मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमाः पूर्व अर्थमन्त्री पौडेल

हिमालय टाइम्स
Read Time = 7 mins

चन्द्रकान्त खनाल

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका गर्नुभएको छ । नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको उहाँले बताउनु भयो ।

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक यो अवस्थामा पुगेको उल्लेख गर्नु भयो । मुलुकको आर्थिक अवस्था गम्भिर अवस्थामा पुगेको बताउँदै उहाले सरकारबाटै नीजि क्षेत्रको घाँटी निमोठ्ने काम भएको टिप्पणी गर्नु भयो ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगि तथा व्यवसायी भेलामा बोल्दै पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण नीजि क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्थामा आइपुगेको गुनासो गरे ।

उक्त कार्यक्रममा सहभागी यसक्षेत्रका उद्योगी, व्यवसायीहरुले विद्यमान आर्थिक संकटको समाधानका लागि उपयुक्त उपायको अबलम्बन गर्न आग्रह गरेका छन् । उनीहरुले मुलुकमा चरम मूल्यवृद्धि भएको र आर्थिक क्षेत्र जर्जर बन्दै गएको भन्दै पूर्वअर्थमन्त्रीका रुपमा विशेष कार्यक्रम तयार पार्न सुझाव दिएका थिए ।

उद्योगी व्यवसायीका सुझाव तथा टिप्पणीहरुबारे प्रष्ट पार्दै पूर्वअर्थमन्त्री पौडेलले आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशमा पुगेको र संकटग्रस्त अवस्थामा रहेको आर्थिक क्षेत्रको सुधारका समेत कार्यक्रम समावेश गरेर प्रतिवद्धता पत्र जारी गरिने वताउनु भयो ।

अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले नीजि क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको भन्दै उद्योगी व्यवसायीहरुले यस्ता विषयमा राज्यले विशेष कदम चाल्नुपर्नेमा उल्टो सेटिङमा केन्द्रित रहेको भन्दै गुनासो गरेका थिए ।

गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहित व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको उहाले टिप्पणी गर्नु भयो । सरकारले बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै उहाले उनीहरुको माग पूरा गराउनका लागि आफ्नो साथ रहेको उल्लेख गर्नु भयोे । कोरोना महामारीले धरासायी भएका नीजि क्षेत्र तथा उद्योगी व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धिको कडा आलोचना गर्नु भयो।

उक्त कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले स्वाधीन र सबल अर्थतन्त्र निर्माणलाई ध्यान दिदै समृद्धिका आधार तयार पारिएको उल्लेख गर्नु भयो। उहाले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि केन्द्रित रहेर एमालेले कार्यक्रम बनाइ कार्यान्वयन भइरहेको वताउनु भयो । केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुवात गर्नुनै आर्थिक संकटको पहिलो कारण भएको गिरीको भनाई छ।

नेता गिरीले नीजि क्षेत्रको मागप्रति ऐक्यवद्धता जनाउँदै आर्थिक समृद्धिका लागि एमालेको नै सरकार बन्न आश्यक रहेको औल्याउनुभयाे । सुरु गरेका पूर्वाधार तथा विकास निर्माणका योजनाहरु पूरा गर्नका लागि फेरी पनि एमाले सरकार आवश्यक रहेको बताउँदै उहाले मतदानका लागि सबैलाई आह्वान गर्नु भयो ।

यसैगरी रुपन्देही-२ (२) का एमाले उम्मेदवार तथा एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले उद्योगी व्यवसायीहरुको माग सम्बोधनका लागि एमाले सकारात्मक भएको वताउनु भयो । उहाँले वर्तमान सरकारबाट नीजि क्षेत्र तथा उद्योगी व्यवसायीले ठूलो अपेक्षा गर्नु बेकार भएको बताउँदै सरकार गठनका लागि आगामी मंसिर ४ मा एमालेको बहुमत आवश्यक रहेको उल्लेख गर्नुभयाे ।

उद्योगी व्यवसायीहरुको तर्फबाट बोल्दै नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष माधव नेपालले आगमी मंसिर ४ को निर्वाचनमा आफूहरुको एमालेलाई साथ रहेको वताउनु भयो । सरकारले बैंक ब्याजदरमा उच्च वृद्धि गरी आतंक मच्चाएको गुनासो गर्दै उहाँले गठबन्धनको नेतृत्वमा बन्ने सरकारले उद्योगी व्यवसायीलाई फाइदा गर्दैन भन्ने प्रमाणित भैसकेको उल्लेख गर्नु भयोे ।

उद्योग व्यवसायी महासंघका केन्द्रीय सचिव बालाराम भट्टराईले अर्थतन्त्र कमजोर र जर्जर बनिरहेकाले यसको सुरक्षा र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेर योजना बनाउन पार्टी नेतृत्वसंग आग्रह गर्नु भयोे । उहाले उद्योगी व्यवसायीले भोग्नुपरेका गम्भीर समस्या र त्यसको समाधानका लागि उपयुक्त उपाय अबलम्बन गर्न आग्रह गर्नु भयो । कार्यक्रमको सहजीकरण महासंघका नगर अध्यक्ष माधवकुमार खनालले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?