चिहानमाथि फेरि कहिले बस्ला चिलगाडी

हिमालय टाइम्स
Read Time = 7 mins

मानबहादुर विश्वकर्मा/हिटा
कालिकोट । वर्षाैंपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । कोटवाडामा करिब चार दशकपछि जहाज अवतरण भएको थियो ।

२०७३ माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा जहाज अवतरण भएको करिब सात वर्ष बित्न लाग्दा पनि विमानस्थल अझै बन्न सकेको छैन । सात वर्ष बिते पनि कोटवाडामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निराश बनेका छन् ।

करिब चार दशक लगाएर निर्माण थालिएको उक्त विमानस्थलमा सात वर्ष पहिले परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो । परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । परीक्षण उडानले हर्षित स्थानीयले त्यसपछि भने आँगनमा जहाज देख्न पाएनन् । त्यहाँका नागरिकले जहाज त के अहिलेसम्म गाडीसमेत चढ्न पाएका छैनन् ।

जिल्लाको एक मात्र यो विमानस्थल सदरमुकाम मान्मदेखि करिब पाँच घण्टाको पैदल दूरीमा छ । सडक यातायातको पहुँच नपुगेको कोटवाडा आसपासका बासिन्दा परीक्षण उडान सफल भएको सात वर्षसम्म पनि नियमित उडान हुन नसक्दा निराश भएका छन् । ‘सात वर्ष पहिले चिलगाडी गाउँमै आयो, हामी सबै हेर्न गएका थियौँ’, नरहरिनाथ गाउँपालिकाकी हस्ता विष्टले भन्नुभयो, ‘आँगनबाटै चढ्न पाउने भयौँ भनेर खुसी भएका थियौँ, हाम्रो रहर अधुरै रहृयो । त्यही एकदिन मात्र आयो, त्यसपछि त चिलगाडी फर्केरै आएन ।’

स्थानीय बासिन्दा भन्छन्, ‘गाउँमा न सडक पुगेको छ न त विमानस्थल नै सञ्चालन भयो । परीक्षण उडानपछि जहाज फर्केर आएन, हाम्रा दुःखका दिन कहिलेसम्म रहने हुन् खै ?’ जहाज नियमित सञ्चालनमा आएपछि जिल्लाबाहिर आवतजावत गर्न सजिलो हुने अपेक्षा गरेका स्थानीय यतिबेला जहाजको पर्खाइमा छन् । हस्ता विष्ट मात्र होइनन् नरहरिनाथ गाउँपालिका-२ का पंख दर्जीको गुनासो पनि उस्तै छ । मौसमी गाडी सञ्चालन हुने नरहरिनाथमा जहाज नियमित उडान नहुँदा त्यहाँँका नागरिकले बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । परीक्षण उडान भएको सात वर्ष पुग्नै लाग्दा पनि जहाज नआएको भन्दै स्थानीय पंख दर्जीले आफूहरूमाथि अन्याय भएको बताउनुभयो ।

कोटवाडा क्षेत्रमा अहिले पनि सडकको पहुँच छैन । भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा हवाई सेवा एक मात्र भरपर्दो विकल्प हो । तर, स्थानीय बासिन्दा पैदल हिँड्न बाध्य छन् । निर्माण सम्पन्न भएको र परीक्षण उडान पनि सफल भइसकेको अवस्थामा तत्काल नियमित उडान सुरु गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

भोट बैंक बन्यो विमानस्थल
झण्डै चार दशकसम्म पनि विमानस्थल बन्न सकेको छैन । चुनावको बेला धेरै चर्चा हुने विमानस्थलले कालिकोटे जनतालाई आकाशमा उडाउने सपना सपनामै सीमित बनाएको छ ।

चुनावको बेलामा खुव चर्चा पाउने विमानस्थलले चुनावपछि भने महत्व पाएको छैन । चुनावमा भोट माग्ने बेलामा मात्र सुनथराली विमानस्थल बन्छ भन्छन् अघिपछि वास्ता गर्दैन एक स्थानीयले भन्नुभयो, ‘सुनथराली विमानस्थल एउटा भोट माग्ने माध्यम बन्दै आएको छ । राजनीतिक दल र नेताको पहुँच नपुग्नुले विमानस्थल निर्माण कार्य अलपत्र परेको हो ।’ ‘यहाँ विमानस्थल बनाउने कुरा चुनावको बेला मात्र चर्चा हुन्छ, चुनाव सकिएलगत्तै चर्चा पनि सकिने गरेको छ ।’ निर्वाचनताका प्रमुख राजनीतिक दलका मुख्य एजेण्डा नै विमानस्थल बनाउने हुन्छ ।

कालिकोटबाट निर्वाचित भएर जनप्रतिनिधि बनिसकेपछि आफूले चुनावका बेलामा गरेका प्रतिबद्धता विर्सने प्रवृत्तिले सुनथराली विमानस्थल अहिलेसम्म बन्न नसकेको स्थानीयले बताएका छन् । ०६४ सालभन्दा अगाडि भएका निर्वाचन र त्यसभन्दा पछि भएका निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले आफ्नो भोट बैंक विमानस्थललाई बनाउने गरेको स्थानीय प्रकाश न्यौपाने बताउनुहुन्छ ।

विमानस्थल निर्माणकै क्रममा ३६ जनाले ज्यान गुमाएका थिए
विमानस्थल निमार्णका क्रममा ३६ जना मजदुरले ज्यान गुमाएका थिए । ३६ जना मजदुरलाई नेपाली सेनाले एकैपटक एकै चिहान बनाएको थियो । नेपालमा चलेको १० वर्षे सशस्त्र युद्धका बेला अछाम आक्रमणपछि आएको सेनाको टोलीले विमानस्थलमा काम गरिरहेका ३६ जना मजदुरको हत्या गरेको थियो । विमानस्थल निर्माणका क्रममा धादिङ जोगिमारा स्थायी घर भई विमानस्थल निर्माणको सिलसिलामा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानीय कामदारहरूलाई २०५८ सालमा तत्कालीन राज्यपक्षको शाही सेनाद्धारा विमानस्थलमै गोली हानी हत्या गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?