नवौं राष्ट्रिय खेलकुद सम्पन्न, आर्मी च्याम्पियन, दशौं कर्णालीमा हुने

हिमालय टाइम्स
Read Time = 32 mins

यज्ञराज जोशी/हिटा
पोखरा । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ । असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदमा विभागीय त्रिभुवन आर्मी क्लबले ३७१ पदक जितेर शीर्षस्थान हासिल गर्‍यो । आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक जितेको छ ।
यसैगरी नेपाल एपिएफ क्लब दोस्रो स्थानमा रहृयो । एपिएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित २१९ पदक जित्यो । तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्यसहित २१८ पदक जितेको छ । आयोजक गण्डकी प्रदेश चौथो स्थानमा रहृयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित १२० पदक जितेको छ ।

यसैगरी बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्यसहित १४५ पदक, प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्यसहित ८३ पदक, सुदूरपश्चिमले १० स्वर्ण, १० रजत र ४३ कास्यसहित ६३ पदक, एनआरएनएले १० स्वर्ण, नौ रजत, र सात कास्यसहित २६ पदक जितेको छ । यसैगरी लुम्बिनी प्रदेशले ६ स्वर्ण, २२ रजत र ४० कास्यसहित ६८ पदक जितेको छ ।

यस्तै, मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्यसहित ३९ पदक तथा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र ११ कास्यसहित १७ पदक जितेर पदक तालिकाको पुछारमा रहृयो ।

दशौं कर्णालीमा
योसँगै गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनसमेत भएको छ । पोखरा रंगशालामा भव्य कार्यक्रमसहित नवौं खेलकुदको बिदाइ गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय खेलकुदको समापन गर्नुभएको थियो ।

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत संगीत तथा नृत्यलगायतका कार्यक्रम प्रस्तुत गरिएको थियो । समापन समारोहमा दशौं संस्करणको आयोजनाका लागि कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरणसमेत गरिएको छ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

यस्तै, समापनमा टिम च्याम्पियन बन्ने टोली आर्मीलाई ट्रफी प्रदान गरिएको थियो । पहिलोपटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाइएको हो ।

समापनमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका छन् । त्यसबाहेक झाँकी, नृत्य, गायनलगायत आतिसबाजी गरिएको थियो । नवौं खेलकुदमा ११ टिमका ६ हजार १५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
यसपटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपिएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाएका थिए । यसपटक ३६ खेलका ४०४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

दाइभाइलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जित्नुभएको छ । गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलब ६७ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभएको थियो ।

सोही स्पर्धामा कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत पदक जित्नुभयो । उहाँले निर्धारित दूरी १४ मिनेट २९ दशमलब ९३ सेकेण्ड समय लगाउँदै रजत पदक जित्नुभएको हो । त्रिभुवन आर्मी क्लबका मुकेश पालले कास्य जित्नुभएको हो । उहाँले निर्धारित दूरी १४ मिनेट ३६ दशमलब ६० सेकेण्डमा पूरा गर्नुभयो ।

यसैगरी अन्तिम दिन भएको दुई सय मिटर पुरुष दौडमा शिवराज पार्कीले स्वर्ण जित्नुभयो । उहाँ गोपीचन्द्रको भाइसमेत हुनुहुन्छ । एपिएफका खेलाडी उहाँले निर्धारित दूरी २१ दशमलब ९१ सेकेण्ड समय खर्चंदै पूरा गर्नुभयो । नवौं खेलमा उहाँको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उहाँले पुरुष एक सय मिटर दौड र रिलेमा स्वर्ण पदक जित्नुभएको थियो ।

सोही स्पर्धामा एपिएफका खेलाडी आशिष चौधरीले रजत जित्दा त्रिभुवन आर्मी क्लबका युवराज बिकले कास्य पदक जित्नुभयो । आशिषले निर्धारित दूरी २२ दशमलब ०५ सेकेण्डमा पूरा गर्नुभयो भने युवराजले २२ दशमलब ५० सेकेण्ड समय लगाउनुभयो ।

सोही स्पर्धाको महिलातर्फको विधामा लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जित्नुभयो । नवौं राष्ट्रिय खेलमा उहाँको यो पहिलो स्वर्ण पदक हो । उहाँले निर्धारित दूरी २५ दशमलब २४ सेकेण्डमा पूरा गर्नुभयो । त्यस्तै, एपिएफकी रमिताकुमारी थारुले २५ दशमलब ९५ सेकेण्ड समय खर्चदै रजत पदक जित्नुभयो । नेपाल प्रहरीकी लक्ष्मी साउदले कास्य पदक हात पार्नुभयो । उहाँले २७ दशमलब ५२ सेकेण्ड समय लगाउँदै कास्य पदक जित्नुभएको हो ।

कराँतेमा नौ स्वर्णसहित पुलिस च्याम्पियन
कराँतेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक नौ स्वर्ण पदक हात पार्दै कराँतेमा आफ्नो बर्चस्व कायम गरेको छ । कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्डहलमा भएको ५३औं राष्ट्रिय कराँते प्रतियोगितामा नौ स्वर्ण, तीन रजत र पाँच कास्य पदक गरी कुल १७ पदकसहित पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

दोस्रो स्थानमा रहेको एपिएफ क्लबले पाँच स्वर्ण, दुई रजत र सात कास्यसहित १४ पदक हासिल ग¥यो । त्रिभुवन आर्मी क्लब दुई स्वर्ण, पाँच रजत र एक कास्य गरी कुल आठ पदकसहित तेस्रो स्थानमा रहृयो ।

बागमती प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक हात पारेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशले एक स्वर्णसहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले तीन रजत र तीन कास्यमा चित्त बुझायो । प्रदेश नं. १ ले तीन रजत र छ कास्य पदक प्राप्त ग¥यो । लुम्बिनी प्रदेशले एक रजत र तीन कास्य पदक प्राप्त गर्दा कर्णालीले भने दुई कास्य पदकमा चित्त बुझाउनुपर्‍यो ।

कर्णाली प्रदेशले दुई कास्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने एक कास्यमा चित्त बुझाएको छ । कराँतेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्यसहित जम्मा ७६ पदकका लागि खेल भएको हो ।

टेनिसमा आर्मी च्याम्पियन
टेनिसमा विभागीय टोली नेपाली सेना चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर द्वितीय बन्न सफल भयो । बागमती प्रदेशले एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जित्यो । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनएले एक रजतमा चित्त बुझायो ।

टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाकी अभिलाषा विष्टले स्वर्ण पदक जित्नुभयो । पोखरा रंगशालाको टेनिस कोर्टमा भएको अन्तिम चरणको प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७-६, ६-३ सेटमा पराजित गर्नुभयो । नेपालको पहिलो वरीयताका खड्काले स्वर्ण जित्दा हाडाले कास्यमा चित्त बुझाउनुप¥यो ।
यसैगरी महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाकी अभिलाषाले सेनाकै इरा रावतलाई ६-१, ६-६ सेटमा पराजित गर्दै स्वर्ण पदक जित्नुभयो । पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनएले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य पदक जित्नुभयो ।

महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जित्नुभयो । पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल शाहीको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडीले रजत पदक जितेको छ । गण्डकीका आशिष खड्का र सौगात बिकको जोडी र बागमतीका निशान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जित्यो ।

बक्सिङमा पनि आर्मी च्याम्पियन
बक्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ११ स्वर्णसहित च्याम्पियन बनेको छ । एपिएफले चार, बागमतीले तीन, एनआरएनएले दुई, गण्डकी प्रदेश, प्रदेश नं. १ र नेपाल पुलिसले समान एक/एक स्वर्ण पदक जितेका छन् ।

प्रतियोगिताअन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापा, ५१ केजी तौल समूहमा नेपाल पुलिस क्लबका चन्द्रबहादुर थापा, ५४ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी, ५७ केजी तौल समूहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का शिवु थापा, ६० केजी तौल समूहमा आर्मीका पुरन सुनुवार, लाइट ६३ केजी तौल समूहमा बागमतीका मौसम रानामगरले स्वर्ण पदक जित्नुभयो ।

त्यस्तै, ६७ केजी तौल समूहमा आर्मीका दानबहादुर दर्माली, लाइट ७१ केजीमा एनआरएनएका चन्द्रबहादुर तामाङ, ७५ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ, लाइट ८० केजीतर्फ आर्मीका महेन्द्र केसीले स्वर्ण पदक जित्नुभयो । ८६ केजी तौल समूहमा एपिएफका रविन नेपाली, ९२ केजी तौल समूहमा गण्डकीका दीपक सुनुवार, ९२ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दवाडीले स्वर्ण पदक हात पार्नुभयो ।

यसैगरी महिलातर्फ ४८ केजी तौल समूहमा बागमती प्रदेशकी सुष्मा तामाङ, महिलातर्फको ५० केजी तौल समूहमा पुलिसकी दिवाना शर्मा, ५२ केजी तौल समूहमा आर्मीकी मिनु गुरुङ, ५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठ, ५७ केजी तौल समूहमा आर्मीकी चन्द्रकला थापा, ६० केजी तौल समूहमा एपिएफकी संगीता सुनार, ६३ केजी तौल समूहमा आर्मीकी पुनम रुवाल, ६६ केजी तौल समूहमा एपिएफकी विनिता मगर, ६९ केजी तौल समूहमा एपिएफकी सरस्वती रानामगरले स्वर्ण पदक हात पार्नुभयो ।

जुडोमा आर्मी च्याम्पियन
नेपाल आर्मीले जुडोको मिक्स टिम इभेन्टमा पनि स्वर्ण पदक जित्यो । बिहीबार भएको मिक्स टिम इभेन्टमा एपिएफलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हासिल गरेको हो । मिक्स टिममा स्वर्ण पदक जितेको आर्मी प्रतियोगितामा सर्वाधिक नौ स्वर्ण पदक जित्दै जुडोको च्यम्पियन बनेको हो । कुल १५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

स्वर्णको खाता खोल्ने दाउमा रहेको एपिएफ रजतमा सीमित भएको छ । बागमती प्रदेश र प्रदेश नम्बर १ ले कास्य पदक जिते । मिक्स टिम इभेन्टमा ५ प्रदेश र ३ विभागीय टिमको सहभागिता रहेको थियो । जुरीको निर्णय अस्वीकार गर्दै लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले म्याट छाडेका थिए । विवाद समाधान नभएपछि यी दुई टिमले खेल छाडेका छन् । जुडो संघले भने दुवै टिमलाई अयोग्य ठहर गरेको छ ।

जुडोमा नेपाल आर्मीले नौ स्वर्ण, ६ कास्य र तीन रजत पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्ण, तीन रजत र आठ कास्य पदक प्राप्त गरेको छ । बागमती प्रदेशले दुई रजत र सात कास्य पदक जित्यो ।

लुम्बिनी प्रदेशले एक रजत र तीन कास्य जितेको छ । मधेश प्रदेशले एक रजत र दुई कास्य जितेको छ । एपिएफले एक रजत, एक कास्य जितेको छ । प्रदेश नम्बर १ ले तीन कास्य जितेको हो । सुदूरपश्चिम प्रदेशले दुई कास्य पदक जितेको छ । कर्णाली प्रदेश र एनआरएनएले एक/एक कास्यमा चित्त बुझाएका छन् ।

खोखो : पुरुषमा आर्मी र महिलामा लुम्बिनीलाई स्वर्ण
खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो । महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८-१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो ।

राउण्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले स्वर्ण पदक हात पारेका छन् । असोज ३० देखि सुरु भएको प्रतियोगितामा दुई विभागीयसहित नौ टिम सहभागी थिए ।

भलिबलमा एपिएफ च्याम्पियन
पुरुष भलिबलको स्वर्ण पदक एपिएफले जित्यो । पोखरा रंगशालाको भलिबल कोर्टमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बन्यो । एपिएफले पहिलो सेट २५-२१, दोस्रो सेट २७-२५ र तेस्रो सेट २६-२४ ले जित्दै स्वर्णपदक हात पार्‍यो । तेस्रो स्थानको खेलमा पुलिसले गण्डकीलाई पराजित गर्‍यो । पुलिसले २६-२४, २५-१४ र २५-१८ को सहज जित दर्ता गर्दै कास्य पदक जितेको हो ।

त्यसअघि महिला भलिबलतर्फ पनि एपिएफले स्वर्ण जितेको थियो । बुधबार भएको फाइनलमा एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै स्वर्ण जित्न सफल भयो ।

बास्केटबल
पुरुष बास्केटबलमा पनि विभागीय टोली एपिएफ च्याम्पियन बन्यो । फाइनलमा एपिएफले ८१–७९ स्कोरका साथ घरेलु टोली गण्डकीलाई पराजित ग¥यो । थ्री अन थ्रीतर्फको फाइनलमा भने आयोजक गण्डकीले एपिएफलाई २१-१६ स्कोरले पराजित गर्दै स्वर्ण पदक हात पार्‍यो । त्यसअघि तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको थियो । आर्मीले बागमती प्रदेशलाई ४५-३० को अन्तरमा पराजित गर्दै स्वर्ण जितेको हो ।

४० खेलाडीको डोपिङ परीक्षण
राष्ट्रिय खेलकुदको नवौं संस्करणमा ४० खेलाडीको डोपिङ परीक्षण गरिएको छ । विभिन्न प्रतियोगितामा सहभागी ४० खेलाडीको एन्टिडोपिङ नमुना संकलन गरी परीक्षण गर्न कतार पठाइएको एन्टिडोपिङ परीक्षण उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिनुभयो ।

६१ वर्षका खेलाडी
संखुवासभाका खेलाडी धनबहादुर घले ६१ वर्ष पुग्नुभयो । उहाँको उमेरले आराम खोज्दै छ तर उहाँ स्क्वासको र्‍याकेट बोकेर अझै कोर्टमा भेटिनुहुन्छ । उहाँको खेल्ने मन र इच्छालाई उमेरले छेकेको छैन । यसैले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्दै खेल्न आउनुभएको छ । उहाँ यस प्रतियोगिताको सबैभन्दा बढी उमेरका खेलाडी हुनुुहुन्छ ।

पोखरामा असोज २८ देखि सुरु भएको खेलकुदको कुम्भमेलामा भेला भएका छ हजार १५७ खेलाडीमध्ये घले सबैभन्दा पाका खेलाडी हुनुहुन्छ । विसं २०१८ वैशाख ५ गते संखुवासभा खाँदबारी नगरपालिकामा जन्मनुभएका उहाँले उमेर छँदासम्म सिंगापुर पुलिसमा सेवा गर्नुभयो । सेवाकै क्रममा घलेले स्क्वास खेल्न सिक्नुभयो ।

सिंगापुरमा निकै लोकप्रिय स्क्वासमा विभिन्न प्रतियोगिता खेल्नुभयो । सिंगापुरमा २६ वर्ष सात महिना सेवा गरेर उहाँ अवकाश लिनुभयो । नेपाल आएर उहाँले धेरै ठाउँमा स्क्वास खेल्न खोज्नुभयो तर ठाउँ भेट्नुभएन । सातदोबाटोमा स्क्वास बनिसकेको थिएन । पूर्वमा पनि स्क्वासको भौतिक संरचना थिएन । उहाँ काठमाडौं पुगेर साथीभाइसँग रमाइलोका लागि खेल्न थाल्नुभयो ।

उहाँको खेल निकै राम्रो थियो । उहाँको खेलकौशल थाहा पाएर नै उहाँलाई प्रदेश १ को स्क्वास संघले आग्रह गरेपछि उहाँ पोखरा आउनुभएको हो । पूर्वमा खेलाडी अभाव भएको हुँदा संघले नै अनुरोध गरेपछि प्रदेश एकको प्रतिनिधित्व गर्दै खेल्न आएको उहाँले बताउनुभयो । उहाँ पहिलो खेलमा पराजित हुनुभयो तर उहाँलाई हार बेहोर्नुपरेकोमा कुनै दुःख छैन । नाती पुस्तासँग खेलेर हार्न पनि छुट्टै आनन्द हुने उहाँ सुनाउनुहुन्छ । आफूहरूले पछिल्लो पुस्तालाई प्रेरणा र हौसला दिइरहनुपर्ने उहाँको धारणा छ । व्यक्तिगत प्रतिस्पर्धामा हारे पनि टिममा राम्रो गर्ने उहाँले बताउनुभयो ।

उहाँसँगै प्रदेश १ बाट ५७ वर्षका वीरबहादुर नेपाल पनि खेलाडी भएर पोखरा आउनुभएको छ । घलेभन्दा चार वर्ष कान्छा नेपालले खेल्न मन भएपछि उमेरले नछेक्ने बताउनुभयो । पाँचौं राष्ट्रिय खेलकुदबाट खेल्न सुरु गर्नुभएका उहाँ नवौंसम्म निरन्तर हुनुहुन्छ । पाँचौं राष्ट्रिय खेलकुदमा रजत पदक, छैटौं, सातौं र आठौंमा कास्य पदक जित्नुभएको उहाँले जानकारी दिनुभयो । घले र नेपाल पाका खेलाडी भए पनि खेलमा उमेरले नछेकेको उहाँहरूको भनाइ छ ।

घले र नेपालको खेल कौशलका कारण नै उहाँहरू छनोट भएर पोखरा आएको प्रदेश नम्बर १ का स्क्वासका प्रशिक्षक अनिल बज्राचार्यले जानकारी दिनुभयो । ‘उमेर छिप्पिँदै गए पनि उहाँहरूको खेलबाट म प्रभावित छु,’ उहाँले भन्नुभयो, ‘हाम्रो प्रदेशमा स्क्वासका खेलाडी पनि कम छन् । त्यसैले पनि उहाँहरूको खेल र खेल्ने इच्छाशक्तिका कारण लिएर आएको हुँ ।’

आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ । १३ स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित आर्मी च्याम्पियन बनेको हो । यसअघि नेपालगञ्जमा भएको आठौंमा १६ र विराटनगरमा भएको सातौं खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो ।

आर्मीले एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा गरी कुल २४ पदक हासिल गरेको हो । आर्मीका लागि एकल प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा रिना धिमाल, ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा पूर्णबहादुर मगर, ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा सुमन मस्रांगी मगर र ‘ब्ल्यु बेल्ट’तर्फ धनसिंह परियारले स्वर्ण दिलाउनुभयो ।

भीमबहादुर तामाङले प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ पहिलो डान र ७६-८० किलो तौल समूहको एकल स्पाइरिङमा गरी दुई स्वर्ण जित्नुभयो । ‘ब्ल्यु बेल्ट’तर्फ सुस्मिता श्रेष्ठ र ‘रेड बेल्ट’मा निकिता धिमालले स्वर्ण पदक हासिल गर्नुभयो । धिमालले एकल स्पाइरिङमा पनि आर्मीलाई स्वर्ण दिलाउनुभयो । ५६-६० किलो तौल समूहको खेलमा एक नं. प्रदेशकी सजिना तामाङलाई पराजित गर्दै धिमालले स्वर्ण हात पार्नुभएको छ ।

आर्मीकै कन्याम लिम्बूले ६५ किलोभन्दा माथिको तौल समूहको एकल स्पाइरिङमा जित निकाल्दै स्वर्ण जित्नुभयो । पुरुषतर्फ ६६-७० किलो तौल समूहबाट लिलाधर बस्नेतले आर्मीलाई स्वर्ण दिलाउनुभयो । पुरुष टिम प्याटर्नमा पनि आर्मीले स्वर्ण पायो ।

बुधबार भएको टिम स्पाइरिङमा पनि बागमती प्रदेशलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हात पा¥यो । महिलातर्फको स्वर्ण भने बागमतीले जित्यो । आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले सातौं राष्ट्रिय खेलकुददेखि आफ्नो टिमले लगातार च्याम्पियन यात्रा जारी राखेको बताउनुभयो ।

स्वर्ण पदक विजेता आर्मीका लीलाधर बस्नेतले राष्ट्रिय खेलकुदमा आफ्नो स्वर्ण संख्या चार पु¥याउनुभयो । सातौंमा पहिलो स्वर्ण पाउनुभएका उहाँले आठौं खेलकुदमा दुई स्वर्ण पदक जित्नुभएको थियो । बस्नतेले अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य रहेको सुनाउनुभयो ।

प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कास्य पदक जित्यो । प्रदेश नम्बर १ ले तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदक हात पार्‍यो । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कास्य पायो ।

सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पा¥यो । नेपाल पुलिसले चार कास्य पदक जित्दा मधेश प्रदेश एउटामात्र कास्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन ।

रिलेमा आर्मीका दुवै टोलीलाई स्वर्ण
एथ्लेटिक्सको चार गुणा ४०० रिलेमा त्रिभुवन आर्मी क्लबले महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । पुरुषतर्फ सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवार सम्मिलित आर्मीले ३ मिनेट १८.३६ सेकेण्डको समय निकाल्दै स्वर्ण पदक जितेको हो ।
निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपाली सम्मिलित एपिएफले ३ मिनेट २५.८२ सेकेण्डको समय निकाल्दै रजत जित्यो । अमृत बोट, सहनचन्द्र शाह, टेकबहादुर कार्की र अरुण महतो थारु सम्मिलित पुलिसले ३ मिनेट २९.३५ सेकेण्डको समय निकाल्दै कास्य पदक जितेको छ ।

एपिएफ अयोग्य
महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जिते पनि एपिएफका खेलाडीले लेन परिवर्तन गरेका कारण अयोग्य ठहरिएको छ । एपिएफका खेलाडीले लेन परिवर्तन गरेपछि आर्मीका सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कुसेली चौधरी सम्मिलित आर्मीको टोलीले ४ मिनेट ०२.७८ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जितेको हो ।

निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेण्डको समय निकाल्दै रजत जित्यो । अञ्जु खड्का, राजीना दुलाल, स्वगता खाइजु, सन्तोषी श्रेष्ठ सम्मिलित बागमतीले ४ मिनेट २२.७९ सेकेण्डको समय निकाल्दै कास्य जित्यो ।

त्रिपल जम्पमा पनि आर्मी
एथ्लेटिक्सको पुरुष त्रिपलजम्पमा आर्मीका डिल्ली खत्रीले स्वर्ण पदक जित्नुभयो । डिल्लीले १३.९५ मिटर जम्प गर्दै स्वर्ण पदक जित्नुभएको हो । पुलिसका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गर्दै रजत जित्नुभयो । बागमतीका सुदिप महतोले १३.४४ मिटर जम्प गर्दै कास्य पदक जित्नुभयो ।

दुवाथलन
दुवाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । पाँच किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्बूले १ घण्टा २२ सेकेण्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पदक जित्नुभएको हो ।

निर्धारित दूरी १ घण्टा ११ मिनेट ४४ सेकेण्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण पदक हात पार्नुभयो । पुरुषतर्फ आर्मीका मनबहादुर थापामगरले निर्धारित दूरी १ घण्टा १ मिनेट ४१ सेकेण्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३४ सेकेण्डमा पार गर्दै कास्य पदक जित्न सफल हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?