मतदाता भेट्न उम्मेदवार खेतबारीमा

हिमालय टाइम्स
Read Time = 6 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । म्याग्दीको उपल्लो भेगमा कोदो र तल्लो क्षेत्रमा धान पाक्न थालेपछि कृषकहरूलाई बाली भिœयाउने चटारो छ । बिहानदेखि बेलुकीसम्म नै कोदो टिप्न कृषकहरू बारीमा व्यस्त हुने भएपछि भोट माग्न घरदैलोमा पुगेका उम्मेदवारहरू खेतबारीसम्मै पुग्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरू यतिबेला घरदैलो अभियानमा छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरूको प्रचारप्रसार अभियानका लागि सभा, समारोह, आमसभा मतदान हुने १७ दिन अघिमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवारहरू घरदैलो अभियानमा छन् । म्याग्दीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा (क) मा उम्मेदवार बन्नुभएका माओवादीका हरि भण्डारी र (ख) मा उम्मेदवार बन्नुभएका रेशम जुग्जालीसहित निर्वाचन प्रचारप्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएको हो ।

प्रदेशसभा (क) अन्तर्गतको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीहरूमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गर्वुजा र प्रदेशसभा सदस्य पदका उम्मेद्वार भण्डारीको टोलीले घरदैलो गरिरहेको छ । जिल्लास्तर, दुवै प्रदेशसभा क्षेत्र र ६ वटै स्थानीय तहमा गठबन्धनका तर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै चुनाव प्रचारप्रसार समिति गठन र उम्मेदवारसहितको टोलीले घरदैलो अभियान सुरु गरेको मूल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केवी)ले जानकारी दिनुभयो ।

गठबन्धनका तर्फबाट प्रदेश सभा (ख) का उम्मेदवार जुग्जालीसहितको टोली घरदैलो अभियान लिएर धवलागिरि गाउँपालिका–१ गुर्जा पुगेको छ । मालिका गाउँपालिकाभित्रका सबै वडाहरूमा चुनाव प्रचारप्रसार समिति गठन गरी चुनावी अभियानको सुरुवात गरेको टोलीले धवलागिरि गाउँपालिकाको सबैभन्दा विकट बस्ती मानिने गुर्जाबाट अभियानको थालनी गरेको हो । टोलीमा प्रदेशसभा (ख) का संयुक्त निर्वाचन प्रचारप्रसार समितिका संयोजक टंकप्रसाद पुन, प्रदेशसभा सदस्य पदका उम्मेदवार जुग्जाली, मालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका युवानेता श्रीप्रसाद रोकालगायत सहभागी हुनुहुन्छ ।

जिल्लामा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेले समेत घरदैलो अभियान चलाएको छ । एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षेत्रीको टोलीले रघुगंगा गाउँपालिकाका विभिन्न वडा, टोल र बस्तीमा पुुगेर मतदातासमक्ष भेटघाट सुरु गरेको छ ।

एमालेको यस टोलीले रघुगंगा-८, कुईनेमंगलेको घाँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो । प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत् मतदाता भेटघाट गरिरहेको छ । जिल्लामा राप्रपा, नेसनल मंगोल अर्गनाइजेसनलगायतका दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूले समेत घरदैलो अभियान चलाएका छन् ।

आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लामा मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको छ । दलहरूले प्रचारप्रसार गर्ने मुख्य अवधिमै स्थानीय तहमार्फत् निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई गरी प्रत्यक्षतर्फका तीन सिट रहेको म्याग्दीमा २० जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) मा पाँच र (ख) मा ६ जना उम्मेदवार बनेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?