जेनतेन सकियो अव्यवस्थित नवौँ राष्ट्रिय खेलकुद

सरकार तथा खेलकुद पदाधिकारीको लापरवाहीका कारण नेपाली खेलाडीले भोगेको पीडालाई बीमा, मासिक वृत्ति र स्वास्थ्य उपचारको सरकारी औपचारिक र जाली कुराले कम गरेको भने देखिएन

हिमालय टाइम्स
Read Time = 8 mins

-दुर्गा रानामगर

पोखरा । भव्य तामझामका साथ पोखरामा सुरु भएको नवौँ राष्ट्रिय खेलकुद बिहीबार राति सकिएको छ। असोज २८ देखि सुरु प्रतियोगिताको समापन बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो। प्रधानमन्त्री देउवाले खेलकुदको क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताउनुभएको थियो।

प्रधानमन्त्री देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको आर्थिक अवस्था सुधार गर्दै खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले खेलाडीको बीमा, मासिक वृत्ति र स्वास्थ्य उपचारको व्यवस्था सरकारले गर्दै आएको पनि बताउनुभयो। अनि उहाँले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्यारा हुँदाहुँदै पनि खेलकुदलाई प्राथमिकता दिइरहेको बताउनुभयो।

प्रधानमन्त्री देउवाको यो भाषण लेख्नेले नवौँ राष्ट्रिय खेलकुदको भद्रगोल र लापरवाहीका बारेमा सायद जानेर लेखेका थिएनन् त्यो भाषणमा विभिन्न सिमा र अप्ठ्यारा भनेका सरकार तथा खेलकुद पदाधिकारीको अव्यवस्थापन तथा हेलचेक्र्याइँ हो भन्नेचाहिँ छर्लङ्ग देखिएको थियो। सरकार तथा खेलकुद पदाधिकारीको लापरवाहीका कारण नेपाली खेलाडीले भोगेको पीडालाई बीमा, मासिक वृत्ति र स्वास्थ्य उपचारको सरकारी औपचारिक र जाली कुराले कम गरेको भने देखिएन।

सरकार तथा खेलकुद पदाधिकारीको अव्यवस्थापन तथा हेलचेक्र्याइँ कतिसम्म थियो भने खेल अवधिभर कैयन खेलमा खेलाडीहरूले खेलकुद सामग्री नै पाएनन्, खेलमैदान व्यवस्थित हुन सकेन, हक्कीको खेल खेल्ने दिनमा खेलस्थल तयार नहुँदा दिनैभर खेलाडी पर्खिएर बस्नुपर्ने स्थिति रह्यो। नेपाली सेनाका खेलाडी निसिम थापाको ‘ग्लाइड कोल्याप्स’ हुदाँ घटनास्थलमै ज्यान गुमाउनु पर्यो। घटना भएपछि राखेपले नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति नलिई प्याराग्लाइडिङ प्रतियोगिताको आयोजना गरेको थाहा भयो। पुरुष हक्कीमा कर्णाली प्रदेशका खेलाडीले खेलकुद सामग्री अरु टिमसँग मागेर चलाए। यता आर्चरीमा पनि खेलकुद सामग्रीको अभाव र दिइएको सामग्री पनि कमसल खालको हुदाँ प्रतियोगिता भर पनि टिक्न सकेको थिएन। प्रतियोगितामा आयोजकप्रति सबैजसो खेलाडी असन्तुष्ट नै भेटिन्थे। ३ करोड रूपैयाँ खर्चेर तामझामपूर्ण गरिएको असोज २८ को उद्‌घाटनमा आतिसबाजी, रंगीविरंगीले भव्य देखिएपनि समग्रमा प्रतियोगिताको व्यवस्थापन फितलो थियो। सरकारले प्रतियोगिता सञ्चालनका लागि ६० करोड रूपैयाँ बजेट छुट्याएको थियो।

आठौं संस्करण २०७५ सालमा नेपालगञ्जमा भएको थियो। ४ वर्षपछि भएको प्रतियोगितामा खेलाडी, पर्याप्त खेलस्थल र आवश्यक खेलकुद सामग्रीको व्यवस्थापन राम्ररी हुन सकेन। जसलाई राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ गण्डकीमा भएको नवौँ खेलकुदको अनुभव र अध्ययनबाट देखिएका समस्यालाई कर्णालीमा हुने दशौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सुधार गर्ने बताएर टार्नुभयो।

टिम च्याम्पियन आर्मीको ह्याट्रिक

नवौँ राष्ट्रिय खेलकुदमा कुल ११ टिमको सहभागिता थियो। प्रतियोगिताको पदक तालिकामा नेपाल आर्मी च्याम्पियन बन्यो। ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित नवौँ राष्ट्रिय खेलकुदको ट्रफी हात पारेको छ। यसपालि समेतको उपाधि कब्जा गरी आर्मीले राष्ट्रिय खेलकुदमा ह्याट्रिक पुरा गरेको छ। आर्मीले यस अघिका सातौँ र आठौँ संस्करणको उपाधि समेत जितेको थियो।

आर्मीले १ सय ७२ स्वर्ण, १ सय ९ रजत, ८९ काश्य पदक सहित ३ सय ७० पदक जित्दै पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफी प्राप्त गरेको थियो। यस्तै ६५ स्वर्ण ७३ रजत र ८१ काश्य पदक सहित २ सय १८ पदक सहित सशस्त्र प्रहरी बल एपीएफ दोश्रो स्थानमा रह्यो भने ६१ स्वर्ण ६१ रजत र ७३ काश्य पदक गरी १ सय ९५ पदक सहित नेपाल प्रहरी क्लब तेश्रो भएको छ।

घरेलु मैदानमा ३२ स्वर्ण, ३१ रजत ५७ काश्य सहित १ सय २० पदक प्राप्त गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरू मध्य पहिलो हुन सफल भयो। बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ काश्य पदक सहित १ सय ४५ पदक जितेर पाँचौ स्थानमा चित्त बुझाउनु पर्यो। यस्तै प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० काश्य पदक गरी ८३ पदक सहित छैटौँ स्थानमा रह्यो भने १० स्वर्ण, १० रजत ४३ काश्य पदक सहित सुदूरपश्चिमेलले ६३ पदक प्राप्त गर्दै सातौँ र एआरएनए १० स्वर्ण ९ रजत ७ काश्य पदक गरी २६ पदक सहित आठौं स्थानमा पुग्न सक्यो। ६ स्वर्ण २२ रजत र ४० काश्य पदक गरी ६८ पदक सहित लुम्बिनी प्रदेश नवौँ स्थानमा रह्यो, मधेश प्रदेश ५ स्वर्ण ८ रजत र २६ काश्य पदक गरी ३९ पदकसहित दशौँ स्थानमा र कर्णाली प्रदेश २ स्वर्ण ४ रजत र १२ काश्य पदक गरी १८ पदक जितेर अन्तिम तथा एघारौँ स्थानमा रह्यो।

दशौँ संस्करण कर्णालीमा

राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण कर्णाली प्रदेशमा हुने भएको छ। बिहीबारको समापन समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले दशौँ राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्नुभएको थियो। दशौँ संस्करण २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना हुनेछ।

 

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?