छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

बझाङको मष्टा गाउँपालिका-१ चिउरीमा चैनपुर देखी रनडातर्फ जाँदै गरेको सु.प.प्र.०४००१ च ०१११७ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

जिप अनियन्त्रीत भई बुधबार सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेहरूमा मष्टा गाउँपालिका-२ बस्ने १३ वर्षीय सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया बसन्ती धामी कठायत, बसन्ती धामी कठायतकी ७ महिनाकी छोरी दिक्षिका कठायत, ३८ वर्षीय वीरेन्द्र अधिकारी, कञ्चनपुर शुक्लाफाटा नगरपालिका-७ का ५० वर्षीय झरेन्द्र बोहरा र सोही गाउँपालिका-१ रनाडा बस्ने ५० वर्षीया सिन्की देवी भण्डारी रहेका छन् ।

दुर्घटनामा घाइते भएका जिप चालक सोही गाउँपालिका-१ लेकी बस्ने ३५ वर्षीय राजेश रोकायासहित १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

धादिङको धुनिवेशी नगरपालिका-४ जिवनपुरस्थित सडकमा प्रदेश नम्वर-३-०१-००६ ख १५८१ नम्बरको आईचर ट्रक बुधबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकमा सवार धादिङ जिल्ला धुनिवेशी नगरपालिका-४ जिवनपुर घर भएका ५० को रामचन्द्र पुडासैनी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्रकमा सवार अन्य एक जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका-८ चप्परगाउस्थित सडकमा ना.६ ख ७३५१ नम्बरको बसले लु.२० प ५४९४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देही ओम सतिया गाउँपालिका-१ बस्ने ३२ वर्षीय सुमन थारु छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार अन्य एक जनाको एडमन सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?