पृथ्वीनारायण शाहको आत्मकथा ‘दिव्योपदेश’

Read Time = 14 mins

✍️ स्वयम्भुनाथ कार्की

सम्भवतः बत्तीस वर्षको उमेरमै पृथ्वीनारायण शाहले आफ्नो अन्तिम अवस्था आएको भान पाइसकेका थिए । त्यसैले नुवाकोट गएर आफ्ना गुरु पुरोहित, भाइभारदार तथा आफूप्रति अनुग्रह राख्नेहरूलाई भेला गराई आफूलाई मनमा लागेका कुराहरू सुनाए । यही कुराहरूको संग्रह उनबाट सुनेकहरूले टिपोट गरेर राखे । पृथ्वीनारायण शाहको यो आत्मकथा नै आजकल दिव्योपदेशको नामले चिनिन्छ । यसमा नेपालको एकीकरणको विचार उनमा कसरी आयो र कसरी उनले त्यो सम्भव गरे भन्ने कुरा उनकै मुखले आफ्नो जीवनकालमै भनेका छन् । मैतालु लिन मकवानपुर गएका जेठान दिगबन्धनसेनसँग खटपट भएकाले उनलाई हाँक दिएर गोरखा फर्कनु परेको झ्वाँक र चन्द्रागिरिबाट देखिएको रमणीय तीन शहरले उनलाई लोभ्यायो ।

सुरु नै ‘बुढा मरै भाषा सरै भनी भन्छन् । तिमीहरू सबै छेउ सुनाई गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन् र यो राजे थामी खानन्’ (दिव्योपदेश तृतीय संस्करण संं.ऐ.शि.बाबुराम आचार्य योगी नरहरिनाथ पृ.३०) । उनी आफ्ना सन्तानले आपूm शारीरिक रूपले कमजोर भएको प्रत्यक्ष नदेखून् भन्ने चाहन्थे तर उनले देखेको समृद्ध नेपालको सपना सन्तान दरसन्तानले पूरा गरिदिऊन् भन्ने चाहन्थे भन्ने कुरा उनको यो भनाइबाटै प्रष्ट झल्किन्छ । डोला लिन मकवानपुर पुगेका उनलाई उनका जेठान दिग्बन्धन सेनले मानसिक चोट पु¥याएका थिए र डोला नलिई फर्केर आउँदा चन्द्रागिरिबाट नेपाल खाल्टोको रमणीय दृश्य देखेर लोभिएका थिए ।

योजना, तयारी अनि परिचालन गरेर गरिएको चढाइमा समेत पृथ्वीनारायण शाहले अनेकौं हण्डर खानु पर्‍यो । नबाब कासिम अलिखानको आक्रमण झेल्नु पर्‍यो तर यस लडाइँमा पृथ्वीनारायण शाहलाई फाइदा नै भयो । पत्थरकला भनिने बन्दुकहरू उनका हात परे ।

पृथ्वीनारायण शाह स्वीकार गर्छन् नेपाल एकीकरणको सोच त्यसै बेलाबाट उनमा आएको थियो । यस कामका निमित्त उनले कत्तिको पनि ढिलो नगरी तयारीको काम पनि थालिहाले । रातसाँझ गरी धादिङ पुगेपछि लिगलिगकोटमा तैनाथ आफ्ना सेनानीहरू रणजित बस्नेत, मानंसिह रोकाया र वीरभद्र पाठकलाई रातसाँझ गरी मैधी बोलाए र भेटे । अर्थात् गोरखा पुगेर दरबारमा सल्लाह गर्ने भनेर समय खेर फालेनन् । उनको चिन्ता थियो आफू काठमाडौं चढाइमा जाँदा कतै अरू आफैँलाई अर्थात् गोरखा नै हान्न आयो भने के हुन्छ ? यस कुरामा ती तीन सेना नायकहरूले पृथ्वीनरारायण शाहलाई आश्वस्त पारे । कथंकदाचित कोही आइहाले पनि तिनलाई चेपेमै रोक्ने वचन दिए ।

गोरखा पुग्दा मामा पाल्पाली युवराज उद्योत सेन पनि तीर्थाटनलाई गोरखा पुगेका थिए । देवघाटको बाटो गरी गोसाइँकुण्डमा नीलकण्ठ महादेव, काठमाडौंमा श्री पशुपतिनाथ दर्शन सकेर श्री गोरखनाथको दर्शनलाई गोरखा आएको अवस्था थियो । दिगबन्ध सेनसँगको खटपट र काठमाडौं हान्ने मनसुवाको बारेमा मामाको राय लिए । मामाले पनि तपाइँहरू पा“च पाण्डव जस्ता हुनुहुन्छ, मलाई पञ्चरात्रिमा दृष्टान्त भएअनुसार तपाइँहरू सफल हुनुहुन्छ भने । तपाइँहरूले जोडेको नेपाल कुरुक्षेत्र झैँ अर्थात् अर्को कुरुक्षेत्र नभई फुट्दैन भने । त्यसपछि लमजुङे राजा रिपुमर्दन शाहसँग सन्धि गरे । यस सन्धिमा कालु पाण्डेले कौशल देखाए । यो कौशल, जनता र छिमेकी राजीखुशी राखेकाले बिराज बखेतीलाई पछि पार्दै कालु पाण्डे काजी नियुक्त भए । त्यसपछि उनी शक्तिपीठहरू, मन्दिरधामहरूको दशर्नको साथै सैन्यबल र मित्रबल संकलन गर्न लागे । योजना, तयारी अनि परिचालन गरेर गरिएको चढाइमा पनि अनेकौं हण्डर खानु पर्‍यो । नबाब कासिम अलिखानको आक्रमण झेल्नु पर्‍यो तर यस लडाइँमा पृथ्वीनारायण शाहलाई फाइदा नै भयो । पत्थरकला भनिने बन्दुकहरू उनका हात परे । त्यसको सम्बर्धन गर्न तीन मुसलमान विशेषज्ञ पनि राखे । त्यस बेलादेखि नै नेपाली सेनामा मुसलमान सामेल छन् ।

यत्रो लामो प्रयत्न र परिश्रमपछि काठमाडौं जिते पनि उनले त्यस स्थानलाई स्थायी बसोबासको योग्य ठानेनन् । ‘मेरो मनसुवा ता दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको, गुरु प्रोहित, भैयाद, भरादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र यी तीन शहरमा ता दरबारबाट स्वषसयललाई मात्रै जाला भन्या यस्तो अविलाषा थीयो’ । (दिव्योपदेश तृतीय सस्करण संं.ऐ.शि.बाबुराम आचार्य योगी नरहरिनाथ पृ.४८) ।

उनको यो कुरा सुन्नेले उनका छोरा प्रतापसिंह शाहलाई सुनाएनन् कि प्रतापसिंह शाहले पनि त्यसमा अमल गर्ने समय पाएनन्, किनभने राज्यारोहणको दुई वर्षमै प्रतापसिंहले यो संसार त्यागे । जे होस् पृथ्वीनारायण शाहको दहचोकमा राजधानी सार्ने अभिलाषा भने अधुरै रहृयो । बाबु छोराको मिलाएर नेपाल एकीकरणपछि केवल आठ वर्षको शासनमात्र रहृयो । प्रतापसिंहको यो मृत्युले नेपाललाई एक कहालीलाग्दो षड्यन्त्रको थलो भएको दरबार सुम्पियो । प्रतापसिंहका भाइ बहादुर शाहको सुझबुझ, साहस तथा कौशल नेपालको इतिहासमा अंकित छ ।

प्रतापसिंह केही वर्ष अरू बा“चेका भए यी दाजुभाइले नेपाललाई प्रगतिपथमा डोर्‍याउने थिए कि भन्ने आशा राख्नेहरू पनि नभएका होइनन् ।
बहादुर शाहले केही समय त शिशुराजा भएका आफ्ना भतिजा रणबहादुर शाहको नायबी गरे तर भाउजूको कान भर्ने भारदारहरूको कारणले यिनको दुर्दशा भयो । नेपालको सत्ता वरिपरि लागेका यस्ता ग्रहण शरहका भारदारहरू गोरखाको भारदरीमा थिएनन्, यो त पाटनका छ प्रधानहरूले स्थापना गरेको परम्परा थियो । सत्ताको निमित्त, शक्तिको निमित्त अन्धो भएर जे पनि गर्ने नेपाली अभिजात्य वर्गको दुर्नियत त्यस बेलामात्र होइन अहिलेको गणतान्त्रिक भनिएको नेपालमा पनि नेपालीहरूले भोग्दै आएका छन् । पृथ्वीनारायण शाहले त गोरखामा नै यस्ता अभिजात्यलाई कसरी ठेगानामा राख्नुपर्छ भन्ने सिकेका थिए र उनको दिव्य उपदेशमा पनि सन्तानलाई आफ्नै उदाहरण दिएर सम्झाएका थिए । कुलको परम्परा जान्नै नपाई बाबु गुमाएका रणबहादुर शाहलाई उनकी आमाले यस्तो घुमाइन् कि आफ्ना हजुरबुबाको उपदेश नै उनलाई तीतो लाग्न थाल्यो । नत्र भने त हजुरबुबाले पहिल्यै भनेका थिए दुनियाँ जसदेखि राजी रहन्छन् उसैलाई कज्याई दिनू ।

हुनसक्छ त्यसबेला आफ्नो सन्तानले पाऊन् भनेर लेखाएका यी अनुभव तथा मार्गदर्शनहरू पाउनेले आफैँसँग सीमित राखे । यदि यस्तो गरिएको भए त्यो असम्भव कुरा पनि होइन । केही समय पहिला राजा महेन्द्रका डायरीहरू अंग्रेजीमा अनुवाद गरेर राजा वीरेन्द्रसम्म पु¥याउने जिम्मा कसैलाई दिएको कुरा आएको थियो । ती पाउने व्यक्तिले राजा वीरेन्द्रको २९ वर्ष लामो शासनकालमा पनि हस्तान्तरण गर्न सकेनन्, गरेनन् वा गर्न चाहेनन् । पृथ्वीनारायण शाहका यी कुराहरू छोरानातिसम्म नपुग्नाले शाहवंशमा कहिले पाण्डे, कहिले थापाले जगजगी गर्न पाए । त्यसपछि त राणा युग नै सुरु भयो । राजा महेन्द्रका ती डायरीहरू लुक्नाले के के भयो त्यो मूल्यांकन गर्ने जिम्मा भविष्यलाई नै रहने छ ।

दिव्योपदेशमा पृथ्वीनारायण शाहले संकेत गरेको मुग्लानाको दोष नेपाल र नेपालीले कहिलेसम्म भोग्नुपर्ने हो त्यो भने अहिलेसम्म अन्यौलमै छ । युवाहरूको बाली लगाउने नेपाल, गोडमेल गर्ने नेपाल, बाली टिप्ने नेपाल तर दाइँ हाल्ने भने विदेश भएर ।

पृथ्वीनारायण शाहले नेपालको कुन किताब पढेका थिए त्यो त स्पष्ट छैन तर उनले त्यो किताबको उल्लेख गरेका छन् । ‘नेपालको किताब हेर्दा तुर्काना, मंग्रात, मुग्लाना हुन्या रहेछ र तुर्काना अघि भैगयेछ । मगरात्को राजा मै हुँ । मुग्लानाको दोस मेट्नालाई आधा थुम मेटि कंपनी जमायाको हो । आधा षुडा आधा पथरकला बनायाको हो ।’ (दिव्योपदेश तृतीय संस्करण संं.ऐ.शि. बाबुराम आचार्य योगी नरहरिनाथ पृ.५९) । तर उनको मुग्लाना हुनबाट बचाउन गरेको यो प्रयत्न भने बेकार गएको छ । आजको समयमा प्रत्यक्ष शासनभन्दा परोक्ष शासन नै हुन्छ ।
त्यस बेलाका मुग्लाना अहिलेका शक्ति राष्ट्रहरू हुन् । नेपाली जनताले प्रष्ट देखे भोगेको कुरा के हो भने हालका केही वर्षदेखि नेपालको शासन सञ्चालनमा प्रत्यक्ष देखिने गरेर मुग्लानाको हस्तक्षेप सुरु भएको छ । स्वयं सत्ता सञ्चालन गर्ने कार्यकारी प्रमुख नै नेपालको चावी बाहिरका हातमा भएको कुरा निर्धक्क भन्न भ्याएको पनि देखिएका छन् । अनि, नेपालका संवैधानिक प्रमुख छिमेकीहरूको निर्देशन लिन्छन् भनेर तिनै कार्यकारी प्रमुख र उनका दलकाहरू भन्छन् । दिव्योपदेशमा पृथ्वीनारायण शाहले संकेत गरेको मुग्लानाको दोष नेपाल र नेपालीले कहिलेसम्म भोग्नुपर्ने हो त्यो भने अहिलेसम्म अन्यौलमै छ । युवाहरूको बाली लगाउने नेपाल, गोडमेल गर्ने नेपाल, बाली टिप्ने नेपाल तर दाइँ हाल्ने भने विदेश भएर आज लाखौं नेपाली युवा विदेशमा चाकरी गर्न बाध्य पारिएका छन् । मुलुकको भलो गर्ने जिम्मेवारी भएको पदमा आसिनहरू अझ आफ्ना युवा जनतालाई कोलमा उखु पेलेजस्तो पेल्न विदेश पठाउने दलाल भएका छन् । यो सबै नेपाललाई लागेको मुग्लानाको दोष हो भनेर बस्ने हो बा अर्को पृथ्वीनारायण शाहको आहृवान गर्ने हो ता कि फेरि मुग्लानाको दोष मेट्न कम्पनी जमाए जस्तै अरू केही प्रयत्न पनि होस् ।

जे होस् आफ्नो यो दिव्योपदेशमा पृथ्वीनारायण शाह साहसी, बहादुर तथा दूरदर्शीमात्र देखिँदैनन् भविष्यवक्ता पनि भएका छन् । आज साँच्चै एक पृथ्वीनारायण शाहको खाँचो पूर्तिका निमित्त नेपाल आमा उनका सन्तानहरूतर्फ आशा गरेर हेर्दैछिन् । अब पृथ्वीनारायण शाह कताबाट अवतरित हुन्छन् त्यो भने हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?