प्रिमियरमा ‘महापुरूष’लाई उत्कृष्ट प्रतिक्रियाः कलाकारहरू भन्छन्, परिवार लिएर फिल्म हेर्न जानुस्

Read Time = 7 mins

काठमाडौं । फिल्म ‘महापुरूष’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । आइतबार प्रिमियरमा पुगेका चर्चित सेलिब्रेटीहरूले खुलेर प्रशंसा गरेका छन् ।

फिल्म प्रदर्शनभन्दा पाँच दिन अगाडि नै प्रिमियर गरेर निर्माण युनिटले सेलिब्रेटी र मिडियाकर्मीलाई फिल्म देखाएको हो । फिल्मप्रति शतप्रतिशत विश्वास भएपछि मात्र मेकरले प्रदर्शनभन्दा झन्डै साता अगाडि नै प्रिमियर गरेको हो ।

भाइटीकाको भोलिपल्टबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महापुरूष’ हेरेपछि कलाकार किरण केसीले अहिलेसम्मकै उत्कृष्ट भन्दै तारिफ गरे । ‘फिल्मको प्रशंसा शब्दमा गर्न सक्दिन । हरिवंशको अभिनय जीवन्त छ । प्रदीपले सुहाउँदो रोल र कथामा फिल्म तयार गरेका छन् । सपरिवार हेरेर मनोरंजन लिन सक्नुहुनेछ,’ केसीले भने ।

फिल्म हेरेर निस्किएपछि निर्देशक निश्चल बस्नेतले कथा र पात्र चयनमा निकै ध्यान दिएको भनेर प्रशंसा गरे । ‘हरिवंश दाइको धेरैपछि यस्तो रुपमा अभिनय हेर्न पाइयो । फिल्ममा मदन दाइलगायत अन्य क्यारेक्टर पर्फेक्ट हुनुहुन्छ । राम्रो फिल्म हेर्न पाइयो , धन्यवाद टिमलाई,’ बस्नेतले भने ।

निश्चलसँगै रहेकी अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको कास्टिङ पर्फेक्ट रहेको बताइन् । ‘फिल्म हेर्दा कुनै एउटा पक्षभन्दा पनि समग्रमा फिल्म राम्रो बनेको छ । यसमा सच्याउने वा मिसकास्टिङ भएको केही छैन । पर्फेक्ट छ । हेर्दा कतै रोएँ, कतै हाँसे,’ उनले भनिन् । उनले नयाँ कलाकार अरुण क्षेत्री र अञ्जना बराइलीको प्रशंसा गर्दै फिल्म उद्योगमा स्वागत गरिन् ।

अभिनेत्री केकी अधिकारीले उठान गरिएको विषयवस्तुले युवालाई सोच्न बाध्य बनाउने बताइन् । ‘हामीले हाम्रो अभिभावकको सम्बन्धलाई सहजै स्वीकार्न सक्दैनौँ । तर हामीले त्यो सही गरिरहेका छौँ कि गलत भन्ने सोच्न बाध्य बनाउँछ । फिल्ममा गम्भीर विषयलाई मनोरन्जनात्मक शैलीमा भनिएको छ,’ अभिनेत्री अधिकारीले भनिन् ।

अभिनेत्री बेनिशा हमालले क्यारेक्टरसँगै फिल्म हेर्दा जोडिने र यात्रा गरिने बताइन् । ‘थाहा नै नपाइ तपाईँ क्यारेक्टरसँगै हाँस्ने र रुने गर्नुहुनेछ । फिल्म नहेर्दा पछुताउनु हुन्छ । यो परिवारसँग हेरेर परिवार महसुस गर्नुहुनेछ,’ अभिनेत्री हमालले भनिन् ।

कलाकार खगेन्द्र लामिछाने ‘महापुरूष’लाई बाको कथामा बनेको उत्कृष्ट फिल्म भन्न चाहन्छन् । ‘नेपालमा बाहरुको कथामा फिल्मनै बनेका थिएनन् । महापुरूषले बाको कथा उठाएको छ । फिल्म अत्यन्त बलियो छ,’ उनले भने, ‘फिल्ममा इमोसन, कमेडी, सन्देश सबै छ । यो फिल्म बच्चादेखि बुढासम्मलाई हेराउनु पर्छ । परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो फिल्मले देखाएको छ ।’

प्रिमियरमा पाहुनाहरुबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित देखिएका कलाकार हरिवंश आचार्य ‘महापुरूष’ थ्रि इडियट्स निर्देशक प्रदीप भट्टराई, निर्माताद्वय रविन्द्र सिंह बानियाँ र म्याक्स दिपेश खत्री’ ले बनाएको बताए । यस किसिमको गम्भीर कथामा फिल्म बनाउने मेकर इडियट नै रहेको कलाकार आचार्यको भनाइ थियो ।

मदनकृष्ण श्रेष्ठले प्रिमियरमा प्राप्त प्रतिक्रियाले मन खुसी भएको बताए । उनले फिल्म राम्रो बनेको बताउँदै भोलिका दिनमा पनि फिल्म खेल्ने वाचा गरे । अभिनेत्री गौरी मल्लले मह जोडीसँग काम गर्ने सपना साकार भएकोमा खुसी व्यक्त गरिन् ।

प्रिमियरमा सबैभन्दा बढी प्रशंसा कमाएका डेब्यू अभिनेता अरुण क्षेत्रीले पर्दामा देखिएको आफ्नो काम अग्रजहरुको आशीर्वाद र छत्रछायाँका कारण सम्भव भएको बताए । डेब्यु अभिनेत्री अञ्जना बराइलीले ‘महापुरूष’बाट आफूले धेरै सिक्न पाएकोमा खुसी प्रकट गरिन् । उनी भन्छिन्, ‘मैले देखेको सपनाभन्दा धेरै पाएकोमा आफैंलाई सम्हाल्न गाह्रो भएको छ ।’

एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् ।

षट्कोण आर्ट्स प्रालिको व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?