संविधानको रक्षा गर्न जुनसुकै परिस्थिति सामना गर्न तयार छौं :  भुसाल

हिमालय टाइम्स
Read Time = 4 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । त्रिभुज चुनाव चिन्ह लिएर रुपन्देही जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता घनश्याम भुसालले आफ्नो उम्मेदवारी संविधानको पक्षमा लड्नका लागि रहेको बताउनु भयो।

दिपावली तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेस रोहिणी गाउँपालिकाद्वारा आयोजना गरिएको शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै उहाँले आफुले संविधानको रक्षा गर्नका लागि जुनसुकै परिस्थितिको पनि सामना गर्ने बताउनु भयो ।

मधेस क्षेत्रमा आवश्यक रहेको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफुले पहिलो प्राथमिकता दिएर काम गर्ने बताउँदै उहाँले समानुपातिक विकासको लागि गठबन्धनले उठाएका उम्मेदवारलाई मत दिन अनुरोध गर्नु भयो ।

क्षेत्र नं. १ को अधुरो र जिर्ण भौतिक पुर्वाधारहरुको निर्माण गरि पुर्वाधारको विकास नभएका क्षेत्रमा आवश्यकता अनुसार पुर्वाधार निर्माण कुरामा जोड दिंदै उनले राज्यको स्रोत र शक्ति रुपन्देही क्षेत्र नं१ मा खिचेर यहाँको विकास गरिने दावी गर्नु भयोे ।
विपक्षीले झुटो बोले : रज्जाक
कार्यक्रममा रुपन्देही क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार अब्दुल रज्जाकले यस क्षेत्रमा आफुले बजेट पारेर धेरै आयोजनाहरू सफल पारेको तर विपक्षी दलका उम्मेदवारले झुट प्रचार गरिरहेको उल्लेख गर्नु भयो ।

रज्जाकले विपक्षी नेकपा एमालेका संसादले रोहिणी गाउँपालिका क्षेत्रमा आफूले गरेका विकास निर्माणका कामलाई एमालेले गरेको भनी जनतालाई झुठो बोलेको वताउनु भयो ।

लोकतन्त्रको रक्षाका तथा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सबै विकास निर्माणका काममा जनताको साथमा रहेर आफूले काम गर्ने बताउँदै उहाँले गठबन्धनलाई मतदान गर्न अनुरोध गर्नु भयो । झुटो आस्वासन दिएर मत माग्न आउनेबाट सतर्क रहन समेत उहाँले आग्रह गर्नु भयो ।

जनताको मतको सम्मान गर्छु : यादव

रुपन्देही क्षेत्र नं १ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार विश्वनाथ यादवले जनताले दिएको मतको सम्मान गर्दै आफुले यस क्षेत्रको विकासमा आगामी ५ बर्षसम्म काम गर्ने उल्लेख गर्नु भयो । उहाँले आफुलाई मतदान गर्न अपिल गर्नु भयो । उहाँले नेतृत्वकर्ता र नेतृत्वसम्म पुर्याउने आम मतदाताबीच राम्रो सम्बन्ध स्थापित हुन सके मात्रै यस क्षेत्रको बिकास सम्भव रहेको बताउनु भयो ।

आफू हिजोका दिनमा पनि जनताकै सेवामा तल्लिन रहेको दावी गर्दै उहाँले भबिष्यमा पनि जनताप्रति वफादार रहि सेवा गरिरहने बताउनु भयो । यस क्षेत्रको विकासमा पहिले पनि नेपाली कांग्रेसले काम गरेको बताउँदै उनले अबका दिनमा पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?