चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

फाइल तस्बिर

रासस
Read Time = 2 mins

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमो चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।

‘घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ, उहाँले भन्नुभयो । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् ।

पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका-१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

चितुवाको आक्रमणबाट बन्दीपुर-१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका-४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका-१ बाघदलेका ३५ वर्षीया भिमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्ष भन्दा कम उमेरका बालबालिका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?