भोट माग्न घर-टोलमा उम्मेदवार

हिमालय टाइम्स
Read Time = 6 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पाल्पाका राजनीतिक दल तथा उम्मेदवारहरू भोट माग्न घरदैलोमा व्यस्त छन् । वाम-लोकतान्त्रिक गठबन्धन, नेकपा एमालेसहित साना दल र स्वतन्त्र उम्मेदवारहरू निर्वाचन प्रचार-प्रसारको तालिका बनाएर मतदाताको घरदैलोमा भोट मागिरहेका छन् । दलका तर्फबाट उम्मेदवार बनेकाहरू जिल्लाका नेता तथा कार्यकर्तासँगै मतदाताको घरमा पुुगेका छन् भने स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाताको गाउँ, टोल र घर-घरमा पुगेर मत मागिरहेका छन् ।

उम्मेदवारहरू घर आगँनमा आउँदा र उनीहरूका योजना सुन्दा मतदातालाई अब केही गर्छन् कि जस्तो पनि लाग्छ । तर विगतका अभ्यास सम्झदा प्रायजसो उम्मेदवार चुनावमा मत माग्न मात्रै आउने र त्यसपछि हराउने गरेको स्थानीयको अनुभव छ । चुनावमा मतदातालाई विश्वस्त पार्दै आफ्ना योजना सुनाउने माध्यम घरदैलो हो । त्यसले मतदाता र उम्मेदवारलाई एकठाउँमा पनि जुटाउँछ । तर भोट चाहिँदा घर बस्तीमा पुग्ने तर निर्वाचनपछि आश्वासन पुरा नगर्ने र मतदातालाई विर्सने राजनीतिक प्रवृति प्रति आमनागरिकमा भने असन्तुष्टि छ ।

पाल्पा क्षेत्र नं २ मा गठबन्धन दलका उम्मेदवार र दलहरू भोट माग्दै मतदाताका घर–घरमा पुगेका छन् । गठन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डे अहिले तानसेनका मतदाताहरूसँग भोट माग्नमै व्यस्त हुुनुुहुन्छ । उहाँले मतदातासँगको भेटमा पाल्पाका अधुरा र ठूला योजना पूरा गर्न पुनः निर्वाचनमा आएको बताउनुुभयो । अहिलेको मुुलुकको विकास र समृद्धिका लागि गठबन्धनको आवश्यकता रहेकाले गठबन्धनका सबै उम्मेदवारलाई मत दिएर विजयी बनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो । पाण्डेसँगै भोट माग्न मतदाताको घरमा पुग्नुुभएका प्रदेश सभा २ (१) का उम्मेदवार, नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले विकास र सुशासनका पक्षमा आफुले मत मागेको बताउनुुभयो । गठबन्धनबाटै प्रदेश सभा २ (ख)का उम्मेदवार बनेका नेकपा माओवादीका नेता तुलराम (बसन्त) घर्ती पनि मतदाताहरुसँग भोट माग्न गाउँ पस्नुुभएको छ ।

यस्तै नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरे गाउँ टोलमा पुगेर मतदाताहरूसँग भोटको अपिल गर्नुभएको छ । उहाँले यस पटक आफू र आफ्नो टिमलाई विजयी गराउन सबै मतदातालाई आग्रह गरिरहनुुभएको छ । गैरेसँग प्रदेश सभा सदस्यका उम्मेदवार ओमबहादुर घर्ती र परशुराम भट्टराईले पनि मतदाताहरूसँग मत मागिरहनुुभएको छ । उता पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरू पनि मतदाता रिझाउन घरदैलोमा छन् । गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका उपसभापति ज्ञानबहादुर गाहाले क्षेत्र नं. १ को विकास र समृद्धिका लागि मत दिन मतदाताहरूसँग आग्रह गर्नुभएको छ । उहाँले मतदाताहरूसँगको भेटमा पटक-पटक एमालेलाई जिताए पनि यस क्षेत्रको विकास हुुन नसकेकाले यस पटक गठबन्धनका उम्मेदवारलाई जिताउन भन्नुुभएको छ । उहाँसँगै प्रदेश सभाका सदस्यहरू शंकर खनाल र श्यामकान्त खनाल पनि घरदैलोमै व्यस्त हुुनुुहुुन्छ ।

एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुुभएका नारायणप्रसाद आचार्यले पनि मतदतालाई रिझाउन घरदैलो अभियानलाई तिव्रता दिनुुभएको छ । उहाँले पूर्वी पाल्पाको विकासका लागि एमालेका उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभएको छ । उहाँसँगै प्रदेश सभा सदस्यका उम्मेदवार खेमबहादुर सारु र राजुप्रसाद श्रेष्ठले पनि मतदातासँग भोट माग्नुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आ–आफ्नातर्फबाट चुनावी एजेण्डा र धारणासमेत सार्वजनिक गर्दै उम्मेदवार गाउँ पसेका हुन् । पाल्पाको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ४५ जना चुनावी मैदानमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?