सडकले बदलिएको बरेङ

हिमालय टाइम्स
Read Time = 6 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । तीन दिन हिँडेर बागलुङको बरेङ गाउँपालिकाबाट कयौंपटक बुटवल पुग्नुभएका बरेङ गाउँपालिका-२ का केशरबहादुर बर्मा अहिले गाउँमै बुटवलबाट जिप आउँदा दंग पर्नुहुन्छ । बागलुङको दक्षिण भेग बरेङ बुटवलसँग सिधा सम्पर्कमा भएकाले प्रशासनिक कामबाहेक किनमेल र औषधि उपचार पाल्पा हुँदै बुटवलसम्म हुन्छ । २०६३ सालतिर बरेङमा पहिलोपटक सवारी आएको बर्माको स्मरणमा छ । बर्माले तीन दिन हिँडेर पुग्ने बुटवल अहिले आधा दिनमै पुग्न सकिने बताउँदै सडक सञ्जालका कारण बरेङको जनजीवनले मुहारै फेरेको बताउनुभयो ।

‘प्रशासनिक काम गर्नमात्रै बागलुङ बजार जान्छौं, अन्य कामका लागि सदरमुकाम बागलुङ बजार पुग्ने समयमा बुटवल पुगिन्छ,’ बर्माले भन्नुभयो, ‘यहाँका अधिकांशको बसाइसराइसमेत उतै हुन्छ, अहिले दैनिक तीनवटा जिप बरेङ आउँछन्, शान्तिपुरसम्म बाटो पक्की नै छ, त्यहाँबाट बससमेत पाइन्छ, सडकका कारण दुर्गम मानिएको बरेङ गाउँपालिका विस्तारै सुगम बन्दै गएको छ ।’ बर्माले सडकका कारण ७५ वर्षको उमेरमा भए पनि यहाँको विकास हेर्न पाइएको बताउनुभयो । सडक सञ्जालका कारण बरेङ क्षेत्रमा बाक्ला घरहरूसमेत निर्माण भइरहेका छन् ।

अहिले बरेङबाट बागलुङ जिल्ला सदरमुकाम आउन झण्डै पाँच घण्टा लाग्छ भने सोही समयमा बरेङबाट बुटवल पुग्न सकिने स्थानीय होमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार सडकको सहज पहुँचका कारण गाउँमै शहरको सेवासुविधा उपभोग गर्न पाएको बताउनुभयो । उहाँले गुल्मीको शान्तिपुरबाट बरेङ आउन निकै सहज भएको बताउँदै अब सडक कालोपत्रे गर्न सके झनै यात्रा छोटिने बताउनुभयो ।

बागलुङ जिल्ला सदरमुकामबाट बरेङ पुग्ने सबै सडक कच्ची भएका कारण जिल्ला सदरमुकाम पुग्नभन्दा बरेङका बासिन्दालाई बुटवल पुग्न सहज हुने थापाले बताउनुभयो । ‘१० वर्षअघिसम्म बुटवल हुँदै भारी बोकेर सामान गाउँमा ल्याइन्थ्यो, अहिले गाउँ-गाउँमा सडक पुगेको छ, बुटवलबाट चार-पाँच घण्टामै जिप बरेङ आइपुग्छ,’ थापाले भन्नुभयो, ‘बागलुङको दुर्गम गाउँपालिकामा गनिने बरेङ गाउँपालिका सडक सञ्जालका कारण सुगम बन्दै आइरहेको छ भने विकास निर्माणले तीव्रता पाएको छ ।’

थापाका अनुसार बरेङमा सडकको पहँुचसँगै खानेपानीको समेत व्यवस्थापन हुँदा अहिले गाउँमै विकासको अनुभव प्राप्त भएको छ । अहिले बरेङ गाउँपालिकाको केन्द्रमा बजार विस्तार भइरहेको छ भने बरेङ बजारमा धमाधम घर थपिएका छन् । पछिल्लो समय देश संघीयतामा गएर गाउँपालिका स्थापना भएपछि बरेङ गाउँपालिकाको अधिकांश बजेट पूर्वाधारमा खर्च गरेको छ । बरेङ बजार सुधारका लागिसमेत पालिकाले बर्सेनि बजेट खर्च गर्दै आएको बरेङ गाउँपालिकाले जनाएको छ । बरेङ गाउँपालिकामा जिल्ला सदरमुकाम बागलुङ बजारबाट भन्दा बुटवल र पाल्पाबाट धेरै सवारीसाधनहरू आउने गरेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । ‘बरेङमा सडकले सेवासुविधा थपिएको छ, बसाइसराइ त रोकिएको छैन तर यहाँका मानिसले दैलोमै सेवासुविधा पाएका छन्, पालिकाले धेरै सडकहरू सुधार गर्दै आएको छ, हामीले शान्तिपुरदेखि बरेङसम्म सडक कालोपत्रे गर्ने योजना बनाएका छौं,’ शर्माले भन्नुभयो, ‘बरेङ गाउँपालिका जिल्ला सदरमुकामबाट टाढा र दुर्गम भए पनि सेवासुविधाका लागि बुटवलको सिधा यातायातले सुगम बन्दै आएको छ ।’

बरेङ गाउँपालिकामा सडकको सहज पहुँच विस्तारका लागिसमेत बर्सेनि पालिकाले ठूलो बजेट लगानी गर्दै आएको शर्माको भनाइ छ । शर्माका अनुसार गाउँपालिकाले आफ्नो बजेटबाट सडकको सुधार गर्न नाली निर्माण गर्ने, सडक हेरालु राख्ने तथा मर्मतसम्भार गरिराखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?