शताब्दी पुरुषप्रति हार्दिक श्रद्धाञ्जलि

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट यतिबेला नेपाली साहित्यका सर्जक तथा पाठकहरू स्तब्ध भएका छन् । अहिलेभन्दा १०३ वर्ष पहिले ललितपुर पाटनमा जन्मिनु भएका उहाँ साहित्यको सिर्जना, खोज, अनुसन्धानमा भने नेपालका राजधानीबाहिरका जिल्लाहरूमै तत्लीन रहनुभयो । विशेषगरी नेपाली लोकसाहित्य, पुराना मुद्राहरू तथा विभिन्न राजामहाराजाहरूको समयको इतिहासको खोजमा उहाँले आफ्नो समय बिताउनुभयो । उहाँ जति समय बाँच्नुभयो त्यस समयलाई खेर नफाली पूर्णरूपमा उपयोग गर्नुभयो । उहाँका समकालीन माधवप्रसाद घिमिरे जसले आफ्नो जीवनको उत्तराद्र्धमा राष्ट्रकविको उपाधि पाउनुभयो उहाँहरू दुई जनाले नेपाली साहित्यको दीर्घसाधना गर्न पाउनुभयो ।

माधव घिमिरेको केही वर्ष पहिले निधन भयो । उहाँ पनि एक शताब्दीसम्म बाँचेर नेपाली साहित्यमा अनेकौं सिर्जना गर्नुभएको थियो । उहाँको ऋतम्भरा महाकाव्य हालैमात्र प्रकाशित भएको छ । सत्यमोहन जोशीको स्वास्थ्य र सिर्जना अद्वितीय थियो । उहाँले तीनपटक मदन पुरस्कार पाउनुभयो । खोजमूलक तथा अनुसन्धान विश्लेषणमूलक लेखनबाटै उहाँले उक्त पुरस्कार पाउनु भएको हो । उहाँ उपत्यकाको खाट्टी नेवारी समुदायको मानिस हुनुहुन्थ्यो तर उहाँको अनुसन्धान नेवारी भाषामा मात्र सीमित रहेन । उहाँले गण्डकी क्षेत्र र कर्णाली क्षेत्रको लोकसंस्कृतिहरूको खोजी गर्नुभयो ।

कुनै महिलाले चरीको आउँदैन दूध .....बोलको गीत आफ्नो विरह पोख्दै चरीले दूध नदिए जसरी नै बैरागीको मन बुझ्नु पनि असम्भव नै छ भनेर आफ्ना परदेश गएका पतिको सम्झना गरेर गाएको गीत सुनेपछि उहाँ लोकसाहित्य विशेषतः लोकगीतको खोज तथा अनुसन्धानमा लाग्नुभएको थियो । उहाँले खोजी गरेका तीन कृतिले फरक-फरक समयमा मदन पुरस्कार पाएका थिए । उहाँको परिश्रम, स्वास्थ्यबारे भनिने, सुनिने कुराहरू पनि चामत्कारिक र किंवदन्ती जस्ता छन् । विशेषगरी काठमाडौंको राष्ट्रिय सभागृह, राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) तथा नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यिक कार्यक्रमहरू बढी हुने गर्छन् । त्यस्ता कार्यक्रमहरूमध्ये प्रायः उहाँलाई निमन्त्रणा हुने गथ्र्यो । पाटन मंगलबजारदेखि उहाँ हिँडेरै त्यस्ता कार्यक्रमस्थलसम्म जाने र फर्किने गर्नुहुन्थ्यो ।

कार्यक्रमस्थलका आयोजना गरिएको चियापान समारोहरूमा पनि उहाँको संलग्नता अरू समान नै रहन्थ्यो । उहाँको यस्ता संलग्नता ९५ वर्षको उमेर पार गर्दा पनि कायम रहृयो । त्यस उमेरसम्म पनि उहाँले कुनै औषधि सेवन गर्नु भएन तर, त्यसपछि भने उहाँ एकपटक गम्भीर रूपमा बिरामी पर्नुभयो । सरकारले उहाँको औषधोपचार गरिदियो । पछिल्लो समयमा भने ललितपुर महानगरपालिकाले उहाँलाई गाडीलगायतका केही सुविधाहरू दिएको थियो । उहाँले बहुविधामा योगदान पुर्‍याउनु भएको थियो । उहाँको दर्जनौं साहित्यिक तथा सांस्कृतिक संघसंस्थाहरूमा संलग्नता तथा योगदान रहेको थियो । उहाँको निधनमा ती विभिन्न संघसंस्थाबाट शोकवक्तव्य प्रकाशित भए । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न शीर्षनेताहरूबाट उहाँको निधनमा दुःख प्रकट भएको छ ।

उहाँको तस्वीर अंकित हुलाक टिकट उहाँ जीवित रहँदै प्रकाशनमा आएको थियो । यसैगरी टक्सार विभागले उहाँको नाममा टकसमेत निष्काशन गरेको थियो । यी सबै कार्य उहाँले दीर्घ जीवन बाँचेर नेपाली साहित्यमा पु¥याउनु भएको योगदानका कारण नै हो । सत्यमोहन जोशी एक शताब्दीभन्दा बढी बाँच्नुभयो । उहाँ यस अर्थमा पुरानो पुस्ताको मानिस । त्यसकारण विचारले र व्यवहारले पनि उहाँ अलिक परम्परागत सोचको हुनुपथ्र्यो कि ? तर उहाँको सोच अत्यन्त आधुनिक रहृयो । उहाँले अस्पताललाई शरीर दान गर्नुभएको कार्यबाट पुष्टि हुन्छ । उहाँको शरीर दान भएका कराण उहाँको पार्थिव शरीको दाहसंस्कार भएन ।

उहाँको शरीर अस्पताललाई दान दिएका कारण उहाँको जनमकुण्डलीको दाहसंस्कार उहाँका छोराहरूले गर्नुभयो । उहाँ कहिल्यै कुनै राजनीतिक भड्काउमा लाग्नुभएन र साम्प्रदायिक विचारको सधैँं विरोधमा उभिनु भयो । उहाँलाई नेपालले संसार प्रसिद्ध नोबेल पुरस्कार पाएको हेरेर मात्र मर्न पाए हुन्थ्यो भन्ने इच्छा गर्नुभएको थियो जुन इच्छा पूरा हुन पाएन । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट नेपाली साहित्य र खोजअनुसन्धानको क्षेत्रमा अपूरणीय क्षति पुग्नगएको छ । नेपाली सहित्यका मूर्धन्य व्यक्तित्व राष्ट्रगौरव शताब्दीपुरुष सत्यमोहन जोशीप्रति हाम्रोतर्फबाट हार्दिक श्रद्धाञ्जलि तथा शोकसंतप्त परिवारजनमा समवेदना ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?