तीन महिनाको अवधीमा ९९ लाख बराबरको अवैध सामानहरू बरामद

हिमालय टाइम्स
Read Time = 3 mins

-अनिल पोखरेल

राजविराज । सप्तरी प्रहरीले तीन महिनाको अवधीमा ९९ लाख बराबरको अवैध सामानहरू बरामद गरेको छ ।

प्रहरीले चालु आ।ब।को तीन महिनाको अवधीमा ९९ लाख ३४ हजार ३ सय ८३ रुपैयाँ मूल्य बराबरको भन्सार छलीका विभिन्न समान बरामद गरेको हो ।

प्रहरी उपरीक्षक अविनारायण काफ्लेका अनुसार गत आ.ब.२०७८/०७९ मा २ करोड ६२ लाख ७५ हजार ८ सय ८९ रुपैयाँ बराबरको अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाइएकोमा चालु आ.ब. ०७९/०८० को श्रावण, भदौ, असोज गरी ३ महिना मै ९९ लाख ३४ हजार ३८३ रुपैयाँ बराबरको भन्सार छलीका अवैध सरसमान बरामद गरिएको छ ।

खुल्ला सीमा नाकाको प्रयोग गर्दै तस्करहरूले भारतीय बजारबाट नेपाली वजारमा चोरी पैठारी गर्दै मालसमानहरू भित्र्याइरहेको सूचनापछी चेक जाँचमा कडाइ र निगरानी बढाइएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ छ ।

भन्सार छलेर ल्याइएको सरसमानमा सबभन्दा बढी किराना, पान मसाला, लत्ताकपडा र इलेक्ट्रोनिक सर मासनहरु रहने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै तीन महिना कै अवधीमा अवैध सरसमान ओसार पसारमा प्रयोग गरिएका तथा भन्सार नकाटी सञ्चालन गरिएका ठूलो सङ्ख्यामा सवारी साधन समेत जफत गरी भन्सार चलान गरिएको छ ।

तीन महिनाको अवधीमा यसरी जफत गरिएका सवारी साधनहरूमा सव भन्दा बढी ७६ वटा मोटरसाईकल छन । यस्तै टेम्पो अटो ३, पिकअप भ्यान र सिटी रिक्सा २÷२ र १÷१ वटा कार तथा ट्रक समेत नियन्त्रणमा लिई भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले बुधबार मात्रै भन्सार छली ल्याइएका १ लाख भन्दा बढीको सरसमान पक्राउ गरी भन्सार कार्यालय बुझाएको थियो । प्रहरीले विहीवार पनि ८९ हजार ८५० रुपैयाँ भन्दा बढीको अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं सूचना अधिकारी नरेशकुमार सिंहका अनुसार भन्सार छलेर भारतबाट ल्याइएका ८९ हजार ८५० रुपैयाँ भन्दा बढीको किराना, लत्ताकपडा तथा भाडा वर्तन लगायतका अवैध सरसमान राजविराज नगरपालिका ८ स्थित सडक खण्डमा चेकजाँचको क्रममा बरामद गरिएको हो ।

प्रहरीले यसअघि बुधवार पनि छिन्नमस्ता गाउँपालिका क्षेत्रबाट ५८ हजार २३६ तथा मंगलबार १ लाख भन्दा बढीको भन्सार छलेर ल्याइएका अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?