प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ ६५ वर्षमाथिका ६२ जना उम्मेदवार चुनावी मैदानमा, सबैभन्दा धेरै कांग्रेसमा

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मुलुकका प्रमुख ६ राष्ट्रिय पार्टीबाट ६५ वर्ष नाघेका ६२ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ६५ वर्ष उमेर नाघेका उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा रहनुभएको छ । तीमध्ये नेपाली कांग्रेसबाट उम्मेदवारी दिने बढी छन् ।

राष्ट्रिय राजनीतिक दलहरूमध्ये सबैभन्दा उमेर बढी उमेरका उम्मेदवार महिन्द्रा राय यादव हुनुहुन्छ । यादव आसन्न निर्वाचनमा ८५ वर्षको उमेरमा सर्लाही क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका यादव आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उमेरले ८० वर्ष पुग्नुभएको छ । महोत्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएका ठाकुरलाई सत्ता गठबन्धनको साथ छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उमेरले ७८ वर्ष पुगिसक्नु भएको छ । आसन्न निर्वाचनमा तनहुँ २ बाट उम्मेदवारी दिनुभएका पौडेल २०४८ सालको निर्वाचनपछिका सबै निर्वाचनमा निरन्तर उम्मेदवार बन्दै आउनुभएको छ । निरन्तर राजनीतिमा सक्रिय पौडेल अहिलेसम्म पार्टी र शासकिय पदको पहिलो नम्बरमा पुग्नसक्नु भएको छैन । आगामी निर्वाचनपछि पौडेलले प्रधानमन्त्रीको आकांक्षा राख्नुभएको छ । पाँचपटक मुलुकको प्रधानमन्त्री भइसक्नु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७७ वर्षको उमेरमा सातौँपटक प्रतिस्पर्धा गर्न लाग्नुभएको छ ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट कपिलबस्तु क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिनुभएका मंगलप्रसाद गुप्ता पनि उमेरले प्रधानमन्त्री देउवासरह हुनुहुन्छ । आसन्न निर्वाचनमा उम्मेदवारका कैयौँ आकांक्षीलाई पछि पारेर टिकट हत्याउन सफल हुनुभएका ७७ वर्षीय गुप्ताको सम्भवतः आगामी निर्वाचन अन्तिम हुनसक्छ । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका अर्जुननरसिंह केसी पनि ७५ वर्ष पुग्नुभएको छ । पार्टीको स्थानीय समितिबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस नभए पनि केसी केन्द्रीय संसदीय बोर्डबाट टिकट लिन सफल हुनुभयो ।

कानुनी पृष्ठभूमिका ७५ वर्षीय लक्ष्मणलाल कर्ण पनि आसन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा १ बाट उम्मेदवार बन्नुभएको छ । मुलुकका राजनीतिज्ञमा थोरै लगानीले धेरै प्रतिफल दिनसक्ने नेताको छवि बनाउनुभएका कर्ण लोकतान्त्रिक समाजवादीको तर्फबाट उम्मेदवार बन्नुभएको छ । पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका जालिम मियाँ मन्सुरीको उमेर पनि ७५ वर्ष पुगेको छ । सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस तर्फबाट उम्मेदवार बन्नुभएका पद्मनारायण चौधरी पनि ७४ वर्षको उमेरमा चुनावमा होमिनुभएको छ । दोस्रो जनआन्दोलनपछि मुलुकको राजनीतिमा स्थापित नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका ७३ वर्षीय कृष्णप्रसाद सिटौला पनि आसन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएको छ । बहालवाल परराष्ट्रमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्का, जनता समाजवादीका तर्फबाट सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार नवलकिशोर साह सुडी र धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीकै तर्फबाट उम्मेदवारी दिनुभएका आनन्द यादव पनि ७३ वर्षको उम्मेदवार चुनावी लडाइँमा उत्रिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७२ वर्षको उमेरमा इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६, लोसपाका नेता सर्वेन्द्रनाथ शुक्ला रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ बाट ७२ वर्षको प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्षको उमेरमा पुनः झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनावी भिडन्तमा ओर्लिनुभएको छ । अध्यक्ष ओलीकै उमेरसरह झापा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएकी राधा थापा र झापा निर्वाचन क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टीकै तर्फबाट उम्मेदवार बन्नुभएका वीरबहादुर राई पनि बुढेसकालमा चुनावी मैदानमा उत्रिनुभएको छ ।

उमेरले ६९ वर्ष पुग्नुभएका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । संविधानसभा अध्यक्ष र पूर्वसभामुखसमेत रहनुभएका ६९ वर्षीय सुवासचन्द्र नेम्वाङ नेकपा एमालेको तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्दा सोही उमेरका सोलुखुम्बुमा कांग्रेसका उम्मेदवार बलबहादुर केसी, सर्लाही ४ बाट कांग्रेसका नागेन्द्र कुमार सिराहा ३ मा माओवादी केन्द्रका विश्वनाथ साह र काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान पनि चुनावी मैदानमा हुनुहुन्छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ६८ वर्षमा काठमाडौं ५ मा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । ६८ वर्षीय कांग्रेसका विजय गच्छदार, सुजाता कोइराला, दिलेन्द्र बडू र भरतकुमार शाह पनि चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ ।

गच्छदारले सुनसरी ३, कोइरालाले मोरङ २, बडूले दार्चुला र शाहले रुपन्देही ५ बाट उम्मेदवारी दिनुभएको छ । धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झा, महोत्तरी क्षेत्र नम्बर २ मा लोसपा उम्मेदवार शरद्सिंह भण्डारी, काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेका श्यामकुमार घिमिरे, बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा लोसपाका हफिज पठान र कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा लोसपा उम्मेदवार दानबहादुर विश्वकर्मा पनि ६८ वर्षको उमेरमा उम्मेदवार बन्नुभएको छ । ६७ वर्षीय राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको समर्थनमा मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको छ । एकीकृत समाजवादीले पाल्पा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाएका सोमप्रसाद पाण्डे र सोही दलबाट ललितपुर २ मा उम्मेदवार बन्नुभएका कृष्णलाल महर्जनको पनि उमेर ६७ वर्ष छ । जनता समाजवादी पार्टीको तर्फबाट खोटाङमा उम्मेदवार बन्नुभएका कृष्णकुमार राई, झापा क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका देवराज घिमिरे, मनाङमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका टेकबहादुर गुरुङ, नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका अर्बपति विनोद चौधरी र सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका सीताराम महतोको उमेर पनि समान वर्ष छ ।

६६ वर्षको उमेरमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने समान उमेरका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ र कांग्रेस नेता प्रकाशमान सिंह पनि ६६ वर्षको उमेरमा प्रत्यक्ष निर्वाचनको लडाइँमा होमिनुभएको छ । कांग्रेसकै चितवन २ का उम्मेदवार उमेश श्रेष्ठ, पर्वतमा अर्जुन जोशी र कैलाली ५ मा उम्मेद्वार बन्नुभएका डिल्लीराज पन्त पनि समान ६६ वर्षमा उम्मेदवार बन्नुभएको छ । धादिङमा उम्मेदवार एकीकृत समाजवादी राजेन्द्र पाण्डे, उदयपुर-१ मा लोकतान्त्रिक समाजवादीका पार्टीका उम्मेदवार खुसीलाल ठाकुर, सप्तरी २ मा लोकतान्त्रिक समाजवादीकै जयप्रकाश ठाकुर, धनुषा ४ मा जनता समाजवादीका महाजन यादव र दैलेखमा एकीकृत समाजवादीका अम्बरबहादुर थापा पनि ६६ वर्षको उमेरमा चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की, नवलपरासी क्षेत्र नम्बर २ का देवेन्द्रराज कँडेल र पर्सा ४ का उम्मेदवार रमेश रिजाल पनि ६५ वर्षमा प्रत्यक्षमा उम्मेदवार बन्नुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादीका उम्मेदवार अशोककुमार राई, सुनसरी क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका उम्मेदवार कुञ्जीलाल यादव, सिराहा क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ, नुवाकोट क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा र काठमाडौं क्षेत्र नम्बर ८ मा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्य पनि ६५ वर्षको उमेरमा प्रतिनिधिसभाको प्रत्यक्षबाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?