स्रष्टा दाहालको कविता-किस्ती ‘काला बादलमा उज्याला पाइला’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । साहित्यकार, वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालको कविता-किस्ती ‘काला बादलमा उज्याला पाइला’ लाकोर्पण गरिएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच कृतिको लोकार्पण गरिएको हो । कृतिको प्रमुख अथिति साहित्यकार तथा राजनीतिज्ञ नरहरि आचार्य, प्राडा.कुमार कोइराला, साहित्यकार कलानिधि दाहाल, रिलाइन्स कलेजका प्रमुख रवीन्द्रजंग थापालगायतले लोकार्पण गर्नुभएको थियो ।

‘मानिसलाई पढेपछि उसको कृतिलाई पढिरहनु त्यति आवश्यक हुँदैन तर कुनै पनि कृतिले मानिसलाई उसको शेषपछि पनि चिनाउँछ । त्यसैले पढ्नुपर्छ’, समारोहका प्रमुख अतिथि आचार्यल भन्नुभयो, ‘कवि दाहालको वाककला तथा कृतिहरूबाट म प्रभावित छु ।’ पुस्तकमाथि समीक्षकहरू सुमन घिमिरे, देवी नेपाल, प्राडा.नारायण चालिसे, प्राडा.कुमार कोइराला, साहित्यकार कलानिधि दाहाल तथा राजनीतिज्ञ शोभाकर पराजुलीकले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । सुमनले पुस्तकमाथि टिप्पणी गर्दै यस पुस्तकमा निरासा, चिन्ता, अन्तरविरोध, आशाका किरण, वैमनस्य, मानवीयसम्बन्ध जस्ता कुराहरू रहेका बताउनुभयो ।

त्यस्तै, देवी नेपालले पुस्तकमा मानवीय संवेग, जीवनमुखी र समाजमुखी विचार रहेकोे बताउनुभयो । कलानिधि दाहालले निराशाभित्र पनि आशावादी सोच रहेको धारणा राख्नुभयो । यसैगरी, प्राडा. कोइरालाले यस पुस्तकमा रहेका कविताहरूको जीवनवादी दर्शनको बारेमा बताउनुभएको थियो भने प्राडा. चालिसेले यी कविताहरू जीवन र जगतसँग प्रत्यक्ष तथा परोक्ष रूपमा जोडिएको बताउनुभयो । डा. पराजुलीले कवि पुरुषोत्तम दाहालसँगको आफ्नो सम्बन्ध र पुस्तकको बारेमा बताउनुभएको थियो ।

शिखा बुक्सका पुष्प पौडेलले स्वागत मन्तव्य दिनुभएको समारोहको गोविन्द ढकालले सहजीकरण गर्नुभएको थियो । चावहिलको सरस्वती नगरस्थित रिलाइन्स कलेजमा सम्पन्न कार्यक्रमकको सभापतित्व सो कलेजका प्रमुख रवीन्द्रजंग थापाले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार मुधुसुदन पाण्डेय, नन्दकृष्ण जोशी, डा.कृष्णप्रसाद भट्टराई, मुकुन्द पौडेल, प्राडा भूपप्रसाद धमला, इ.महेन्द्र पराजुली, विष्णु पन्त, प्राडा धु्रव ज्ञवाली, वियोगी बुढाथोकी, डा.शान्तिकृष्ण अधिकारी, साहित्यकार खेमनाथ दाहाल तथा विनोद दाहाल वत्सको उपस्थिति थियो ।

यसैगरी, कार्यक्रममा उपस्थित हुनुभएका अन्य व्यक्तिहरूमा प्राडा गोविन्दमानसिंह कार्की, कल्पना दाहाल, शान्ता दाहाल, रामप्रसाद दाहाल, मुकुन्दराज दाहाल, होमप्रसाद गृहस्थी, नारद पौडेल, पवित्रा पौडेल, अनार बस्नेत, कृष्ण भुसाल, रामचन्द्र घिमिरे, मनोज न्यौपाने, रामनाथ घिमिरे, लाक्पाजी शेर्पालगायतको बाक्लो उपस्थिति रहेको थियो । ‘अर्को भूगोलमा मुस्कुराइरहेको यौटा तारा नाति श्रीयमलाई मेरो सिर्जनाको यो कोसेली’ भनिएको कृतिमा विभिन्न सन्दर्भका ४० ओटा कविता संग्रहित छन् । शिखा बुक्सले प्रकाशन गरेको १५८ पेजको यस कृतिको मूल्य ३६० रुपैयाँ राखिएको छ ।

स्रष्टा दाहालका यसअघि ‘साँध’ (कविता संग्रह २०५९), ‘प्रक्षेपण’ (विचार निबन्ध संग्रह २०६१), ‘शान्ता’ (उपन्यास प्रथम तथा द्वितीय संस्करण २०७०), ‘अन्धकारको यात्री’ (कविता संग्रह २०७३), ‘शिखरवृत्त’ (कथा संग्रह २०७४), ‘मेरो पत्रकारिता’ (चारदशकको पत्रकारिता अनुभव २०७३ र दोस्रो संस्करण २०७५), ‘शान्ता’ (उपन्यास अंग्रेजी अनुवाद प्रथम संस्करण २०७५), मानव अधिकार : लोकतन्त्र शान्ति र अहिंसाको आधार’ (सहलेखन २०६५) र केही कवि केही कविता (संयुक्त कविता संग्रह २०४३) जस्ता कृति प्रकाशित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?