आज लक्ष्मीपूजा, देवकोटा जयन्ती र कुकुर तिहार

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपालीहरूको मौलिक पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा । आजको दिन घर-घरमा धनधान्यकी देवी माता लक्ष्मी भगवान्को पूजा अर्चना गर्ने गरिन्छ । यस्तै, साँझमा विभिन्न रंगहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकारप्रकारका रंगोली बनाउने चलन पनि रही आएको छ ।

आजको दिनमा राति लक्ष्मी भगवान् पृथ्वीलोकमा आउने र आशीष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडिको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाइला रूपी रंगीन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यिनै पाइलाका छापअनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास रही आएको छ । घरआँगन सबैतिर आज साँझ दीप बाल्ने चलन छ ।

यस्तै, आज कुकुर तिहार पनि परेको छ । यसैदिन नरक चतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । कात्तिक ८ गते मंगलबार गाईपूजा परेको छ । यसदिन सूर्यग्रहण पनि परेको छ । कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा म्हपूजाका साथै नेपाल सम्वत्को नयाँ वर्ष आरम्भ पनि यसैदिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।

कात्तिक १० गते बिहीबार साइत खोज्नेले बिहान ११ ः ३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । यसदिन दिनभर टीका लगाउनु शुभ रहेको उल्लेख गरिएको छ ।

सुखरात्रि
आजको दिनलाई सुखरात्रि पनि भनिन्छ, लक्ष्मीपूजालाई सुखरात्रिले पनि सम्बोधन गर्ने चलन छ । आँगनमा लक्ष्मीमाताको पाइलाहरू, बत्तीको झकिझकाउ अनि भैलेहरूको पदचापहरू, सुखरात्रि वर्षभरिकै सबैभन्दा उज्यालो अनि हर्कको दिनमध्ये एक हो ।

लक्ष्मी जयन्ती
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा काठमाडौंको डिल्ली बजारमा जन्म भएको थियो । स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उहाँको सम्झना गरिँदै छ ।

नेपाली साहित्य अनि वाङ्मयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । उहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जिनी, शकुन्तला लगायतका कृति छन् । वि. सं २०१६ सालमा उहाँ यो संसारबाट बिदा हुनुभएको थियो । सानै उमेरदेखि कविता लेख्न थाल्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा उहाँ स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक पनि हुनुहुन्छ । देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल सांकृृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो । नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।

२०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु-गराउनु र वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?