नवौ राष्ट्रिय खेलकुद : जिल्ला तहमा पनि राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश

Read Time = 11 mins

बागलुङ । कतिपय त्रुटी र अभावबीच बागलुङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगितालाई सफल पार्‍यो । पहिलोपल्ट जिल्लामा भएको राष्ट्रिय खेलले जनसाधारणमा सोचेजति उत्साह भर्न नसकेपनि खेलाडीले भने सुखद् स्मरण लिएर फर्किए ।

लगानी, पूर्वाधार र सही व्यवस्थापन नभए ठूला खेल प्रतियोगिता सञ्चानलमा आउने चुनौतीबारे पनि आयोजक/व्यवस्थापक यसपाली राम्रैसँग सचेत बने । कमीकमजोरीका बाबजुत सौहाद्र स्थितिमा खेल सकिनुले जिल्ला तहमा पनि राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भयो ।

पूर्वाधार र समन्वयको कमी इत्यादि कारणले खेल सञ्चालन तथा व्यवस्थापनप्रति छिटपुट गुनासा उठेपनि आमरुपमा प्रतियोगिता सफल भएको आयोजकको दाबी छ । आइटिएफ नेपालका महासचिव अञ्जु रावतले बागलुङमा खेल पूर्वाधारको कमी औँल्याउनुभयो । “कभर्डहल अलि सानो भयो, खेलाडी मात्रै अटे, दर्शकले ढोकामा उभिएर खेल हेर्नुपर्ने स्थिति रह्यो”,उहाँले भन्नुभयो, “राष्ट्रियस्तरका प्रतियोगिता खेलाउन व्यवस्थित खेल मैदान र कभर्डहलको खाँचो देखियो, खेलमा लगानी थप्न सरकार र सम्बन्धित निकायले पहल लिनुपर्छ ।” व्यवस्थापनका दृष्टिले भने दुःखेसो गर्नुपर्ने ठाउँ नरहेको महासविच रावतले बताउनुभयो ।

“आवास, भोजन जस्ता कुरामा खेलाडीले पाँचौ खेलकुददेखि अहिलेससम्मकै सबैभन्दा उत्कृष्ट बागलुङलाई माने, स्तरीय होटलको प्रबन्ध भयो”, उहाँले भन्नुभयो, “स्थानीय रुपमा बागलुङ नगरपालिकासहित अरु सङ्घसंस्थाले गरेको सहयोग र लिएको अपनत्व हाम्रा लागि महत्वपूर्ण रह्यो ।”

महासचिव रावतले कतिपय प्रतियोगितामा जाँदा खेलाडीले भोकभोकै हिँड्नुपरेको, होटलको खानाले बिरामी परेको, एकै विस्तारामा दुई÷तीन जना सुत्नुपरेको जस्ता नमिठो विगतलाई बागलुङले बिसाईदिएको धारणा राख्नुभयो ।

प्रतियोगितामा स्वर्ण पदक विजेता विभागीय टिम नेपाल आर्मीकी सुस्मिता श्रेष्ठले खेलसँगै बागलुङका पर्यटकीयस्थको घुमघामले आफू रोमाञ्चित बनेको बताउनुभयो । खेलाडीले प्रसिद्ध कालिका भगवती, विश्कै ‘लामो’ दाबी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुललगायतका ठाउँ घुम्ने मौका पाएका थिए । आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले बागलुङ नगरपालिकाको आतिथ्यता र स्थानीय व्यवस्थापन प्रशंसायोग्य रहेको बताउनुभयो । ठूला सहरमा जस्तो खेल पूर्वाधार बनाउन नसकेपनि जिल्लामा भएका खेल संरचनालाई व्यवस्थित र सुविधायुक्त बनाउनुपर्ने उहाँको सुझाव छ ।

बागलुङ नगरपालिकाका प्रमुख एवं आइटिएफ तेक्वान्दो प्रतियोगिता व्यवस्थापन आयोजना समितिका संयोजक वसन्तकुमार श्रेष्ठले पहिलोपल्ट जिल्लामा भएको राष्ट्रिय खेलकुद वृहत् र उत्साहपूर्ण ढङ्गले सम्पन्न भएको बताउनुभयो ।“छोटो समयको तयारीमा हामीले सक्दो प्रयास ग¥र्यौँ, खासमा यो खेलकुदसँग सम्बन्धित सङ्घ संस्थाले नै गर्नुपर्ने काम थियो, तैपनि हामीले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापकलगायत उत्साहित भएर फर्कनुभएको छ ।”

उहाँले खेल पूर्वाधार, खेलाडीको सेवासुविधा जस्ता विषयमा भने धेरै गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । खेलाडीको भत्ता, बीमालगायत सेवासुविधाका विषयमा गुनासो उठेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । “यो राज्यकै दायित्वभित्रको कुरा हो, पूर्वाधारदेखि खेलाडीको व्यावसायिक सुरक्षामा लगानी बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले पनि खेल क्षेत्रमा स्रोतसाधन जुटाउने, पूर्वाधार बनाउने जस्ता विषयमा संवेदनशील बन्नुपर्नेमा यो प्रतियोगिताले पाठ सिकाएको छ ।”

उहाँले अहिलेको प्रतियोगिता सञ्चालनमा खेलकुद क्षेत्रका निकाय, सङ्घसंस्था र पदाधिकारीसँग समन्वय नभएको बताउनुभयो । आयोजक राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा प्रतियोगिता सञ्चालनबारेको कार्ययोजना ठोस नगर्दा अन्यौँल सिर्जना भएको उहाँको भनाइ छ । खेल सुरु हुनुभन्दा एक हप्ताअघि मात्र राखेपको पत्र पाएपछि नगरपालिकाले समिति बनाएर व्यवस्थापकीय काम थालेको थियो ।

सात प्रदेश र तीन विभागीय टिमका खेलाडीबीचको स्वस्थ खेल प्रतिस्पर्धाले बागलुङबाट एकता र भाइचाराको सन्देश देशैभर गएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । “बागलुङ पनि राष्ट्रिस्तरका खेलको आयोजना र व्यवस्थापनमा सक्षम छ भन्ने प्रमाणित भएको छ, भएका कमीकमजोरी सच्चाउने तत्परता हामी सबैमा भयो भने आउँदा दिनमा अझ उत्कृष्ट गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले भने यत्रो प्रतियोगिता हुँदा आफूहरुलाई उपेक्षा गरिएको बताउनुभयो । आयोजक रोखपले एउटा पत्रसम्म समितिलाई नपठाएको उहाँको गुनासो छ । “हामीसँग कुनै समन्वय भएन, जिल्लामा क्रियाशील अरु खेल सङ्घ र तिनका पदाधिकारीलाई उपेक्षा गरियो”, अध्यक्ष खड्काले भन्नुभयो ।

उहाँले आइटिएफ प्रतियोगिताका लागि आएका ‘म्याट’समेत उठाएर लैजान खोजिएकामा आपत्ति जनाउनुभयो । “म्याट जिल्लामै राख्ने समझदारी भएको हो, अहिले त्यही पनि लैजान खोजिँदैछ भन्ने सुनिएको छ, हामीले त्यो गर्न दिँदैनाँै”, अध्यक्ष खड्काले भन्नुभयो, “खेलकुद समितिलाई गरिएको बेवास्ताका विषयमा राखेपका सदस्य सचिवसँग पनि मैले कुरा राखेको छु ।”

खेलकुद विकास समितिले राखेपको आर्थिक सहयोगमा कभर्डहलमा रङ्गरोगन, वाइरिङ र ट्रस निर्माणका काममा सहजीकरण गरेको थियो । समितिले नै बागलुङ नगरपालिका–१ मा रहेको बाङ्गेचौर कभर्डहलमा प्रतियोगिता सञ्चालनका लागि पहल गरेको हो । लामो समयसम्म प्रतियोगिता कहाँ खेलाउने भन्नेमा विवाद थियो ।

प्रतियोगिता अवधिमा प्रभावकारी सञ्चार समन्वय हुन नसकेकामा पनि टिप्पणी भएको छ । आयोजकले ‘मिडिया डेस्क’ नराख्दा समाचार सम्प्रेषणमा कठिनाई व्यहोर्नुपरेको दुःखेसो पत्रकारले गरेका थिए । ठूला खेल प्रतियोगिता हुँदा पत्रकारलाई अलग्गैस्थल तोकिएको हुन्छ । यसमा भने आयोजक र स्थानीय व्यवस्थापक चुकेका थिए ।

शनिबारदेखि बुधबारसम्म चलेको प्रतियोगितामा १३ स्वर्ण पदकसहित विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको थियो । आठ रजत र तीन कास्यसमेत गरेर कूल २४ पदक हासिल गर्दै आर्मीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी पहिलो बनेको थियो । प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कास्य पदक जित्यो । १ नं प्रदेशले तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदक हात पा¥यो । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कास्य पायो ।

सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पा¥यो । नेपाल पुलिसले चार कास्य पदक जित्दा मधेश प्रदेशले एउटा मात्र कास्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनैपनि पदक जित्न सकेन ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पदक विजेता खेलाडीलाई २३ नं बाहिनी अड्डाका सहायक रथी रामप्रसाद अधिकारी, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायतले पदक र पुरस्कार प्रदान गर्नुभएको बागलुङ नगरपालिकाका उपप्रमुख एवं आइटिएफ नेपालमा सचिव राजु खड्काले बताउनुभयो ।
-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?