जीवनसँग जोडिएको संस्कृति

रत्न प्रजापति
Read Time = 13 mins

हाम्रो संस्कृति हाम्रो जीवनसँग जोडिएको छ । हाम्रो दैनिकी नै संस्कृतिबाट सुरु हुन्छ र संस्कृतिबाट अन्त्य हुन्छ । हाम्रो दैनिकी संस्कृतिसँग जोडिएको हुँदा हरेक दिन कुनै न कुनै सांस्कृतिक अवसरसँग हामीले साक्षात्कार गरिरहेका हुन्छौँ । हाम्रो दैनिकीले संस्कृतिलाई जीवन्त बनाइराखेको छ र संस्कृतिले हाम्रो जीवनलाई सभ्य, सुसंस्कृत र अनुशासित बनाइराखेको छ ।

फरक भूगोल, फरक जाति र फरक सम्प्रदायमा फरक-फरक नै धर्म र संस्कृति अपनाउँदै आएको पाइन्छ । हाम्रो धर्म, संस्कतिले धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावलाई निरन्तर कायम राख्दै आएको छ । यो हाम्रो धर्म र संस्कृतिको अद्वितीय विशेषता हो । हाम्रो धर्म र संस्कृतिमा अनेकतामा एकता छ र एकतामा अनेकता छ । यो अर्को महत्वपूर्ण विशेषता हो । यही विशेषताले संसारमा नेपाल र नेपालीको छुट्टै पहिचान कायम रहेको छ ।

महान् चाड दशैँपछिको अर्को रमाइलो चाड तिहार नजिकिँदैछ । तिहार कसको हो र कसको होइन भन्नेमा बहस भए पनि विवाद भएको छैन । तिहारलाई जाति र सम्प्रदाय अनुसार फरक-फरक नामले, फरक-फरक किसिमले मनाउने गरिए पनि सहभाव, सद्भाव र सहअस्तित्व कायम रहँदै आएको छ । तिहार भने पनि स्वन्ति नखः भने पनि यो आमनेपालीको चाड हो । त्यसैले यो सबै नेपालीको चाड हो ।

संस्कृतिमा हुने जायज परिमार्जनलाई समाजले स्वीकार्नुपर्छ । सांस्कृतिक परिमार्जनलाई समाजस्वीकार्य बनाउन सांस्कृतिक मूल्य र मान्यताको जगेर्ना भने गर्नैपर्ने हुन्छ । संस्कृतिमा परिमार्जनको अर्थ आफ्नो संस्कृतिलाई आधुनिक र परिष्कृत बनाउनु हो, अर्काको संस्कृतिलाई ठाडै नक्कल गर्नु होइन ।

यसो त संविधानले नै देशलाई धर्मनिरपेक्ष घोषणा गरिसकेको छ । यो अवस्थामा नेपालका विभिन्न जातजाति तथा सम्प्रदायले आ-आफ्नो धर्म र संस्कृतिलाई निरन्तरता दिइरहेका छन् । धर्म, संस्कृति कुनै पनि जाति वा सम्प्रदायको आफ्नो पहिचान पनि हो । पहिचानको रक्षामा तल्लीन हुनु आवश्यक छ । यद्यपि आफ्नो पहिचानको रक्षाका लागि अर्काको धर्म र संस्कृतिको अपहेलना गर्नु वा त्यसमाथि धावा बोल्नु भने उचित होइन । यस अर्थमा नेपालको धार्मिक तथा सांस्कृतिक सहिष्णुता विगतदेखि नै उदाहरणीय र अनुसरणीय रहिआएको छ । धार्मिक सहिष्णुताले जातीय संस्कृतिको जगेर्नामा पनि मद्धत गरेको महसुस हुन्छ । तर, समयको परिवर्तन सँगसँगै संस्कृतिमा आउन थालेको विचलनले भने संस्कृति नै लोप हुने हो कि भन्ने चिन्ता बढाएको छ ।

समय–सन्दर्भ परिवर्तनशील छ । परिवर्तित समय-सन्दर्भमा संस्कृतिमात्रै यथास्थितिमा रहिरहन सक्दैन र रहनु पनि हुँदैन तर समय परिवर्तनशील छ भन्दैमा संस्कृतिमा नै परिवर्तनको अपेक्षा गर्नु चाहिँ उचित होइन । परिवर्तित सन्दर्भमा संस्कृतिमा परिवर्तन अहिलेको माग होइन । बरू संस्कृतिमा परिष्कार तथा परिमार्जन चाहिँ अहिलेको माग हुनसक्छ ।

समय र सभ्यतामा परिवर्तन भएको अवस्थामा संस्कृति मात्रै यथास्थितिमा रहन सक्दैन । संस्कृतिको पालन गर्ने मानिस अध्ययन, रोजगारी, व्यापारव्यवसाय आदिको सिलसिलामा संसार घुम्ने हुँदा उसले सबै प्रकारको सभ्यता र संस्कृतिसँग साक्षात्कार गरेको हुन्छ । त्यही साक्षात्कारबाट उसले धेरैथरी संस्कृतिको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएको हुन्छ । यस्तो साक्षात्कार र अवलोकनबाट उसले संसारभरिको सांस्कृतिक प्रभाव बोकेर आएको हुन्छ । त्यो प्रभावको असर उसको आफ्नै संस्कृतिमा पनि पर्न खोज्छ । हो, यस्तै अवस्थामा सांस्कृतिक परिमार्जनको खाँचो पर्दछ । त्यसैले समय र सभ्यता अनुसार संस्कृतिमा केही परिमार्जन हुनु जायज छ ।

संस्कृतिमा हुने जायज परिमार्जनलाई समाजले स्वीकार्नुपर्छ । सांस्कृतिक परिमार्जनलाई समाजस्वीकार्य बनाउन सांस्कृतिक मूल्य र मान्यताको जगेर्ना भने गर्नैपर्ने हुन्छ । संस्कृतिमा परिमार्जनको अर्थ आफ्नो संस्कृतिलाई आधुनिक र परिष्कृत बनाउनु हो, अर्काको संस्कृतिलाई ठाडै नक्कल गर्नु होइन । हामीले वर्षभरि मनाउने अनेक चाडपर्व नै हाम्रो सांस्कृतिक विशेषता हो । दिन, हप्ता वा महिनैपिच्छे विभिन्न बार र तिथिमा हामीले मनाउने चाडपर्वले हाम्रो सांस्कृतिक वैभवलाई बढाएको छ । त्यसैले संसारले हाम्रो देशलाई संस्कृतिको धनी देशको रूपमा चिन्दछ । यही कुरामा हामीले गौरवान्वित हुने सौभाग्य पाएका छौँ ।

संस्कृतिभित्र चाडपर्व पर्दछन् भने चाडपर्वभित्र खानपान र रहनसहन पनि जोडिएको हुन्छ । अझ हाम्रो कृषि प्रणालीसमेत हाम्रो संस्कृतिसँग जोडिएको छ । कतिपय हाम्रा कृषिकर्महरू सांस्कृतिक पक्षसँग प्रत्यक्ष जोडिएका छन् । जसले कृषि उत्पादन, भण्डारण र उपभोगका बीचमा अटुट सम्बन्ध जोडेको पाइन्छ । हाम्रो संस्कृति हाम्रै कृषि उत्पादनसँग जोडिएकाले विगतमा हामी कृषि उत्पादनमा आत्मनिर्भर थियौँ तर अहिले हामी कृषि उत्पादनका लागि पनि परनिर्भर बन्दैछौँ । यसको मुख्य कारण हाम्रो उपभोग संस्कृतिमा आएको परिवर्तन नै हो ।

अकाट्य सत्य के हो भने हामीले आफ्नो संस्कृतिमाथि नै आघात पुग्नेगरी हाम्रो चाडपर्वमा हुने खानपान र रहनसहनलाई परिवर्तन गर्न खोज्दैछौँ । हाम्रो पेशा-व्यवसायको विस्तार सँगसँगै आयआर्जनमा वृद्धि भएको र योसँगै हाम्रो आर्थिक क्षमता बढेको सत्य हो । तर, आर्थिक क्षमता बढ्नुको नकारात्मक असर हाम्रो संस्कृतिमाथि पर्नु निश्चितरूपमा चिन्ताको विषय हो । आर्थिक सक्षमताले गर्दा हामी क्रमशः आफ्नो संस्कृतिबाट टाढा हुँदैछौँ र आयातीत संस्कृतिलाई अँगाल्दैछौँ ।

आयातित संस्कृतिलाई अँगालेर सभ्य तथा आधुनिक भएको भ्रम हामीले पालिरहेका छौँ । आफ्नो संस्कृति हराउनु भनेको आफ्नो पहिचान हराउनु हो । पहिचानविनाको मानवको संसारमा कुनै अस्तित्व हुँदैन । यही अस्तित्वका लागि अहिले पहिचानको लडाइँसमेत भइरहेको छ । पहिचानका लागि सांस्कृतिक जागरणको अपेक्षा गरिएको बेलामा संस्कृतिमा विचलन आउनु विडम्बनापूर्ण छ ।

हो, निसन्देह हामी संस्कृतिमा धनी छौँ । हाम्रो विविधतायुक्त संस्कृतिले नै हामीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिएको छ तर सूचना र सञ्चारले ल्याएको परिवर्तनसँगसँगै विश्वभरिको सभ्यता र संस्कृतिले एकले अर्कोलाई प्रभावित पार्ने क्रम पनि बढेको छ । यही क्रमसँगसँगै नेपाली संस्कृतिमा पनि विशेषगरी पश्चिमी संस्कृतिको प्रभाव निकै गहिरोसँग पर्न थालेको छ । जसले गर्दा नेपाली संस्कृतिमा विचलन आएको महसुस गरिँदैछ । यही विचलनले गर्दा हाम्रा चाडपर्व अचेल जाँडपर्वमा परिणत भएका छन् । जाँड खानु नै चाडपर्वको पर्यायजस्तो हुन थालेको छ । जाँड नखाए चाड मानेजस्तो नहुने अवधारणा व्यापक बन्दैछ ।

हामी संस्कृतिमा धनी छौँ । हाम्रो विविधतायुक्त संस्कृतिले नै हामीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिएको छ तर सूचना र सञ्चारले ल्याएको परिवर्तनसँगसँगै विश्वभरिको सभ्यता र संस्कृतिले एकले अर्कोलाई प्रभावित पार्ने क्रम पनि बढेको छ ।

समाज, संस्कृति र सामाजिक गतिविधि एकअर्कासँग जोडिएर रहेका हुन्छन् । यिनीहरूको बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । समाजले संस्कृतिलाई डोर्‍याएको हुन्छ भने संस्कृतिले समाजलाई डो¥याएको हुन्छ । समाज र संस्कृतिका बीचमा हुने गतिविधि नै सामाजिक गतिविधि हुन् । सामाजिक गतिविधिमा समाजमा रहेका पशुपक्षीहरूको समेत उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । हाम्रो संस्कृतिले मानिस र पशुपन्छीबीचको सहयोगात्मक सम्बन्धलाई पनि उजागर गर्दै आएको छ । यही सहयोगात्मक सम्बन्धका कारण तिहारमा हाम्रो समाज अथवा हाम्रो घरपरिवारसँग नजिक रहने काग, कुकुर, गाई र गोरुलाई पनि पुज्ने चलन रहिआएको छ ।

हाम्रो दैनिक सामाजिक तथा आर्थिक क्रियाकलापमा यी पशुपक्षीको कुनै न कुनै रूपमा उपस्थिति, सहभागिता र योगदान रहँदै आएको पाइन्छ । यही सहयोग, सहभागिता र योगदानलाई कदर गर्दै कमसेकम वर्षमा एक दिन तिहारको अवसरमा पूजा गर्ने र मीठोमसिनो खुवाउने चलन हाम्रो संस्कृतिभित्र रहँदै आएको छ । मानिस र पशुपक्षीबीचको सम्बन्धले वातावरणीय सम्बन्ध र सन्तुलनलाई समेत जोगाएको पाइन्छ । विशेषगरी नेपालजस्तो कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकमा मानिस र पशुपक्षीबीचको सम्बन्धले ठूलो भूमिका खेलेको पाइन्छ । यही भूमिकाले गर्दा हाम्रो संस्कृतिले पशुपक्षीलाई पनि उत्तिकै महत्व दिएको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?