‘मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा’

Read Time = 6 mins

चन्द्रकान्त खनाल/हिटा
रूपन्देही । पूर्व-अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको बताउनुभएको छ । नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको उहाँको भनाइ छ ।

एमालेका उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक आर्थिक संकटको अवस्थामा पुगेको आरोप लगाउनुभयो । यस्तो अवस्थामा पनि सरकारबाटै निजी क्षेत्रको घाँटी निमोठ्ने काम भएको उहाँले बताउनुभयो ।

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा शनिबार बुटवलमा आयोजित उद्योगी तथा व्यवसायी भेलामा बोल्दै पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्था आइपुगेको बताउनुभयो ।

कार्यक्रमा सहभागी उद्योगी, व्यवसायीले विद्यमान आर्थिक संकटको समाधानका लागि उपयुक्त उपायको अवलम्बन गर्न आग्रह गरेका छन् । उनीहरूले मुलुकमा चरम मूल्यवृद्धि भएको र आर्थिक क्षेत्र जर्जर बन्दै गएको भन्दै पूर्व–अर्थमन्त्रीका रूपमा विशेष कार्यक्रम तयार पार्न सुझाव दिए ।

सो सम्बन्धमा पूर्व-अर्थमन्त्री पौडेलले आफू अर्थमन्त्री हुँदा ४.२ प्रतिशतमा रहेको मूल्य वृद्धिदर अहिले आठ प्रतिशतभन्दा माथि पुगेको र संकटग्रस्त अवस्थामा रहेको आर्थिक क्षेत्रको सुधारका समेत कार्यक्रम समावेश गरेर प्रतिबद्धतापत्र जारी गरिने बताउनुभयो । अस्वाभाविकरूपमा करका दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धिलगायतका कारण निजी क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको भन्दै उद्योगी व्यवसायीले यस्ता विषयमा राज्यले विशेष कदम चाल्नुपर्नेमा उल्टो सेटिङमा केन्द्रित रहेको भन्दै गुनासो गरेका थिए ।

गठबन्धनका नाममा सत्तास्वार्थ र केही निहित व्यक्तिको स्वार्थपूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको पौडेलको भनाइ थियो । सरकारले बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीको मागप्रति ऐक्यबद्धता जनाउँदै उहाँले माग पूरा गराउन आफूले पनि साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा एमालेका पोलिटब्युरो सदस्य तथा रूपन्देही २ (१) का उम्मेदवार लिला गिरीले स्वाधीन र सबल अर्थतन्त्र निर्माणमा ध्यान दिँदै समृद्धिका आधार तयार पारिएको उल्लेख गर्नुभयो ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि केन्द्रित रहेर एमालेले कार्यक्रम बनाई कार्यान्वयन भइरहेको उहाँको भनाइ थियो । केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुवात गर्नु नै आर्थिक संकटको पहिलो कारण भएको गिरीले दाबी गर्नुभयो । उहाँले निजी क्षेत्रको मागप्रति ऐक्यबद्धता जनाउँदै आर्थिक समृद्धिका लागि एमालेको नै सरकार बन्न आवश्यक रहेको बताउनुभयो । रूपन्देही २ (२) का एमाले उम्मेदवार तथा एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले वर्तमान सरकारबाट निजी क्षेत्र तथा उद्योगी व्यवसायीले ठूलो अपेक्षा गर्नु अर्थहीन भन्दैै सरकार गठनका लागि आगामी मंसिर ४ मा एमालेको बहुमत आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष माधव नेपालले आगामी मंसिर ४ को निर्वाचनमा आफूहरूको एमालेलाई साथ रहेको बताउनुभयो । सरकारले बैंक ब्याजदरमा उच्च वृद्धि गरी आतंक मच्चाएको गुनासो गर्दै उहाँले गठबन्धनको नेतृत्वमा बन्ने सरकारले उद्योगी व्यवसायीलाई फाइदा गर्दैन भन्ने प्रमाणित भइसकेको दाबी गर्नुभयो ।

महासंघका केन्द्रीय सचिव बालाराम भट्टराईले अर्थतन्त्र कमजोर र जर्जर बनिरहेकाले अर्थतन्त्रको सुरक्षा र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेर योजना बनाउन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयोे । उहाँले उद्योगी व्यवसायीले भोग्नुपरेका गम्भीर समस्या र समाधानका लागि उपयुक्त उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराउनुभयो । कार्यक्रमको सहजीकरण महासंघका नगर अध्यक्ष माधवकुमार खनालले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?