प्रमुख राजनीतिक दलका महामन्त्री र महासचिवको अग्निपरीक्षा

अनिल क्षेत्री
Read Time = 15 mins

-अनिल क्षेत्री

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । चुनावको मिति नजिकिँदै जाँदा चुनावको माहोल मुलुकलाई छाएको छ । राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू मतदाताको घरघर पुगिरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका उम्मेदवारले आम मतदातालाई अनेक आश्वासन बाँडिरहेका छन् । पार्टीको संगठनात्मक स्थिति, गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम र चुनाव प्रचारप्रसारको क्रममा देखिएको माहोलले आगामी निर्वाचनपछि पनि प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र नै प्रमुख शक्ति भएर संसद्मा स्थापित हुने विश्लेषण गर्न थालिएको छ ।

जुनसुकै तहका उम्मेदवार भए पनि निर्वाचनमा प्रतिस्पर्धा रोचक नै गर्छ । तर, प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र एमालेका अध्यक्षपछिको कार्यकारी हैसियतमा शक्तिशाली मानिने महासचिव/महामन्त्रीहरूको चुनावी प्रतिस्पर्धा पनि यसपटक प्रतिनिधिसभामा झनै रोचक देखिने भएको छ । तीनवटै दलका महामन्त्री÷महासचिवहरू प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएको छ । नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लागि मैदानमा हुनुहुन्छ । एमाले महासचिव शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा हुँदा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । आगामी चुनावमा यी तीन दलमध्ये कांग्रेस र माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी लगायतका साना दल र स्वतन्त्र उम्मेदवारसँग गठबन्धन गरेर चुनावी लडाइँमा उत्रिएको छ ।

गगन थापा र राजन भट्टराईबीच पुनः प्रतिस्पर्धा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दोस्रोपटक पनि पुरानै प्रतिस्पर्धी पाउनुभएको छ । चुनावी मैदानमा चिरपरिचित प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजन भट्टराई मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा हुनुहुन्छ । महामन्त्री थापा र एमाले विदेश विभाग प्रमुखसमेत रहनुभएका भट्टराईको काठमाडौं–४ मा यो दोस्रो भेट हो । यसअघि २०७४ सालको चुनावमा पनि यो क्षेत्रबाट थापा र भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । महामन्त्री थापा काठमाडौं–४ बाटै विजयी ह्याट्रिक गर्ने गरी चुनावी मैदानमा उत्रिनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला परराष्ट्र सल्लाहकार भएर काम गर्नुभएका भट्टराई ओलीका विश्वास पात्रमध्येमा पर्नुहुन्छ । भट्टराई यसपटक जसरी पनि काठमाडौं–४ बाट निर्वाचित भएर संसद् प्रवेश गर्ने दाउमा हुनुहुन्छ । महामन्त्री थापा र भट्टराईको भिडन्तका कारण काठमाडौं–४ को निर्वाचन चासोका साथ हेरिएको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत विश्लेषण गर्दा काठमाडौं– ४ मा एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एसको दुई हजार ४१४, राप्रपा दुई हजार २९३, नेकपा माओवादीको ८४४ र जसपाको ३१७ मत छ । अहिले काठमाडौं–४ मा क्रियाशील दलमध्ये कांग्रेस, माओवादी र नेकपा एसबीचमा एउटा गठबन्धन छ भने एमाले, राप्रपा र जसपाबीचमा अर्को गठबन्धन भएको छ । यस्तो अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनको मत १९ हजार २१ देखिन्छ । त्यस्तै, एमाले नेतृत्वमा रहेको गठबन्धनको मत १९ हजार ११७ मत छ । दुई गठबन्धनमध्ये एमाले नेतृत्वको गठबन्धनको ९६ मत बढी देखिन्छ ।

महामन्त्री शर्माको तेस्रो प्रयास

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा योपटक पनि झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा हुनुहुन्छ । महामन्त्री शर्मा यही क्षेत्रबाट अघिल्ला २ निर्वाचनमा पराजित हुनुभएको थियो । २०७४ को चुनावमा शर्मालाई वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका राम कार्कीले झिनो मतले पराजित गर्नुभएको थियो । योपटक कार्कीले उक्त क्षेत्र छाडिदिएपछि विश्वप्रकाश सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएको छ । महामन्त्री शर्मालाई टक्कर दिन नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनले नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सारेको छ ।

खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता हुनुभएको थियो । त्यसअघि पनि खरेल कानुनमन्त्री भइसक्नु भएको थियो । क्षेत्र नम्बर १ बाट एमाले क्षेत्रीय कमिटीले रवीन कोइरालालाई उम्मेदवार सिफारिस गरेको थियो । खरेलले पनि झापा २ बाट चुनाव लड्ने आकांक्षा राख्नुभएको थियो । तर, पार्टी अध्यक्ष ओलीले झापा–२ मा देवराज घिमिरेलाई टिकट दिएर खरेललाई झापा–१ बाट उम्मेदवार बनाउनुभएको हो । टिकट वितरणमा एमालेमा देखिएको असन्तुष्टिले महामन्त्री शर्मालाई फाइदा हुनसक्ने चर्चा छ । राष्ट्रिय राजनीतिमा चर्चा कमाइसक्नु भएका दुईजना उम्मेदवारको भिडन्तले चुनावी रौनक थप बढेको छ । स्थानीय तह निर्वाचनको वडागत मत परिणामलाई हेर्दा झापा–१ मा एमालेको ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राप्रपाको पाँच हजार ९२२, माओवादीको तीन हजार ९०५, नेकपा एसको एक हजार २५२ र लोसपाको १६२ मत छ । यो क्षेत्रमा कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी, नेकपा एस र लोसपाको मत जोड्दा २९ हजार ३७८ छ । एमाले नेतृत्वको गठबन्धनमा रहेका एमाले र राप्रपाको मत ३७ हजार १५४ मत देखिन्छ । यो क्षेत्रमा एमाले नेतृत्वको गठबन्धनको मत सत्ता गठबन्धनको भन्दा सात हजार ७७६ बढी छ ।

शंकर पोखरेललाई तुलनात्मक रूपले सहज

नेकपा एमालेका महासचिव शंकर पोखरेल आसन्न निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको छ । २०७४ मा प्रदेशसभामा जित हासिल गरेर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत हुनुभएको थियो । अघिल्लो निर्वाचनमा वाम गठबन्धन भएका कारण दाङ क्षेत्र नम्बर २ माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई छाडेर पोखरेल प्रदेशसभामा उम्मेदवार बन्नुभएको थियो । तर, यसपटक कांग्रेस–माओवादी बीचमा गठबन्धन भएका कारण योपटक महासचिव पोखरेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएको छ । यसपटक पोखरेलसँग प्रतिस्पर्धाको तयारी गरे पनि माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख महराले चुनाव नलड्ने घोषणा गरेपछि पोखरेललाई चुनावी मैदानमा राहत महसुस भएको चर्चा भइरहेको छ । सत्ता गठबन्धनले योपटक पोखरेलसँग टक्कर लिन माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्मालाई मैदानमा उतारेको छ । उपाध्यक्ष महरा चुनाव लड्ने निर्णयबाट पछि हटेपछि माओवादीले सत्ता गठबन्धनमा आफ्नो भागमा परेको यो क्षेत्रबाट पूर्व–मन्त्रीसमेत रहनुभएकी नेतृ रेखा शर्मालाई उम्मेदवार बनाएको हो । दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा वैशाखमा सम्पन्न स्थानीय तह चुनावको परिणाम हेर्दा नेकपा एमालेको ३३ हजार ५९३, कांग्रेसको २३ हजार ३०१, माओवादीको १० हजार ४७८, राप्रपाको तीन हजार २६४ र नेकपा एसको दुई हजार ९४२ मत छ । यो क्षेत्रमा कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका कांग्रेस, माओवादी र नेकपा एसको मत जोड्दा ३६ हजार ७२१ मत हुन्छ । अर्कोतिर एमाले नेतृत्वको गठबन्धनमा रहेका एमाले र राप्रपाको मत ३६ हजार ८५७ देखिन्छ । यो क्षेत्रमा पनि एमाले नेतृत्वको गठबन्धनको १३६ मत बढी छ ।

अप्रत्याशित र अनिच्छाको प्रतिस्पर्धा

लमजुङमा यसपटक अप्रत्याशित प्रतिस्पर्धा हुँदैछ । लमजुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रतिस्पर्धालाई अनिच्छाको प्रतिस्पर्धाको रूपमा पनि चर्चा भइरहेको छ । गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रदेशसभा सदस्य उम्मेदवार बन्नुभएको थियो । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका दुवै जनाले जित हासिल गर्नुभएको थियो । योपटक भने परिस्थिति बदलिएसँगै माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङबीच अप्रत्याशित प्रतिस्पर्धा हुन पुगेको छ । हुन त यसपटक यी दुवै उम्मेदवारले एकअर्कासँग प्रतिस्पर्धा गर्न चाहिरहेका थिएनन् ।

आ-आफ्नो पार्टीले निर्णय गरेपछि दुवै उम्मेदवार अनिच्छाको प्रतिस्पर्धा गर्न बाध्य भएका छन् । एमाले उपमहासचिव गुरुङले यसपटक पनि प्रदेशसभामै उठ्न चाहना राख्नुभएको थियो । तर, एमालेभित्र गण्डकी प्रदेशमा गुरुङ र कास्कीका खगराज अधिकारी बीचमा बढेको अन्तरविरोध हटाउन एमालेले गुरुङलाई प्रतिनिधिसभातर्फ र अधिकारीलाई चुनावपछि एमालेको प्रदेश सरकार बन्ने अवस्था निर्माण भए मुख्यमन्त्री बनाउने गरी प्रदेशसभामा उम्मेदवार बनाएपछि यो प्रतिस्पर्धा निश्चित भएको हो । पृथ्वी सुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री भइसक्नु भएको छ । माओवादी महासचिव गुरुङ पनि कानुनमन्त्री भइसक्नु भएको छ । लमजुङमा गत स्थानीय तह चुनावको वडागत मत हेर्दा एमालेको ४० हजार १९७, कांग्रेसको ३५ हजार २७६, माओवादीको ६ हजार १२७, राप्रपाको एक हजार १८४ र जसपाको १९० मत छ । लमजुङमा कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका कांग्रेस र माओवादीको मत जोड्दा ४१ हजार ४०३ छ । त्यस्तै, एमाले नेतृत्वको गठबन्धनमा रहेका एमाले, राप्रपा र जसपाको मत जोड्दा ४१ हजार ५७१ छ । यो निर्वाचन क्षेत्रमा पनि एमाले नेतृत्वको गठबन्धनको मत १६८ बढी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?