राष्ट्रिय खेलकुदको सुनिश्चितताका लागि मिति घोषणा : खेलकुदमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित कार्यतालिकामा गर्न सहज बनाउने गरी अहिले नै मिति घोषणा गरिएको बताउनुभएको छ । पोखरामा पत्रकारहरूसँगको भेटघाटमा उहाँले कर्णालीमा हुने दसाँै राष्ट्रिय खेलकुद विगतमा जस्तो लामो समयसम्म नहुने अवस्था अब नआउने उल्लेख गर्नुभयो । हरेक दुई वर्षमा हुने प्रतियोगिता नियमित सञ्चालन हुने उहाँको भनाइ थियो ।

मन्त्री गहतराजले भन्नुभयो, ‘हामीले दसौँ राष्ट्रिय खेलकुदको मिति अहिले नै तय गरेका छौँ । कर्णालीमा दुई वर्षभित्रमा मात्र भनेका छैनौँ, विसं २०८१ मंसिर २ देखि ९ गतेसम्म मिति अहिले नै घोषणा गर्दा यसको तयारीमा समेत सहयोग पुग्नेछ, प्रतियोगिताको सुनिश्चितता हुन्छ ।’

खेलकुदमन्त्री गहतराजले पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद मौसमको प्रतिकूलता, चाडपर्वहरूका बीच र सार्वजनिक खरिदका केही प्रावधानका कारण चुनौती रहे पनि चुनौतीका बीचमा पनि सफल भएको जिकिर गर्नुभयो ।

नवौं राष्ट्रिय खेलकुद आयोजनाले अन्तर्राष्ट्रिय मान्यतासमेत पाइसकेकाले राष्ट्रिय टोली निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताका लागि सहज बनेको उहाँको भनाइ थियो । पोखरामा सात दिनसम्म चलेको भव्य प्रतियोगिता सफल पार्न सहयोग गर्ने सञ्चार जगत्लगायत सबै गण्डकी प्रदेशवासीलाई समेत उहाँले आभार व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले नवौंमा पहिलोपटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षणलगायतका नवीनतम कार्य सुरु भएको बताउनुभयो । उहाँले खेलाडीहरूको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत जानकारी गराउनुभयो । प्रतियोगितामा ३६ खेलका ३९६ इभेन्ट्स सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६४७, प्रशिक्षक ७०१, व्यवस्थापक ५११ र सञ्चालक समिति १०९ जना गरी १० हजारभन्दा बढीको सहभागिता भएको उहाँले बताउनुभयो । प्रतियोगिता सफल भएकामा उहाँले सबैप्रति आभार व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?