प्रदेशसभामा स्वकीय सचिवहरू उम्मेदवार : कसैले टिकट खोसे त कोही आफ्नै सांसदसँग भिड्दै

हिमालय टाइम्स
Read Time = 6 mins

-विराज रोस्यारा

धनगढी । डोटीको प्रदेशसभा (ख) मा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवसिंह ओली प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई माओवादीले उम्मेदवार बनाउने चर्चा थियो । तर, २२ गते राति नै मुख्यमन्त्री भट्टको ठाउँमा केन्द्रीय सदस्य ओलीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गर्यो ।

मुख्यमन्त्री भट्टको टिकट खोसेर उम्मेदवार बन्नुभएका ओली उहाँकै प्रमुख स्वकीय सचिव हो । भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएदेखि स्वकीय सचिव रहनुभएका ओली उम्मेदवार हुँदासम्म पनि स्वकीय सचिव नै हुनुहुन्थ्यो । स्वकीय सचिव हुँदै प्रदेशसभाको उम्मेदवार बन्ने ओली सुदूरपश्चिममा एक्ला भने होइनन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्न पाउनुभएन । उहाँले प्रत्यक्ष निर्वाचनका लागि पार्टीमा दाबी गरे पनि पार्टीले उम्मेदवार बनाएन । तर, उहाँकै स्वकीय सचिव दीर्घराज विनाडी कैलाली १ को प्रदेश सभा (ख) मा उम्मेदवार बन्नुभएको छ । बिनाडी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बन्नुभएको हो । बिनाडी पनि विनिता चौधरी मन्त्री बनेदेखि पाँच वर्षसम्म स्वकीय सचिव रहनुभएको थियो ।

प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यका स्वकीय सचिव रहेकाहरूले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचनका लागि प्रदेश तथा प्रतिनिधिसभामा उम्मेदवार हुनबाट वञ्चित हुनुभएका मुख्यमन्त्री तथा मन्त्रीहरूका स्वकीय सचिवहरू नै चुनानमा होमिएका छन् ।

कैलाली ५ को प्रदेशसभा (ख) मा प्रधानमन्त्री पत्नी आरजू राणा देउवाका स्वकीय सचिव प्रकाश देउवा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गरिरहनु भएको छ । धनगढीबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका प्रकाश विगत लामो समयदेखि आरजूको स्वकीय सचिवको रूपमा कार्यरत हुनुहुन्थ्यो । कैलाली ५ मा चुनाव लड्ने चर्चा भइरहेको बेला आरजू डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा बसेपछि धनगढीबाट प्रदेशसभा सदस्यमा प्रकाश प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।

२०७४ सालको निर्वाचनमा कैलाली–५ बाट कांग्रेस नेतृ आरजू पराजित हुनुभएको थियो । प्रकाश प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुनुहुन्छ । त्यस्तै, कैलाली ५ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेस बिपीबाट दीपकराज खैरले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ वर्तमान सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका प्रदेश सभा सदस्य हुँदा स्वकीय सचिव रहनुभएको थियो । दुई वर्षभन्दा बढी रैकाको स्वकीय सचिव रहनुभएका खैर सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

आफ्नै स्वकीय सचिवसँग चौधरीको प्रतिस्पर्धा

२०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट कैलाली निर्वाचन १ को प्रदेशसभा (क) बाट निर्वाचित हुनुभयो कृष्णबहादुर चौधरी । उहाँ प्रदेशसभा सदस्य बनेपछि कैलाश चौधरी स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो । करिब दुई वर्ष कृष्णका स्वकीय रहनुभएका कैलाश यस पटकको चुनावमा कृष्णसँग नै प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्षसमेत रहनुभएका कैलाशले उम्मेदवारी दर्ता गराएसँगै कृष्ण आफ्नै स्वकीय सचिवसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?