कैलाली-५ मा पन्त, राना र ओझाबीच त्रिपक्षीय भिडन्त

हिमालय टाइम्स
Read Time = 4 mins

विराज रोस्यारा/हिटा
धनगढी । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएँंगै कैलालीको चुनावी माहौल तातेको छ । कैलाली-५ बाट यसपालि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता डिल्लीराज पन्त चुनावी दौडमा हुनुहुन्छ । एमालेबाट भने नारदमुनी राना नै यसपटक पनि उम्मेदवार बन्नुभएको छ । अर्कोतर्फ कांग्रेसले नै कारबाही गरेका पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेपछि कसले बाजी मार्ला अड्कलबाजी गर्न थालिएको छ ।

२०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैलाली-५ मा नेपाली कांग्रेसकी आरजू राणा देउवा र वाम गठबन्धनबाट एमालेका नारदमुनी रानाबीच चुनावी प्रतिस्पर्धा भयो । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी भएकाले पनि राणाले सहजै चुनाव जित्ने अनुमान थियो । तर, उहाँलाई एमालेका नारदमुनी रानाले पराजित गर्नुभयो । यसपटक आरजूलाई धनगढीमाथि विश्वास नलागेर उहाँले समानुपातिक नै रोज्नुभएको छ । आरजूले आफ्नो क्षेत्रमा निवर्तमान प्रदेशसभा सदस्यसमेत रहनुभएका डिल्लीराज पन्तलाई उठाउनुभएको छ । प्रदेशमा आफ्ना स्वकीय प्रकाश देउवालाई पठाएर आरजूले पन्तलाई संघको उम्मेदवार बनाउनुभएको हो ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदासमेत प्रदेशसभा सदस्य जितेको बताउँदै उम्मेदवार पन्त यसपटक झन् पाँच दलीय गठबन्धनले जित सहज बनाएको दाबी गर्नुहुन्छ । तर, पन्तलाई कांग्रेसले नै कारबाही गर्नुभएका पुष्करनाथ ओझाले चुनावमा निकै सकस पार्ने देखिएको छ । २०७४ सालमा आरजूलाई असहयोग गरेको आरोप लगाउँदै ओझालाई कांग्रेसले निष्कासन गरिसकेको छ । यसपटक ओझा धनगढीका जनताको स्वाधीनताका लागि चुनावमा होमिएकाले जित निश्चित भएको दाबी गर्नुहुन्छ ।

२०७४ सालमा वाम गठबन्धनबाट विजयी हुनुभएका एमाले नेता नारदमुनी रानाले पनि यसपटक आफूलाई झन् बलियो उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ । सबैभन्दा पहिलो जित्ने आधार पार्टीको सिद्धान्त, राष्ट्रियता र स्वाधीनता नै रहेको रानाको दाबी छ । आफू निर्वाचित भएपछि कैलाली-५ मा भएका कामले झन् आफूलाई जित्न सहज हुने उहाँको दाबी छ । कैलाली-५ मा कांग्रेसको वर्चस्व र पाँच दलीय गठबन्धनले स्वतः जित निश्चित हुन्छ । तर, स्वतन्त्र उम्मेदवार र कांग्रेसभित्रको अन्तरकलहले गठबन्धनका उम्मेदवारलाई जित्न सकस नै हुन्छ । यता, एमालेलाई पनि जित्न त्यति सहज भने छैन । त्यसकारण पनि कैलाली-५ को चुनावी माहोल निकै रोचक हुने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?