रोमाञ्चक दृश्य देखिने प्रेमिल लभ्लीहिलमा पर्यटक आकर्षित

हिमालय टाइम्स
Read Time = 5 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । उत्तरतर्फ आँखैअगाडि चाँदीझैँ सेता टलक्क टल्केका हिमशृंखला, नजिकै सुन्दर नगरी बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै बगेका म्याग्दी नदी र कालीगण्डकी । हरिया बगैंचा, रुखका बुट्यानहरू, हावामा बयेली खेलिरहेका फूलहरू, भुर्र-भुर्र उडिरहेका चराहरू अनि बेपर्वाह आपसमा प्रेमालाप गरिरहेका जोडीहरू देखिने लभ्लीहिल (प्रणयशिखर) पर्यटकको पर्खाइमा छ ।

आसपासमा देखिने हिमशृंखला, चारैतिर देखिने हरियाली र आकर्षक भू-बनोटलगायत मनमोहक दृश्यले यो ठाउँलाई प्रेममैत्री बनाएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतितको कल्पनामा डुबुल्की मार्न दैनिक सयौंको संख्यामा यहाँ आउने प्रेमजोडीहरू यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै प्रेममा डुबुल्की मारिरहेका देखिन्छन् । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका डरले गत चैतसम्म सुनसान देखिएको लभ्लीहिल हिजोआज आफ्नै लयमा फर्किन थालेको छ ।

बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका-२ खबरा नजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङ वाक’, ‘इभिनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक र प्रेमको तीर्खा मेट्न आउने थुप्रै तन्नेरीहरूका कारण हिजोआज लभ्लीहिल गुलजार बन्दै जान थालेको छ ।

पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनी बजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटकको आकर्षणको केन्द्र बने पनि कोरोना संक्रमणको डरले गत वर्षसम्म यसलाई ओझेलमा पारेको थियो । तर, अहिले कोरोना संक्रमणको दर केही कम भएकाले यहाँ रौनक सुरु भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

आन्तरिक र बाहृय पर्यटकको मुख्य आकर्षणको केन्द्रका रूपमा रहेको लभ्लीहिल विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’ का रूपमा विकसित भएको छ । विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ लभ्लीहिल । बेनीबजारसँगै जोडिएको खबरा नजिकैको खाराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको छ ।

लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरू देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाका अधिकांश भू-भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत यहाँबाट अवलोकन गर्न पाइन्छ ।

बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि यहाँ थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार र नयाँ बस्तीको समेत सम्भावना रहेको छ ।

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाहृय पर्यटकको रोजाइमा पर्ने गरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरू बताउँछन् । लभ्लीहिलमा रेष्टुरेन्ट, भ्यु टावर, स्विमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धाहरू रमाउने स्थलका रूपमा विकसित भइरहेको छ ।

यस क्षेत्रमा खान, बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?