सडकपेटीबाट हटाउन थालेपछि माग्न बस्नेहरू महानगरसँग आक्रोशित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सडकमा आश्रित दृष्टिविहीन तथा अशक्तहरूलाई काठमाडौं महानगरपालिकाले हटाउन थालेपछि उनीहरू आन्दोलित बनेका छन् । बिहीबार बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालयबाहिर दृष्टिबविहीनहरूले रोजगारी र व्यवसाय छुट्टै स्थानको व्यवस्था माग गर्दै नाराबाजी गरेका हुन् । बुधबार पनि उनीहरूले महानगर कार्यालयबाहिर प्रदर्शन गरेका थिए ।

केही दिनयता महानगरपालिकाले निर्देशन अटेर गर्दै काठमाडौंका विभिन्न स्थानका सडकपेटीमा माग्न बसेकाहरूलाई नियन्त्रणमा लिइरहेको छ । महानगरले उठाएर जबरजस्ती पठाए पनि उनीहरू भने माग्नुको विकल्प नभएको भन्दै सडकमा फर्किएका छन् । उनीहरूले आफूहरूको रोजीरोटीको कुनै विकल्प नभए पनि महानगरले दुव्र्यवहार गरेर खेदिरहेको गुनासो गरेका छन् । महानगरले सडकपेटीमा बसेर माग्न प्रतिबन्ध लगाएपछि दृष्टिविहीनहरू बिहीबार दिउँसो महानगरको गेटमा धर्ना दिन पुगेका थिए । तर, महानगरपालिकाले त्यहाँबाट पनि उनीहरूलाई आन्दोलन नगर्न भन्दै फर्काएको थियो ।

काठमाडौं महानगरपालिकाले १७ असार २०७९ मा नै सार्वजनिक सूचना निकालेर सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको थियो । महानगरपालिकाले २७ असारदेखि साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्नेबाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरेको छ । सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुनबमोजिम कारबाही गर्ने महानगरपालिकाको चेतावनी छ ।

अब महानगरपालिका क्षेत्रभित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न पाइने छैन । साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न लगाउन नपाइने महानगरपालिकाले बताएको छ ।

तर, असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित व्यवस्थापन गर्ने भन्दै सहयोग चाहिए मानव सेवा आश्रमको आवश्यक परेमा महानगरपालिकामा सम्पर्क गर्न पनि भनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?