सानो उमेरमा ठूलो पद, गल्र्स टेकओभर : नेतृत्वमा सिन्धुलीका किशोरी

हिमालय टाइम्स
Read Time = 10 mins

राधिका बुढाथोकी/हिटा
सिन्धुली । चार वर्षअघि जिल्लास्तरीय बाल सञ्जाल सिन्धुलीको अध्यक्षमा कसैले पत्याएनन् । ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ का अवसरमा यस वर्ष राष्ट्रिय बाल अधिकार परिषद्को सदस्य-सचिव बन्नुभयो । उहाँ हुनुहुन्छ, मरिण गाउँपालिका-६ धमिलेकी १९ वर्षीया प्रमिला स्याङ्तान । ‘गल्र्स टेकओभर’ अभियानले उहाँलाई यो अवसर दिलाएको हो । सदस्य-सचिव इन्द्रादेवी ढकालले आफ्नो पद एक दिनका लागि उहाँलाई हस्तान्तरण गर्नुभएको थियो । एक दिनका लागि भए पनि सो पदको कुर्सीमा बस्न पाउँदा खुसी लागेको स्याङ्तानले बताउनुभयो ।
‘पदमा पुगेपछि सबैले चिन्ने, आदर, सम्मान गर्ने रहेछन्, रिलको पदमा पुग्दा पनि रियलमै भएजसरी ‘रेक्सपेक्ट’ पाएँ,’ उहाँले भन्नुभयो, ‘मलाई लागेको छ, एक दिन रियलमै सदस्य-सचिव भएरै छाड्छु ।’

उहाँले सबल र सक्षम नेतृत्वका लागि आफूमा आत्मविश्वास बढेको बताउनुभयो । बालिका तथा किशोरीलाई अवसरको खाँचो रहेको उहाँको बुझाइ छ । क्लब, समूह, सञ्जाल, संस्थालगायत सबै क्षेत्रमा किशोरीको नेतृत्व आवश्यक रहेको उहाँको धारणा छ । कुनै पनि अवसरबाट वञ्चित गराउन नहुने उहाँले बताउनुभयो ।

छोटो समय पदमा रहँदा आफूले बालबालिका तथा किशोरी अधिकारका लागि काम गरेको उहाँले बताउनुभयो । अनलाइन उत्पीडन, स्थानीय सरकारको भूमिकालगायत थुप्रै विषयमा सम्बन्धित कर्मचारी र सरोकारवालाहरूसँग छलफल गरेको र ७५३ वटै स्थानीय तहमा स्थानीय बालअधिकार समितिको गठन कार्य अगाडि बढाउन पहल गरेको उहाँले सुनाउनुभयो ।

यो कार्यक्रमपछि आफ्नो फोटोसहितको समाचार मिडिया तथा सामाजिक सञ्जालमा छाउँदा आफूलाई गलतरूपमा बुझ्ने व्यक्तिहरूसमेत सकारात्मक भएको उहाँकोे बुझाइ छ । फेसबुकमा कहिल्यै नबोलेका साथीहरूसमेत समाचारको लिंक पठाउँदै बधाई भन्नुहुन्छ । कतिपय आफन्तहरूले फोन गरेर थप प्रगति गर्न शुभकामना दिएको उहाँले सुनाउनुभयो ।

‘पहिले बाहिर बालअधिकारको कुरा गर्दै हिँड्थे, घरभित्र आफैं हिंसामा पर्थेँ, गाली खानुपथ्र्यो । केटासँग हिँडी भनेर गाउँलेले कुरा पनि काट्थे, तर पनि बाल क्लब, किशोरी सञ्जालका कार्यक्रमहरूमा मलाई पुग्नै पथ्र्यो,’ उहाँले भन्नुभयो, ‘त्यतिबेला हार मानेको भए आज यो ठाउँमा आइपुग्ने थिइनँ ।’

कमलामाई नगरपालिका-७ की १६ वर्षीया सुस्मिता आलेमगर नेपाल पत्रकार महासंघ सिन्धुलीको अध्यक्ष बन्नुभयो । अध्यक्ष कृष्णहरि घिमिरेले उहाँलाई पद हस्तान्तरण गर्नुभएको हो । राज्यको चौथो अंगका रूपमा रहेको पत्रकार जगत्को महत्वपूर्ण जिम्मेवारीमा रहन पाउँदा गर्व अनुभूति भएको उहाँले बताउनुभयो । ‘यसले आफूमा आत्मबल बढेको छ,’ उहाँले भन्नुभयो । छोटो समय पदमा रहँदा पनि बालिका तथा किशोरीका मुद्दामा धेरै काम गरेको उहाँले सुनाउनुभयो । बालिकासँग सम्बन्धित समस्याहरू, बालविवाह, बाल श्रमशोषण, लागूऔषधको कुलतलगायतका विरुद्धमा अझ बढी लेख्न, सूचना तथा सन्देह प्रवाह गर्न समन्वय तथा पहल गरेको उहाँको भनाइ छ ।

उहाँले विगतका दिनमा किशोरीहरूको क्षेत्रमा कलम चलाउनुभएकोमा पत्रकारहरूलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि किशोरी र बालिकाका मुद्दाहरूलाई सशक्त ढंगले उजागर गर्न आग्रह गर्नुभएको छ ।

गोलञ्जोर गाउँपालिका-५ की १७ वर्षीया गरिमा थापा थिंक ट्यांक संस्था इन्स्टिच्युट फर इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिजको कार्यकारी निर्देशक बन्नुभएको थियो । डा. विश्वास गौचनले उहाँलाई पदभार ग्रहण गराउनुभयो । १७ वर्षको उमेरमा ५० वर्ष पुरानो संस्थाको कार्यकारी निर्देशकको कुर्सीमा बस्न पाउँदा आफूलाई निकै भाग्यमानी महसुस भएको किशोरी थापाले बताउनुभयो । उहाँले संस्थामा लैंगिक समानता, बाल तथा किशोरी अधिकारका बारेमा छलफलसमेत गरेको बताउनुभयो । बालिका तथा किशोरीको क्षमतालाई बुझेर सोहीअनुसारको जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ छ । सोही ठाउँकी १७ वर्षीया मेनुका श्रेष्ठ जनजाति विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीको अध्यक्ष बन्नुभएको थियो । उहाँलाई अध्यक्ष सावित्रा राईले एक दिनका लागि पद हस्तान्तरण गर्नुभएको हो ।

पहिलोपटक अध्यक्ष पदमा रहेर संस्थाको नेतृत्व गर्न पाउँदा गौरवान्वित भएको उहाँले सुनाउनुभयो । ‘सधैंभरि संस्थाको नेतृत्व गर्ने इच्छा बढेको छ । यसका लागि आफूमा क्षमता पनि बढेको महसुस गरेकी छु,’ उहाँले भन्नुभयो, ‘हामीले पनि पदमा बसेमा काम गर्न सक्ने रहेछौँ ।’
दुधौली नगरपालिका-६ भताइकी १४ वर्षीया जुना दाहालले दुधौली नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुखको भूमिका निर्वाह गर्नुभएको थियो । मरिण गाउँपालिका-४ की सविना माझी इलाका प्रहरी कार्यालय कपिलामा प्रहरी निरीक्षकको भूमिकामा रहनुभएको थियो । तीनपाटन गाउँपालिका–२ की बबिता घिमिरेले सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको अध्यक्षमा र अञ्जना काफ्लेले भवानी माध्यमिक विद्यालयको प्रधानाध्यापकको पदमा रहेर भूमिका निर्वाह गर्नुभएको हो ।

यस्तै, सुनकोसी गाउँपालिका–६ की १३ वर्षीया किशोरी अञ्जना कालिकोटे शितलपाटी स्वास्थ्य चौकीको इन्चार्ज बन्नुभएको थियो । स्वास्थ्य चौकी इन्चार्ज सुनिता श्रेष्ठले एक दिनका लागि उहाँलाई पद हस्तान्तरण गर्नुभएको हो । यस अवधिमा कालिकोटेले स्वास्थ्य चौकीको विकास तथा सुधारका लागि सरोकारवालाहरूसँग छलफल गर्नुका साथै स्वास्थ्य संस्थालाई किशोरीमैत्री बनाउन थप योजना बनाएको सुनाउनुभयो । ‘बालबालिका र किशोरकिशोरीमैत्री स्वास्थ्य चौकी तथा सेवा, सुविधाका बारेमा विद्यालयहरूमा गएर जानकारी गराउन पहलसमेत गरेको छु,’ उहाँले भन्नुभयो ।

हरेक वर्ष ११ अक्टोबरमा मनाइने ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ का अवसरमा प्लान इन्टरनेसनल नेपालसँग साझेदार गरी ‘गल्र्स टेकओभर’ अभियानअन्तर्गत जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) ले सञ्चालन गरेको पद हस्तान्तरण कार्यक्रममार्फत् बालिका तथा किशोरीहरूलाई यसप्रकारको अवसर प्रदान गरिएको जेएसडिपीका कार्यक्रम संयोजक विवेक बस्नेतले जानकारी दिनुभयो । ‘किशोरी सशक्तीकरणका लागि सर्वप्रथम उहाँहरूलाई नेतृत्वदायी भूमिकाको जिम्मेवारी पनि बोध गराउनुपर्ने भएकाले जिम्मेवार निकायहरूको प्रमुख पद एक दिनका लागि किशोरीहरूलाई हस्तान्तरण गर्ने कार्यक्रम आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो, ‘यसअन्तर्गत पदभार गरेका बालिका तथा किशोरीहरू आफैंले बनाएको नौबुँदे मागसहितको ज्ञापनपत्रसमेत सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई बुझाएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?