कुसोममा ‘डब्लुटिओ चेयर’

Read Time = 7 mins

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा डब्लुटिओ चेयर प्रोग्राम (डब्लुसिपी) को शुभारम्भ गरिएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कुसोममा डब्लुटिओ चेयर उद्घाटन गर्नुभएको हो । विश्व व्यापार संगठनका सदस्यको बहुपक्षीय व्यापार प्रणालीमा पूर्ण सहभागितालाई सहज बनाउने लक्ष्यका लागि डब्लुसिपीले विकासोन्मुख राष्ट्रमा शैक्षिक संस्थालाई वित्तीय तथा प्राविधिक सहायता उपलब्ध गराउँछ । जसबाट ती मुलुकले अन्तर्राष्ट्रिय व्यापार कानुन र अर्थशास्त्रको ज्ञान बढाउने उद्देश्य लिइएको हुन्छ । यस्तो कार्यक्रम नेपालमा ल्याउनु गर्वको विषय भएको डब्लुसिपी नेपालका सहअध्यक्ष तथा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्राडा अच्युत वाग्लेले बताउनुभयो ।

वाग्लेका अनुसार डब्लुसिपी आगामी चार वर्ष अर्थात् सन् २०२२-२०२६ कुसोममार्फत् सञ्चालन हुनेछ । जसमा मुख्यतया तीनवटा खम्बामा काम हुनेछन् । पाठ्यक्रम विकास र शिक्षण, अनुसन्धान र क्षमता अभिवृद्धिको काम हुने बताइएको छ ।

क्षमता अभिवृद्धिमा तालिम कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन तथा व्यापारसँग सम्बन्धित सरोकारवाला निकायमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । पाठ्यक्रम विकास शिक्षणतर्फ अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित विभिन्न तहमा कोर्स निर्माण गरिनेछन् । व्यापारसँग सम्बन्धित अनुसन्धानका कामसमेत हुने कुसोमले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश पठाउँदै डब्लुसिपी नेपाल कार्यक्रमले नेपालको व्यापार र लगानी नीति तर्जुमा गर्न सहयोग गर्ने बताउनुभयो । जसका माध्यमबाट अन्तर्राष्ट्रिय व्यापारमा नेपालले सामना गर्ने प्रमुख अवरोधमा सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । डब्लुटिओका उपमहानिर्देशक जियांग झांगले यस्तो नेटवर्कबाट विचारको अन्तरविजारोपणका साथ ज्ञानलाई बढावा दिई त्यसको अधिक आदानप्रदान गर्न सहयोग पुग्ने बताउनुभयो । मुख्यसचिव शंकरदास बैरागीले शैक्षिक अनुसन्धानका माध्यमबाट व्यापार क्षेत्रमा नयाँ-नयाँ सोच सिर्जना गर्न चेयर कार्यक्रमले भूमिका खेल्ने भन्दै कार्यक्रमको सफलताका लागि नेपाल सरकारको दरिलो साथ रहने समेत आश्वासन दिनुभयो । सन् २००४ मा डब्लुटिओ सदस्य बनेको स्मरण गराउँदै उहाँले नेपालले अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यका रूपमा काम गरिरहेको बताउनुभयो । डब्लुटिओको सदस्य बन्दा नेपालको अपेक्षा र वास्तविकताबीच अन्तर रहेको भन्दै उहाँले चेयर कार्यक्रमले नेपालजस्ता विकासोन्मुख मुलुकलाई अन्तर्राष्ट्रिय व्यापार र कानुनका जटिलता चिर्न सहयोगी बन्न सक्ने बताउनुभयो ।

कार्यक्रममा दाता मुलुकतर्फबाट अष्ट्रियाको डिजिटल तथा आर्थिक मामिला मन्त्रालयका महानिर्देशक सिन्थिया जिम्मरम्यानले शैक्षिक विशेषज्ञताको पुँजीकरणमार्फत् क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताउनुभयो । डब्लुटिओ चेयर प्रोग्रामकी शैक्षिक बोर्ड सदस्य डेसिरी भान गोर्पले कुसोममार्फत् तोकिएका क्षेत्रमा आक्रामक नतिजा प्राप्त हुने अपेक्षा गर्नुभयो । डब्लुटिओ चेयर प्रोग्रामका ज्ञान व्यवस्थापन महाशाखाका निर्देशक डा. वर्नर जडुकले ग्रामीण उद्यमी र शिक्षकबीचमा ज्ञान फैलाउन नेपालले गरिरहेको तयारीको प्रशंसा गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्लुटिओको सदस्य हुँदा नेपालको निजी क्षेत्र सबैभन्दा उत्साहित भएको भन्दै हाल त्यसअनुसारको नतिजा नदेखिएको बताउनुभयो । व्यवसायमा रहेका अवरोध पहिचान गरी यससँग सम्बन्धित समस्या समाधानमा निजी क्षेत्र, शिक्षाविद् र सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता उहाँले बताउनुभो ।

उहाँले आयात–निर्यातको कहालीलाग्दो तथ्यांक प्रस्तुत गर्दै यसबीचमा नेपालले भोग्नुपरेका समस्यासमेत स्मरण गराउनुभयो । विगतको लामो लोडसेडिङ, कमजोर पूर्वाधार र नेपालको छिमेकी मुलुकले दिएका उच्च अनुदानबीच नेपालको निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता कमजोर भएको उहाँको भनाइ थियो । काठमाडौं विश्वविद्यालय (केयु) का उपकुलपति प्राडा भोला थापाले डब्लुसिपी नेपालमा आउनु आफैंमा गर्वको विषय भएको बताउनुभयो । सबैको साथ र सहभागितामार्फत् तोकिएका लक्ष्य प्राप्त गर्न कटिबद्ध रहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?