माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्राचार गरेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको आयोगले बिहीबार कारबाही प्रक्रिया अघि बढाउन भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको हो । रौतहट-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाललाई आयोगले बिहीबार नै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

आयोगले बिहीबार नै प्रहरी कार्यालयलाई पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो । माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरूलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकोले सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयलाई अनुरोधसहित पत्र लेखेको हो ।

रौतहटमा आयोजित कार्यक्रममा नेपालले आफूले निर्वाचन जिते बिना पैसा देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन दिनुभएको भिडियो सामाजिक सञ्जालमासमेत भाइरल बनेको थियो ।

नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ । ‘उपयुक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले ‘बिना ढेवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भनी सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ’, आयोगले लेखेको पत्रमा भनिएको छ ।

नेपालको अभिव्यक्तिले निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल प्रभाव पार्ने गरी फ्री भिसा फ्री टिकटमा युवालाई विदेश पठाउने भनी अभिव्यक्ति दिने कार्य निर्वाचन आचारसंहिता प्रतिकूल भई निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकाले तपाईंलाई निर्वाचन आचारसंहिताको दफा २३ को उपदफा ३ तथा उपदफा ४ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? भन्दै प्रश्न गरेको छ । निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (न) मा कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ ।

भक्तपुर-२ का कांग्रेस उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकरण सोधियो
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकरण सोधेको छ । आचारसंहिताको उल्लंघन हुनेगरी प्रचारप्रसार गरेको भन्दै नेपाली कांग्रेसका जिल्ला अध्यक्षसमेत रहनुभएका थापालाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

थापाले सूर्यविनायक नगरपालिका वडा नम्बर २, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिताविपरीत हुने भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । थापालाई निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

४० जिल्लाको मतपत्र छापियो
निर्वाचन आयोगले ४० जिल्लाको मतपत्र छापिसकेको जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित प्रणालीतर्फ बिहीबारसम्म ४० जिल्लाको एक करोड ५४ लाख ३४ हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको आयोगका सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार आयोग असोज २७ गतेबाट पहिलो हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ मतपत्र छाप्न सुरु गरेको थियो ।

आयोगले हालसम्म कर्णाली र सुदूरपश्चिमका सबै जिल्लाको मतपत्र छपाइ सम्पन्न गरेको छ । यस्तै, लुम्बिनी प्रदेशको रुपन्देही र गण्डकीको पर्वतबाहेक अन्य सबै जिल्लाको मतपत्र छापिसकिएको सहप्रवक्ता भुसालको भनाइ छ ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ । आयोगले बिहीबारदेखि समानुपातिक तर्फको दोस्रो चरणको मतपत्र ढुवानी थालेको छ । पहिलो चरणअन्तर्गत प्रदेश- १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल दुई करोड चार लाख २१ हजार र प्रदेशसभातर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

लोकतन्त्र, निर्वाचन, मिथ्या सूचना, दुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति सँगसँगै जान सक्दैनन् : प्रमुख निर्वाचन आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्र, निर्वाचन, मिथ्या सूचना, दुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति सँगसँगै जान नसक्ने बताउनुभएको छ । बिहीबार फेसबुकको मातृ कम्पनी मेटाले आयोजना गरेको ‘सेफ्टी ट्रेलिङ फर जर्नालिस्ट’ तालिममा यी विषयहरू लोकतन्त्रको ठूलो चुनौती मात्र नभई अभिव्यक्ति स्वतन्त्रताका शत्रु पनि भएको बताउनुभयो । यिनै कारणले मिथ्या सूचना, दुस्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिको अनुगमन गर्नुपर्ने बाध्यता सिर्जना भएको उहाँको भनाइ छ । निर्वाचनको लागि सामाजिक सञ्जालबाट फैलिने मिथ्या सूचना, दुुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति निर्वाचनको लागि चुनौतीको रूपमा देखा परेको उहाँले बताउनुभयो ।

व्यवस्थित, मर्यादित र विश्वसनीय निर्वाचनको लागि आयोगले दुुईवटा नारा अगाडि सारेको स्मरण गर्दै निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुन नहुन बताउनुभयो । साथै उहाँले निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गर्नसमेत आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?