प्रदेश १ मा सत्ता गठबन्धनको भेला : असन्तुष्ट नेताहरूलाई शीर्ष नेताहरूको आश्वासन

‘अहिले टिकट नपाउनेलाई सरकार बनेपछि नियुक्तिका अवसर छन्’

हिमालय टाइम्स
Read Time = 12 mins

पुरन साह/हिटा
जनकपुरधाम । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनका उम्मेदवारलाई जिताउन नेता कार्यकर्तालाई अनुरोध गरेका छन् । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसभित्र र गठबन्धन दुवैमा कुनै समस्या नरहेको दाबी गर्दै गठबन्धनका लागि उम्मेदवारलाई जिताउन अनुरोध गरेका हुन् । शीर्ष नेताहरूले गठबन्धनभित्रका भोटहरू एकअर्कालाई नआउने हो कि भन्ने चिन्ता जाहेर मात्रै गरेनन्, यस्तो अवस्था आउन नदिन कार्यकर्तालाई निर्देशन पनि दिएका थिए । ‘संयुक्त भेला’ नाम दिएर विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न आएका गठबन्धनका सबैजसो नेताले ‘जुनसुकै चुनाव चिन्हलाई पनि आफ्नै ठानेर मतदान गर्न’ आग्रह गरे ।

गठबन्धनका कारण टिकट नपाएका नेताहरूलाई आश्वास्त पार्दै उनीहरू सरकार निर्माणपछि विभिन्न राजनीतिक नियुक्तमा त्यस्ता व्यक्तिलाई अवसर दिइनेसमेत बताएका थिए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र लोसपा सहभागी भए पनि गठबन्धनको प्रदेश १ को कार्यक्रममा लोसपा र जनमोर्चा नेताहरू उपस्थित थिएनन् । गठबन्धनका शीर्ष नेताका अतिरिक्त कार्यक्रममा कांग्रेसका नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालाले गठबन्धनको औचित्यबारे प्रष्ट्याउनुभएको थियो ।

लोकतन्त्र स्थायी बनाउन गठबन्धनले जित्नुपर्छ : देउवा
नेपाली कांग्रेस सभापति देउवाले कुनै द्विविधामा नरहेर गठबन्धन जिताउन निर्देशन दिनुभएको छ । प्रदेश १ स्तरीय गठबन्धनका कार्यकर्ता भेलामा बोल्दै गणतन्त्र रक्षाका लागि गठबन्धन भएको दाबी गर्नुभयो । देउवाले भन्नुभयो, ‘अब कुनै दोधार छैन । जहाँ रूख छ त्यहाँ रूखमा भोट हाल्ने, जहाँ हँसिया-हथौडा छ, त्यहाँ हँसिया-हथौडा र जहाँ कलम छ, त्यहाँ कलममा भोट हाल्ने । कुनै कन्फ्युजन हुने कामै छैन ।’

उहाँले गणतन्त्रको रक्षाका लागि गठबन्धन भएको बताउँदै जिताउनुपर्ने दाबी गर्नुभयो । उहाँले गणतन्त्र ल्याउन, संविधान बनाउनसमेत सहकार्य गरेको बताउँदै शंका नगर्न आग्रह गर्नुभयो । यसपल्ट त झन् बढी आवश्यक रहेको उहाँको भनाइ थियो । गठबन्धनका कारण अवसर नपाएर चित्त दुःखाउनेहरूलाई समेत उहाँले गठबन्धनको सरकार हुँदा ठाउँ हुने भन्दै थमथमाउने प्रयास गर्नुभयो ।

उहाँले थप्नुभयोे, ‘गठबन्धनकै सरकार भयो भने त धेरै ठाउँ हुन्छ नि । सबैका लागि ठाउँ बनाउनका लागि पनि जित्नुपर्छ । त्यसैले सबै ठाउँमा गठबन्धन विजय गराउनुहोस् भन्न चाहन्छु ।’ पहिले गठबन्धनको विरोध गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत गठबन्धन गरेको उहाँले उल्लेख गर्नुभयो । ‘ओलीजीले पनि गठबन्धन नै गर्नुप¥यो । आफ्नो क्षेत्रमा पनि भएको छ । मधेशमा गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र स्थायी गराउन, गणतन्त्र स्थायी गराउन सत्ता गठबन्धनले जित्न आवश्यक छ ।’

गठबन्धनको सरकार बनेमा टिकट नपाएकालाई पनि नियुक्तिको अवसर आउँछ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनले बहुमत ल्याएमा अहिले टिकट नपाएका नेताहरूले अवसरै अवसर पाउने बताउनुभएको छ । शनिबार विराटनगरमा आयोजित सत्तारूढ गठबन्धनको कार्यक्रममा उहाँले आफूहरूले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएकाहरूलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताउनुभएको हो । ‘म सबै साथीहरूलाई के अपिल गर्न चाहन्छु भने हेर्नुस् गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुन्छ’, उहाँले भन्नुभयो, ‘अहिले टिकट नपाउनुभएको या टिकट वितरणमा भन्याजस्तो नभएकाले मन खुम्चिएका साथीहरूलाई पनि भोलि हामी बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति, राजदूतहरू के के हुन्छन् के के । हारियो भने चाहिँ हामी सबैको हालत खराब ।’

चुनावपछि अवसर पाउँदा अहिले असन्तुष्टहरू पनि खुसी हुने प्रचण्डले बताउनुभयो । ‘त्यसकारण अवसरै अवसर प्राप्त गर्ने, अहिले भाँचिएका अलिअलि थिचिएका, अलिअलि अँध्यारो अनुहार भएका साथीहरू पनि सरकार बनेपछि नियुक्ति पाइसकेपछि उज्याला हुन्छन्’ प्रचण्डले भन्नुभयो । सत्तारूढ गठबन्धनका दलभित्र, एकअर्का दलबीच भएका समस्या थाँती राखेर चुनावमा होमिन प्रचण्डले आग्रह गर्नुभयोे । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच कुनै समस्या नरहेको प्रचण्डले बताउनुभयो । ‘हामी यो देखाउन चाहन्छौँ कि, गठबन्धनका हामी नेताहरू एक ढिक्का छौँ, हाम्रो विषयमा कुनै दरार अहिले छैन’ उहाँले भन्नुभयो ।

गुनासा बिर्सिएर गठबन्धनलाई जिताउन लाग्नुस् : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान खारेज गरेर शासन सत्ता हातमा लिनेविरुद्ध गठबन्धन बनेको बताउनुभएको छ । उहाँले अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई विजयी गर्नतिर लाग्न गठबन्धन दलका नेता र कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो । नेपालले चुनावसम्म आपसी गुनासो बिर्सिन आग्रह गर्नुभयो । ‘संविधान खारेज गरेर एकलौटी शासन हातमा लिनेविरुद्ध हामीले अप्ठयारो परिस्थितिमा लिएको निर्णयले अहिलेको गठबन्धन भएको बिर्सिनु हुँदैन,’ नेपालले भन्नुभयो ।

गठबन्धन दलमा आबद्ध प्रदेश १ का नेता र कार्यकर्ताहरूमा आफूले उत्साह नपाएको नेपालको गुनासो थियो । प्रदेश १ मा गठबन्धन दलका नेता तथा कार्यकर्ताहरूमा उत्साह कम हुनुको कारण ‘भोको पेट भएर कि मन कुँडिएर ?’ भन्ने उहाँको प्रश्न थियो । नेपालले हरेक गुनासा चुनावसम्म बिर्सिएर गठबन्धनलाई विजय गराउन नेता तथा कार्यकर्ताहरूलाई आ≈वान गर्नुभयो । मधेसी, दलित, मुस्लिम, अल्पसंख्यक, आदिवासी जनजाति, पिछडिएका वर्गलगायत आम नेपालीलाई सुखी बनाउने लक्ष्य पूरा गर्न गठबन्धनको पक्षमा मतदान गर्न नेपालले आ≈वान गर्नुभयो ।

शनिबार नै सत्ता गठबन्धनका शीर्ष नेताहरू जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय भेलामा सहभागी भएका थिए । त्यहाँ पनि नेताहरूले गठबन्धनले जित्नैपर्ने अन्यथा गठबन्धनकारी सम्पूर्ण घटक दलको असित्व नै समाप्त हुने जिकिर गरेका थिए । देश, संविधान र अहिलेसम्मका उपलब्धि बचाउन गठबन्धन जिताउनै पर्ने उनीहरूको दाबी थियो । प्रदेश १ बाट मधेश प्रदेशको राजधानी जनकपुरधाममा हेलिकप्टरमार्फत गठबन्धनका नेताहरू आएका थिए । कार्यक्रममा शीर्ष नेताका साथै कांग्रेसका नेता विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

सत्ता स्वार्थका लागि गठबन्धन दलहरू देश पनि बेच्न तयार छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरू देश पनि बेच्न तयार रहेको बताउनुभएको छ । शनिबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको भन्दै सत्ता स्वार्थका लागि देश पनि बेच्न तयार रहेको आरोप लगाउनुभएको हो । ओलीले गठबन्धनले चुनाव जित्नका लागि पैसाको खोलो नै बगाएको आरोप लगाउनुभयो । जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने लगायतका षड्यन्त्र भइरहेको भन्दै ओलीले देशलाई भिडन्ततर्फ लाने षड्यन्त्रलाई विफल बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले वर्तमान सरकारका कारण मुलुकमा महँगी, भ्रष्टाचार, अनियमितता बढेको आरोप लगाउनुभयो । अहिले लाखौँ रुपैयाँ लिएर भुटानी शरणार्थीलाई परिचयपत्र दिएर विदेश उडाउने धन्दा सरकारले चलाइरहेको उहाँले बताउनुभयो । ओलीले गठबन्धन सरकारकै कारण मुलुकको न्यायालय सेटिङको अखडामा परिणत भएको बताउनुभयो । प्रधानन्यायाधीशलाई न्यायालय प्रवेश गर्न नदिने न्यायाधीशहरूले हडताल गर्ने लगायतका तमासा देखिनु दुर्भाग्य भएको बताउनुभयो । ओलीले अब एमालेभित्र कुनै पनि प्रकारको गुटबन्दी हुन नदिने बताउनुभयो । पार्टीमा योगदान नै नभएकाहरूले पद नपाएकै कारण एमाले छाडेर विरोधमा उत्रिएको देखिएको उहाँको भनाइ छ । उहाँले अहिले देश बनाउने संकल्पका साथ एमाले अघि बढेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?