अचाक्ली महँगी, मूल्यवृद्धि ८.६४ प्रतिशत पुग्यो

Read Time = 7 mins

काठमाडौं । मुद्रास्फीति बढेर ८.६४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को भदौमा मूल्यवृद्धि आकासिएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ । २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल, घिउ तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत, तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ भदौमा यी क्षेत्रमा क्रमशः ३.२३ प्रतिशत, ३.६५ प्रतिशत, ३.९६ प्रतिशत र ३.५१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

शोधनान्तर घाटा २३ अर्बभन्दा बढी
चालु आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा शोधनान्तर घाटा २३ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड नौ लाखले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको छ ।

त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेकोमा २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौमा २.० प्रतिशतले कमी आई नौ अर्ब ३५ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/०८० को दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी चालु खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब छ अर्ब आठ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको छ । त्यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब चार करोड रहेको थियो ।

रेमिट्यान्स बढ्यो
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई एक खर्ब ८७ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई एक अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ भने वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार एक सय ८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।

दुई महिनामा साढे दुई खर्ब बढीको आयात
आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा कुल वस्तु निर्यात ३४.९ प्रतिशतले कमी आई २८ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, ऊनी गलंैचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधि (आयुर्वेदिक) लगायतको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जनलगायतको घटेको छ । आर्थिक वर्ष २०७९÷०८० को दुई महिनामा कुल वस्तु आयात १३.० प्रतिशतले कमी आई दुई खर्ब ७३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, औषधि, हवाईजहाज तथा स्पेयर पार्टपूर्जालगायतकोे आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टपूर्जा, चाँदी, कच्चा सोयाबिन तेल, हट रोल्ड सिट इन क्वाइल, एमएस बिलेटलगायतको आयात घटेको छ । दुई महिनामा अर्थात् साउन भदौमा कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले कमी आई दुई खर्ब ४४ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.० प्रतिशत रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?