राहत वितरणमा अनियमितता हुँदा वास्तविक पीडित मारमा

हिमालय टाइम्स
Read Time = 5 mins

दीपककुमार शर्मा/हिटा

बर्दिया । दशैँसँगै दशा लिएर आएको बाढीले प्रभावित बनाएका बर्दियाका बाढी पीडितहरूले अझै राहत पाएका छैनन् । अविरल वर्षा र त्यसपछिको डुवानबाट विस्थापित भएका बाढीपीडित नागरिकहरूले राहत नपाएको बताएका हुन् । उनीहरूका अनुसार पीडितभन्दा गैरपीडितहरूले नगदसहित राहत सामग्री पाएका छन ।

अविरलको वर्षासँगै बबई नदी, कर्णाली नदीलगायत अन्य साना खोलामा आएको बाढीले हजारौँ मानिसलाई विस्थापित बनाएको थियो । केही विस्थापित मानिसहरू हप्तौँ दिनसम्म पुल तथा कालो पत्रे सडकमा बसेर नदीमा पानीको सतह घटेपछि घर फर्किएका थिए । केहि संघ संस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा राहतका सामग्री उपलव्ध गराए पनि तर उक्त राहत बाढी पीडितका नाममा अरूले नै लगिदिए ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत एवं जिल्ला आपतकालीन व्यवस्थापन समितिका संयोजक लोकप्रसाद ढकालका अनुसार बाढीले गरेको पूर्ण क्षतिको विवरण अझै नआइसक्दा जिल्ला विपद व्यवस्थापनबाट हाल कुनै पनि राहत बाडिएको छैन । उहाँले केही प्रभावितहरूलाई नगद बाँडिएको रेडक्रसमार्फत भएको बताउनुभयो ।

बर्दियामा बाढीबाट प्रभावित बनेका ३० देखि ४० प्रतिशतले अझै पनि राहत नपाएका हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाका कार्यक्रम अधिकृत विवश कुँवरले विश्व खाद्य कार्यक्रम र नेपाल सरकारबीच भएको सम्झौताअनुसार बाढी प्रभावित क्षेत्रमा बसोवास गर्ने घरघुरी संख्या गणना गरी पालिका र विपद व्यवस्थापन समितिले पहिले नै यी यी क्षेत्र प्रभावित हुन्छन् भनि निकालिएको सर्वेलाई सिफारिस गरेका आधारमा घरधुरीका परिवारले अहिले नगद १५ हजार रुपैयाँ पाएको बताउनुभयो । उहाँले बाढीबाट प्रभावित र प्रभावित नभएका दुवै समुहले पाएको र बाढीबाट प्रभावित करिब ८० प्रतिशत घरधुरीले सो नगद पाएको बताउनुभयो । बाँकीले नपाएको समेत उहाँको भनाइ थियो ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले विश्व खाद्य कार्यक्रमको रेडक्रसमार्फत जिल्लाका आठ हजार २३९ जनालाई नगद १५ हजार रुपैयाँका दरले रकम बाँडेको बताउँदै अन्य संघ संस्थाले पालिकासँग समन्वय गरी राहत वितरण गरिरहेको बताउनुभयो । उहाँले बाढीको क्षतिको पूर्ण विवरण आइनसकेको समेत बताउनुभयो । यसरी क्षतिको विवरण नआउँदै आफूखुसी राहत बाँड्ने भन्दै केही संघ संस्थाहरूले दातृ निकायलाई मात्र हैन पीडितहरूलाई समेत उल्लु बनाउने काम गरेको देखिन्छ ।
जिल्लामा बाढी आएपछि प्लान इन्टरनेसनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप लगायतका संघ संस्थाहरूले राहत बाँडेको देखिन्छ ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पछिल्लोपटक असोज २२ गते जिल्ला विपद व्यवस्थापन समितिको बैठक राख्नुभएको थियो । तर, बैठक नबस्दै ति संघ संस्थाहरूले गाँउमा रहेका आफ्ना कर्मचारीबाट डाटा संकलन गरी राहत बाडेको पाइएको हो । यसरी बाँडिएको राहत नपाउनेले समेत पाएको भनेपछि स्थानियवासी आक्रोशित भएका हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?