विगतका चुनावका सहयोगी नै अहिले प्रतिस्पर्धी बन्दै, पूर्व-एमालेहरू नै एक-अर्कालाई भारी

यज्ञराज पाण्डे
Read Time = 8 mins

काठमाडौं । यसअघिका निर्वाचनहरूमा विभिन्न ठाउँमा उम्मेदवारलाई जिताउन खटिएकाहरू भने यसपटक आफैँले जिताएका उम्मेदवारविरुद्ध चुनावी मैदानमा देखिएका छन् । अघिल्ला निर्वाचनहरूमा आफ्नो क्षेत्रमा पूर्णरूपमा सघाएकाहरू यसपालि आफैँले सघाएका उम्मेदवारविरुद्ध निर्वाचनमा होमिएका हुन् । यसअघिका उम्मेदवारहरूलाई अहिलेको निर्वाचनमा आफ्नै पूर्व-सहकर्मीहरू नै भारी बनेका हुन् । गएको निर्वाचनमा सँगै यात्रा गरेकाहरू अहिले आमनेसामने देखिएपछि प्रतिस्पर्धा नै कडा हुने देखिएको छ ।

शक्ति बस्नेतका प्रतिस्पर्धी पूर्व-सारथि नीरज आचार्य
माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा जाजरकोटबाट गठबन्धनका साझा उम्मेदवारका रूपमा खडा हुनुभएको छ । बस्नेतका प्रतिस्पर्धीका रूपमा एमालेका नीरज आचार्य र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की मैदानमा हुनुहुन्छ । एमालेका आचार्य र स्वतन्त्र उम्मेदवारी दिनुभएका कार्की दुवै पहिले बस्नेतका सारथि हुनुहुन्थ्यो । २०७४ सालमा वाम गठबन्धनका साझा उम्मेदवार रहनुभएका बस्नेतलाई दुवै जनाले सघाउनुभएको थियो । आचार्य एमालेमा हुनुहुन्थ्यो भने कार्की माओवादीमै हुनुहुन्थ्यो । वाम गठबन्धन भएपछि कार्की विप्लव नेतृत्वको नेकपा हुँदै स्वतन्त्र उम्मेदवार हुन पुग्नुभयो भने आचार्य एमालेका उम्मेदवार । यो प्रतिनिधिसभाको निर्वाचनमा आचार्य र कार्की दुवै नयाँ अनुहार हुनुहुन्छ ।

बस्नेतले भने २०७० सालमा एक्लै र २०७४ सालमा एमालेको सहयोगमा चुनाव जित्नु भएको थियो । यसअघिका दुई सारथि आचार्य र कार्की अहिले प्रतिस्पर्धी हुनुभएको छ भने बस्नेतले कांग्रेसको साथ लिनुभएको छ । गृह, स्वास्थ्य र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएका बस्नेत माओवादीका प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ । यसपटक शक्ति कांग्रेसको भरमा हुनुहुन्छ । बस्नेत तेस्रोपटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा हुनुहुन्छ ।

खतिवडालाई आफ्नै पूर्व-सहकर्मी बर्तौलाको चुनौती
बागमती प्रदेशकै राजधानीसमेत रहेको मकवानपुरमा मंसिर ४ गते हुने निर्वाचन निकै रोचक हुने देखिन्छ । जिल्लामा २ नम्बर प्रतिनिधिसभा क्षेत्रमा सबैको चासो देखिन्छ । त्यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले उम्मेदवारी दिनुभएको छ भने नेकपा एमालेको तर्फबाट बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौला चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ ।

खतिवडा लामो समय नेकपा एमालेबाट राजनीति गरेर हाल नेकपा एमाले विभाजन भएसँगै बनेको नयाँ नेकपा एकीकृत समाजवादी पार्टीमा रहनुभएको छ । २०४६ सालपछि भएका सबै निर्वाचनमा एमालेको तर्फबाट खतिवडा विजयी हुँदै आउनुभएको थियो । २०४८, २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा खतिवडा विजयी हुनुभएको थियो । गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रही विजयी हुनुभएका खतिवडालाई आफ्नै पुरानो पार्टीका नयाँ युवा नेतासँग प्रतिस्पर्धा गर्नुपर्ने स्थितिले पनि थप चुनौती देखिएको छ । नेकपा एमालेबाट उम्मेदवारी दिएका महेश बर्ताैला विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा नयाँ आएका युवा नेता हुनुहुन्छ । पहिलोपटक संसदीय निर्वाचनमा होमिनुभएका उहाँ नयाँ पुस्तान्तरणको विषयमा बोल्दै आउनुभएको छ ।

पाण्डेविरुद्ध गैरे मैदानमा
नेकपा एमालेमा वर्षौंदेखि सँगै काम गरेर पार्टी विभाजनपछि अलग हुनुभएका नेतामध्ये पाल्पा–१ मा सोमप्रसाद पाण्डे र ठाकुर गैरे पनि आपसमा प्रतिस्पर्धारत देखिनुभएको छ । ठाकुर गैरेलाई विद्यार्थी राजनीतिमा प्रोत्साहित गर्ने पाण्डे पटकपटक पाल्पाबाट निर्वाचित भइसक्नु भएको छ । गैरे भने अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै पार्टीमा विभिन्न जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्षसमेत रहेका पाण्डेको सातौँपटक उम्मेदवार बन्दै हुनुहुन्छ भने गैरे पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभएको छ । पाण्डेलाई सत्तारूढ गठबन्धनको समेत साथ छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतका आधारमा जिल्लामा एमाले अगाडि छ । यद्यपि, गठबन्धनको मत जोड्ने हो भने यो क्षेत्रमा पाण्डे बलिया देखिनुभएको छ ।

विष्णु पौडेल भर्सेस राजु गुरुङ
रुपन्देही-२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार हुनुहुन्छ । यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सचिव राजु गुरुङ मैदानमा हुनुहुन्छ । एमाले उपाध्यक्ष पौडेलले लगातार निर्वाचन जितेको क्षेत्रमा अहिले उहाँलाई नै कुनै बेला सहयोग गर्दै आएनुभएका राजु गुरुङले चुनौती दिनुभएको छ । उहाँलाई एमालेको भ्रातृ संगठन अनेरास्ववियुदेखि युवा संघको नेतृत्व गर्दासम्म पौडेलले साथ दिनु भएको थियो । विगतका निर्वाचनमा पौडेलले राजुलाई युवा मोर्चाको जिम्मेवारी दिँदै आउनु भएको थियो । एमाले पार्टी विभाजनपछि गुरुङ नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेर पौडेललाई चुनौती दिनुभएको छ । उहाँलाई सत्ता गठबन्धनको साथ छ ।

स्थानीय तह निर्वाचनको मतलाई हेर्दा यहाँ गठबन्धन बलियो देखिन्छ । यहाँ एमाले, राप्रपा र जसपाको तालमेल छ भने सत्तारूढ चार दलको साझा उम्मेदवारका रूपमा गुरुङ चुनावी मैदानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?