सुदूरपश्चिमका यी उम्मेदवार, जसले आफैँलाई दिन पाउँदैनन् मत

हिमालय टाइम्स
Read Time = 5 mins

विराज रोस्यारा/हिटा
धनगढी । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्रीसँग चुनाव लड्न गुल्मीबाट इञ्जिनियर सागर ढकाल डडेल्धुरामा डेरा जमाएर बस्नुभएको छ । तर, गुल्मीमा मतदाता नामावली हुनुभएका ढकालले डडेल्धुराबाट उम्मेदवारी दिएपछि आफैँलाई भोट गर्न नपाउने हुनुभएको छ ।

यस्तै, नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको मतदाता नामावली डोटीमा छ । गठबन्धनको भागबण्डामा डोटीमा प्रेमबहादुर आले उम्मेदवार भएपछि उहाँ कैलाली झर्नुभएको थियो । एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा उहाँको प्रतिस्पर्धा हुनेछ । घर-दैलोमा मत माग्दै हिँड्नुभएका बलायरले आफैँलाई भने मत हाल्न नपाउने हुनुभएको छ । यता, बैतडीबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाईले उम्मेदवारी दिनुभएको छ । भक्तपुरका उहाँले पनि आफैँलाई भोट दिन नपाउने हुनुभएको छ ।

संविधानसभा सदस्य कृष्णकुमार चौधरी (कुन्दन) कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाता हो । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ माओवादीको भागमा परेपछि उहाँ सोही क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । उहाँ पनि आफैँलाई मत दिन नपाउने अवस्थामा हुनुहुन्छ । क्षेत्र नम्बर ३ मै मतदाता नामावली रहनुभएका प्रदेशसभा सदस्य वीरमान चौधरी र प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई पाखा लगाएर क्षेत्र नम्बर ४ मा नामावली रहनुभएका कुन्दनलाई उम्मेदवार बनाइएको हो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यका उम्मेदवारहरूले पनि आफैँलाई मतदान गर्न नपाउने हुनुभएको छ । माओवादी केन्द्रबाट डडेल्धुराको प्रदेशसभा–१ मा उम्मेदवारी दिनुभएका खगराज भट्टले पनि आफैँलाई भोट दिन नपाउने हुनुभएको छ । माओवादीका प्रदेशका इञ्चार्जसमेत रहनुभएका भट्टको मतदाता नामावली प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर २ मा छ ।

इता, कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (२) मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका प्रकाश बमले पनि आफैँलाई मत दिन पाउनु हुनेछैन । उहाँको क्षेत्र सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीलाई परेपछि उहाँले प्रदेशसभाकै अर्को क्षेत्रबाट उम्मेदवारी दर्ता गर्नुभएको हो । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को १ बाट उम्मेदवारी दर्ता गराउनुभएका रमेश धामीले पनि आफैँलाई मतदान गर्न पाउनु हुने छैन । निर्वाचन क्षेत्र नम्बर ५ को २ मा मतदाता नामावली हुनुभएका धामी २ बाट प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । गठबन्धन र स्वतन्त्र उम्मेदवारीका कारण उम्मेदवारहरूले आफैँलाई भोट गर्न नपाउने अवस्था आएको हो ।

मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरूले आफैँलाई भोट हाल्न नपाउने व्यवस्था छ । मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरूले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?