लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धा

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धा हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदवारी दिनुभएकाे छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । तर, माओवादीका देव र एमालेका पृथ्वीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

०७४ सालको निर्वाचनमा देव, पृथ्वीसुब्बा र धनञ्जय दवाडीसहित लमजुङका ३ वटै सीट वाम गठबन्धनले जितेको थियो । देवले चुनाव जितेर संघको यात्रा तय गर्दै माओवादी संसदीय दलको प्रमुख सचेतक बन्नुभयाे भने पृथ्वीसुब्बा गण्डकी प्रदेशकै मुख्यमन्त्री हुनुभयाे ।

अहिलेको अबस्था फरक छ, एमाले एकातिर र अर्कोतिर माओवादीसहित कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन छ ।

देव योसँगै तेस्रो पटक संसदीय निर्वाचन लड्दै हुनुहुन्छ । पहिलो संविधान सभाको निर्वाचनमा कास्की र मनाङबाट चुनाव जितेका उहाँ २०७४ सालमा लमजुङबाट प्रतिनिधि सभाको चुनाव जित्नुभएकाे थियाे ।

पृथ्वीसुब्बा अहिलेसम्म सातौँ पटक चुनाव लड्न लाग्नुभएकाे हाे । उहाँसँग पटकपटक हारेको र दुई पटकमात्र जितेको अनुभव छ । ०४८ यताका हरेक संसदीय निर्वाचनमा पृथ्वीसुब्बा उम्मेदवार हुनुहुन्छ । पहिलो संविधानसभा र ७४ मा प्रदेशसभा मात्र उहाँले चुनाव जित्नुभएकाे थियाे ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एमालेले ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याएका छन् । स्थानीय तहको मतपरीणाम अनुसार जिल्लामा पाँच दलीय गठबन्धन अगाडी देखिन्छ ।

लमजुङमा ८ वटा पालिका छन् । जसमध्ये ३ गाउँपालिका र एउटा नगरपालिका एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?