१७ नवउद्यमी छनोट तथा बुट क्याम्प

Read Time = 3 mins

विराटनगर । उद्योग संगठन मोरङले यस वर्ष १७ वटा नवीन व्यावसायिक आइडियालाई स्टार्टअप उद्यमीका रूपमा छनोट गरेको छ । नवीन सोच विचार तथा अवधारणा भएका युवालाई उद्यमशीलतामा रूपान्तरणका लागि सहजीकरण गरी नयाँ व्यवसाय सिर्जना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमअन्तर्गत दोस्रो ब्याचका लागि १७ युवा उद्यमी छनोट भएका हुन् ।

यस वर्ष छानिएका नवउद्यमीमा छ महिला र ११ पुरुष छन् । छनोट भएका स्टार्टअपलाई गत असोज २७ देखि ३० गतेसम्म चार दिनको बुट क्याम्पमा राखी बिजनेस हेल्थ चेकअप गरी मेन्टर तथा बिजनेस कोचसँग म्याच मेकिङ गरी चारदिने बुट क्याम्प सम्पन्न भएको हो ।

नवउद्यमीलाई सघाउन कार्यक्रमअन्तर्गत १८ जना मेन्टर, पाँचजना बिजनेस कोच र छजना स्टार्टअप समेत चयन गरिएको उद्योग संगठन मोरङले जनाएको छ । कार्यक्रमअन्तर्गत छनोट भएका स्टार्टअपको व्यावसायिक योजना तयारी, सोअनुरूप आवश्यक पर्ने प्राविधिक विषयमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जसअन्तर्गत बिजनेस क्यानभास मोडल, बिजनेस हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न विषयगत कार्यक्रमका माध्यमबाट १२ महिना व्यावसायिक सेवा उपलब्ध गराउँदै आवश्यक पर्ने लगानीमा समेत सहजीकरण गरिने कार्यक्रम रहेको संगठनका स्टार्टअप कार्यक्रम समितिका संयोजक सुरेन्द्र गोल्छाले बताउनुभयो ।

कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार, उद्योग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसमान नेपाल, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रालि, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्चलगायतका संस्थासँगको सहकार्य गरिएको छ । स्टार्टअप व्यवसायको प्रवद्र्धन र विकासका लागि सरकार, अनुसन्धानमूलक संस्था एवं निजी क्षेत्रबीच समन्वय गरी प्रदेश १ को नमुनाका रूपमा व्यवसाय विकासका लागि व्यवस्थापकीय एवं प्राविधिक सेवाको दिगो इकोसिष्टमको जग बसाल्ने लक्ष्यसाथ व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत गत वर्षदेखि संगठनले प्राथमिकताका साथ कार्यक्रम अघि बढाएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?