

टेबल टेनिसमा प्रहरी र एपिएफलाई स्वर्ण पदक
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’ मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपिएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो ।

पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११-७, ५-११, ८-११, ११-५ र ९-११ को २-३ को सेटमा पराजित गरेको हो ।

यसैगरी महिला डबल्सतर्फ एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै स्वर्ण पदक पाउन सफल भएको छ । नेपाल पुलिस क्लबलाई ११-९, ८-११, ११-९, ९-११ र ७-११ को २-३ को सेटमा पराजित गर्दै एपिएफले स्वर्ण पदक जित्यो । मिक्स डबल इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबले रजत पदक प्राप्त गर्‍यो भने एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् ।

यसैगरी महिला डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लबले रजत पदक हात पारेको छ भने बागमती प्रदेश र नेपाल पुलिस क्लबले कास्य पदकमा चित्त बुझाए । पुरुष डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लब र एपिएफ फाइनलमा प्रवेश गरेका छन् । प्रदेश नं. १ लाई ११-५, ११-६, ११-७ को ३-० सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलको बाटो तय गरेको हो भने एपिएफले त्रिभुवन आर्मी क्लबलाई ११-७, १३-११, १०-१२, ९-११ र ११-१७ को ३-२ सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास-१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ । असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

फुलकोर्ट र थ्री बाइ थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले चारवटै खेलमा विजय हासिल गरेको छ । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले उद्घाटन खेलमा मधेश प्रदेशलाई ७१-१३ ले पराजित गरेको थियो । फुलकोर्टमै त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८-३० ले पराजित गरेको छ ।

थ्री बाइ थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४-७ ले पराजित गरेको छ । थ्री बाइ थ्रीतर्फ नै त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १२-४ अंकले पराजित गरेको छ ।

फुल कन्ट्याक्ट
फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेश चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ । गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिनुभयो । महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाउनुभएको हो । उहाँले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गर्नुभएको हो ।

त्यस्तै, अर्को खेलमा नेपाल आर्मी र गण्डकीले समान तीन/तीन स्वर्ण पदक जितेका थिए । कराँतेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो । त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०-६५ केजी तौल समूह पुरुषमा स्वर्ण जितेको हो ।

खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जित्नुभएको हो । उहाँले गण्डकीका रूपक नेपालीलाई फाइनलमा पराजित गरी स्वर्ण हात पार्नुभएको हो ।

पुरुषतर्फकै ६०-६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जित्नुभएको छ । उहाँले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जित्नुभएको हो । भुजेलले रजत पदक जित्नुभएको हो । पुरुषतर्फकै ५५-६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जित्नुभएको हो ।

पुरुषतर्फकै ५०-५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण प्राप्त गर्नुभयो भने नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत प्राप्त गर्नुभयो ।

जयरानीकोे लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रंगशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जित्नुभयो ।

नेपाली सेनामा आबद्ध उहाँले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेन्डमा पूरा गरेर स्वर्ण पदकमात्र आफ्नो पोल्टामा पार्नुभएन तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानमा समेत सुधार गर्नुभयो । थारुले गएको असारमा काठमाडौंमा सम्पन्न ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७.०२ सेकेन्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल हुनुभएको थियो ।

जयरानीले नवौंको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताउनुभयो । आफ्नो विधाको खेलमा प्रतिस्पर्धा कम हुने भएकाले समेत सुधार गर्ने लक्ष्य राखेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘कीर्तिमान सुधार गर्दा धेरै नै खुसी छु । आफूले सोचेको भन्दा राम्रो खेल भयो । टार्गेट नै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ ।’

राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उहाँले पोखरा रंगशालाबाट बर्दिया घरमा रहनुभएकी आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाउनुभयो । आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताउनुभयो । ‘बुबा घरमा हुनुहुँदो रैनछ आमालाई फोनमा स्वर्ण जितेँ भन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौं भनेर हौसला दिनुभयो,’ उहाँले भन्नुभयो ।

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उहाँको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ । उहाँले भन्नुभयो, ‘स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ ।’

जयरानीले विसं २०७२ देखि खेल्न थाल्नुभएको हो । त्यसअगाडि उहाँले विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेल्नुभयो । सातौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक सहभागी उहाँले आठौँमा तत्कालीन प्रदेश नं. ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जित्नुभयो ।

आठौँमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्वितीय हुनुभएकी जयरानीलाई नवौँमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर मिल्यो । उहाँ विसं २०७६ साउनमा सेनामा भर्ना हुनुभयो । गाउँले दाइ जीवन चौधरी जो आफू पनि खेल्नुहुन्थ्यो उहाँले नै जयरानीलाई सेनामा प्रवेश गराउन सहयोग गरेको जयरानीको भनाइ छ । आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान डिन थारुको धेरै नै साथ र सहयोग मिलेको जयरानीले बताउनुभयो ।

सामान्य कृषक परिवारकी जयरानीलाई आमाले घरको काम गर्नुपर्दछ भन्ने गरे पनि बुबाले खेलमै लाग्न प्रेरित गर्ने गरेको उहाँले सुनाउनुभयो । उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो, ‘सानोमा आमाले घरको काम कसले गर्छ, घरको काममा सहयोग गर्नुपर्दछ भन्नुहुन्यो, बाबाचाहिँ खेल खेल्नुपर्दछ भनेर मलाई अघि बढ्न प्रेरणा दिइरहनुभयो, बुबा कृषक भए पनि खेलकुदलाई मन पराउनुहुन्थ्यो ।’

सुरुमा चाहिँ उहाँलाई खेलमा लाग्न सहयोग गर्ने कोही नभए पनि पछि विद्यालयमा राम्रो गरेपछि विद्यालयमै निःशुल्क बस्ने र खेल्ने वातावरण मिल्यो । जयरानीले गुरुआमा मान्ने सुमित्रा चौधरी जो बर्दियाकै हुनुहुन्छ र अहिले एथलेटिक्स प्रशिक्षकसमेत हुनुहुन्छ, उहाँले विद्यालयको होस्टलमा बस्नेदेखि खेलकुदका प्रतियोगितामा सहभागी हुनका लागि सहयोग गरेको थारुले सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?