चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पुनः सी जिनपिङ

२०५ सदस्यीय केन्द्रीय कमिटी चयन, ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय

Read Time = 2 mins

बेजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को २०औँ महाधिवेशन सी जिनपिङलाई पुनः महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सिपिसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन हुनुभएको हो ।

यही १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सिपिसीले सन् २०१७ मा सम्पन्न १९औँ राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राख्नुभएको छ । महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्युरो स्थायी समितिमा रहनुभएका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन रहनुभएको छ ।
अवकाश लिनुभएका ली खछ्याङ प्रधानमन्त्रीसमेत हुनुहुन्छ भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुनुहुन्छ । त्यस्तै, ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुनुहुन्छ भने हान झेन उपप्रधानमन्त्री हुनुहुन्छ ।

यस्तै, अब नवनिर्वाचित केन्द्रीय कमिटी बैठकबाट पोलिटब्युरो र पोलिटब्युरो स्थायी समिति चयन हुने जनाइएको छ । बेइजिङमा हरेक पाँच वर्षमा हुने पार्टी महाधिवेशनमा दुई हजार भन्दा बढी प्रतिनिधिहरूले २०५ सदस्यीय केन्द्रीय समितिका साथै १७१ वैकल्पिक सदस्यहरू चयन गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?